२०८३ कार्तिक ४ मंगलवार
२०८३ कार्तिक ४ मंगलवार

रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ४०३ पर्यटक सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परी ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरका अनुसार विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका पर्यटकहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन्। विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्।

पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुने विदेशी पर्यटकमा भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४, मलेसियाका १९, युक्रेनका ७, सिङ्गापुरका ६, दक्षिण अफ्रिकाका ६, न्युजिल्याण्डका ५ र जापानका ५ जना रहेका छन्।

यसैगरी जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्डलगायत २५ भन्दा बढी देशका नागरिकसमेत बाढीपछि सम्पर्कविहीन भएको पर्यटन बोर्डले जनाएको छ।

बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी तथा भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी नाका जोड्ने सडक तथा पुलहरूमा समेत क्षति पुगेपछि आवतजावत प्रभावित भएको छ।

पर्यटक तथा उनीहरूका परिवारलाई आवश्यक जानकारी र सहयोगका लागि नेपाल पर्यटन बोर्डले टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

काठमाडौँ । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट, धादिङ, रसुवा र गोरखाका विभिन्न भूभागलाई राजधानी काठमाडौँसँग जोड्ने सडक तथा पुलमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण प्रमुख सडकमार्ग तथा पुलहरू भत्किँदा त्रिशूली नदी वारिपारिको स्थल सम्पर्कसमेत प्रभावित भएको छ।

बाढीले सडक, पुल, विद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुर्‍याएपछि रसुवा र नुवाकोटसहित उत्तरी क्षेत्रको यातायात तथा सञ्चार सम्पर्क गम्भीर संकटमा परेको छ। विभिन्न स्थानमा राजमार्ग तथा वैकल्पिक सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रसँगको आवतजावत कठिन बनेको छ।

रसुवा जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म करिब १८ किलोमिटर सडक बाढीले पूर्ण रूपमा बगाएको छ। विद्युत्गृहका पहुँचमार्गमा रहेका दुई पुल तथा त्रिशूली–रसुवागढी सडकखण्डका दुई पक्की पुलसमेत बाढीले बगाएपछि सडक सम्पर्क विच्छेद भएको छ।

रसुवागढी नाकाअन्तर्गत नेपाल–चीन सीमावर्ती बजार तथा बस्तीमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत टिमुरे र घट्टेखोला क्षेत्र बढी प्रभावित भएका छन्। प्रहरीका अनुसार टिमुरे बजारका करिब १०७ घर तथा घट्टेखोलाका करिब ५० घरमा पूर्ण क्षति पुगेको छ।

बाढीले स्थानीय पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुख्खा बन्दरगाह तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको छ।

यस्तै, धादिङतर्फ सदरमुकाम जोड्ने केउरिनी–फोस्रेटारको वैकल्पिक पुल तथा मलेखु–फुर्केखोला पुलसमेत बाढीले बगाएपछि सडक सम्पर्क थप प्रभावित भएको छ।

१९ पुलमा क्षति, ४० किलोमिटर सडक प्रभावित

सडक विभागको प्रारम्भिक तथ्यांकअनुसार त्रिशूली नदीमा आएको बाढीबाट कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। विभागका अनुसार विभिन्न स्थानमा करिब ४० किलोमिटर सडकमा प्रत्यक्ष क्षति पुगेको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा भत्किएको छ।

उत्तरी सीमा जोड्ने सडक तथा पुलहरू क्षतिग्रस्त भएपछि चीनसँग नेपालको प्रमुख व्यापारिक नाका रसुवागढीसँगको स्थल सम्पर्कसमेत विच्छेद भएको छ। यसले दुई देशबीचको व्यापारिक गतिविधिसँगै रसुवा र आसपासका क्षेत्रमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पार्ने देखिएको छ।

क्षतिग्रस्त सडक, पुल तथा अन्य पूर्वाधार पुनर्निर्माण गर्न ठूलो स्रोत र समय आवश्यक पर्ने देखिएको छ।

४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर

बाढीले ऊर्जा क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको छ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको छ।

प्रारम्भिक विवरणअनुसार १२ वटा जलविद्युत् आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परेको छ। ६ वटा जलविद्युत् आयोजना र एउटा सौर्य आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ भने अन्य आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन।

क्षतिका कारण करिब ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको बताइएको छ।

प्रभावित आयोजनामा रसुवागढी, सान्जेन, अपर सान्जेन, चिलिमे, लाङटाङ, अपर त्रिशूली–३ ‘ए’, अपर मैलुङ, मैलुङ, त्रिशूली, देवीघाटलगायतका जलविद्युत् आयोजना तथा सौर्य प्रणाली रहेका छन्।

बाढीले राष्ट्रिय प्रसारण लाइन तथा हब स्टेसनमा समेत क्षति पुर्‍याएको छ। विद्युत् आपूर्ति अवरुद्ध भएपछि रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा दैनिक जनजीवन प्रभावित हुनुका साथै सञ्चार सेवा अवरुद्ध हुने जोखिमसमेत बढेको छ।

त्रिशूली नदीमा आएको बाढीले सडक, पुल, ऊर्जा र सञ्चार संरचनामा एकैपटक ठूलो क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा कनेक्टिभिटी पुनःस्थापनालाई तत्काल प्राथमिकतामा राख्नुपर्ने अवस्था देखिएको छ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा हुने ‘भीआईपी’ मुभमेन्टले सुरक्षा निकायलाई अतिरिक्त चुनौती थप्ने भन्दै आफ्नो र आफ्नो दलका सांसदहरूका लागि कुनैपनि विशेष सुरक्षा प्रबन्ध नगर्न आग्रह गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू कार्यक्षेत्र (फिल्ड) मा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गराउन भूमिका खेल्ने स्पष्ट पार्नुभयो । उहाँले कुनै कारणवश प्रभावित क्षेत्रमा पुग्नुपरेको खण्डमा पनि सुरक्षा वा अन्य कुनैपनि सुविधाको चिन्ता नलिन र प्रशासनलाई आफ्नो काममा बाधा नपुरÞ्याउन आग्रह गर्नुभएको छ । लामिछानेले प्रभावित क्षेत्रमा सञ्चार सेवाको सहजताका लागि सरकारले चालेको कदमको स्वागत गर्नुभयो । टेलिफोनमा ब्यालेन्स नहुँदा पनि कुराकानी गर्न मिल्ने र डाटा उपलब्ध गराउने विषयमा सरकार सचेत रहेको जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विपद्का बेला भीआईपी मुभमेन्टले सुरक्षाकर्मीका लागि चुनौती सिर्जना गर्दछ । म र मेरो दलका सांसदहरू फिल्डमा जाँदा सुरक्षाकर्मीले कुनै चिन्ता लिनुपर्ने छैन, हामीलाई कतै पनि ध्यान दिनुपर्ने छैन । सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस् । हामीमध्ये कोही पुग्नुपरेको खण्डमा पनि अतिरिक्त सुरक्षा र सेवा लिने छैनौँ । हामी व्यक्तिगत तवरबाट जानेछौँ र प्रशासनको काममा कुनै दखलअन्दाज हुने छैन । विपद् पर्दा सबैभन्दा अप्ठ्यारो सीमान्तकृत र अल्पसङ्ख्यक वर्गलाई पर्दछ । तथ्याङ्कले पनि महिला, वृद्धवृद्धा र दलित समुदायमा यसको गहिरो प्रभाव परेको देखाउँछ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।’

लामिछानेले विपद्को समयमा सीमान्तकृत र अल्पसङ्ख्यक समुदाय सबैभन्दा बढी मारमा पर्ने तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । विशेषगरी महिला, गर्भवती, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र दलित समुदाय विपद्बाट बढी प्रभावित हुने गरेको भन्दै राहत र उद्धारमा ती वर्गलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तिब्बती क्षेत्रमा आएको भूकम्पपछि हिमपहिरो खसेका कारण रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट घटनाबारे जानकारी दिँदै मन्त्री खनालले बिहान ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको बताए। भूकम्पपछि हिमपहिरो खसेको र त्यसकै कारण बाढी आएको हुनसक्ने प्रारम्भिक जानकारी प्राप्त भएको उनको भनाइ छ।

‘प्रारम्भिक सूचना अनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको प्रारम्भिक सूचना आएको छ,’ मन्त्री खनालले भने, ‘त्यसलाई थप भेरिफाइ गर्नुपर्ने आवश्यकता देखिन्छ।’

उनका अनुसार बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी तथा नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायतका क्षेत्रमा क्षति पुगेको छ।

मन्त्री खनालले घटनामा परी केही नेपालीले ज्यान गुमाइसकेको सूचना सरकारलाई प्राप्त भएको पनि संसदलाई जानकारी गराए। उनका अनुसार बिहान करिब ८ बजेर ४० मिनेटमा बाढी आएको थियो।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन तथा घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको सरकारले जनाएको छ।

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित तथा घाइते भएकाहरूको उद्धार, उपचार र पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिए।
सरकारका निर्णयहरूमा:
१. बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने।
२. घाइते तथा बिचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने।
३. उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरलगायत सबै उपलब्ध साधन प्रयोग गर्ने।
४. उद्धार कार्यका लागि गृहमन्त्रीलाई आवश्यक सबै स्रोत–साधन परिचालन गर्न निर्देशन दिने।
५. घरबास गुमाएका नागरिकको अस्थायी बसोबास तथा व्यवस्थापन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित व्यवस्थापन समितिमार्फत गर्ने।
६. बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित मन्त्रालयले मिलाउने।
७. प्रभावित क्षेत्रमा खानेपानीको व्यवस्था तत्काल मिलाउने।
८. विद्युत् आपूर्ति सुचारु गर्न ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक काम अघि बढाउन निर्देशन दिने।
९. बाढीमा ज्यान गुमाउनेका परिवारलाई प्रचलित कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने।
१०. प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सरकारी निकायबीच समन्वय गरी आवश्यक काम अघि बढाउने।

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण नेपाल प्रहरीका तीनवटा चौकी बगेका छन् भने ३५ प्रहरी अझै सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार बिहान ९ः१५ बजेसम्म रसुवागढी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी र प्रहरी चौकी स्याफ्रुबेसी सम्पर्कविहीन भएका छन्। बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे समेत बगेको प्रहरीले जनाएको छ।
टिमुरेमा कार्यरत २५ प्रहरीमध्ये १२ जना सम्पर्कमा आएका छन्। यस्तै, रसुवागढीमा कार्यरत ९ जनामध्ये एक जना र स्याफ्रुबेसीमा कार्यरत ९ जनामध्ये ४ जना सम्पर्कमा आएका छन्।
यसैबीच, नुवाकोटको त्रिशूली बजारमा पानीको बहाव बढेको छ भने नुवाकोट कारागारमा समेत पानी पसेको प्रहरीले जनाएको छ। धादिङको पृथ्वीराजमार्गस्थित महेशखोलामा समेत डुबान भएको छ।
उद्धार तथा राहतका लागि बागमती प्रदेश प्रहरी गुल्म हेटौँडाबाट एसएसपी पुरुषोत्तम सुवेदीको कमाण्डमा १५ जनाको टोली बुधबार बिहान १०ः५५ बजे रसुवातर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बाढीको बहाव धादिङको गल्छी गाउँपालिका–२ मलेखुसम्म पुगेको प्रहरीले जनाएको छ।

काठमाडौं । तिब्बततर्फबाट रसुवा हुँदै आएको ठूलो बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान ऊर्जा मन्त्रालयले गरेको छ।
बाढीबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका दुवै प्रकृतिका जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार केही आयोजनाका विद्युत्गृह तथा सबस्टेसनमा समेत ठूलो क्षति पुगेको आकलन गरिएको छ।
मन्त्रालयका अनुसार रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट), चिलिमे (२२ मेगावाट), त्रिशूली–३ ए (६० मेगावाट), त्रिशूली–३ बी (३७ मेगावाट), मैलुङ (१४ मेगावाट) र त्रिशूली–बेनिघाट (३५ मेगावाट) आयोजनामा बाढीले क्षति पुर्‍याएको छ।
त्यस्तै, ५७ मेगावाट क्षमताको साञ्जेन (अप्पर) तथा साञ्जेन जलविद्युत् आयोजनामा समेत बाढीबाट क्षति भएको मन्त्रालयले जनाएको छ।
यद्यपि क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन। ऊर्जा मन्त्रालयका अनुसार प्रभावित आयोजनामा कार्यरत कर्मचारीको अवस्थाबारे विवरण संकलन गर्ने काम भइरहेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका एक अधिकारीले बाढी अझै आइरहेकाले क्षतिको विस्तृत विवरण संकलन गर्न कठिन भइरहेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रमुख कार्यकारी अधिकृत भीमप्रसाद गौतमले पनि बाढीबाट प्रभावित आयोजनाको क्षतिबारे विवरण संकलन तथा अवस्थाबारे बुझ्ने काम भइरहेको जानकारी दिएका छन्।
बाढीका कारण आयोजनाका भौतिक संरचना, विद्युत्गृह, सबस्टेसन तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण स्थलगत अध्ययनपछि मात्रै स्पष्ट हुने मन्त्रालयले जनाएको छ।

काठमाडौँ । चीनबाट रसुवा हुँदै आएको बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रमा विभिन्न युनिटबाट उद्धार टोली खटाइएको छ। उद्धार तथा खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगेका छन्।
उनीहरूले बाढी तथा डुबानमा परेका नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि सक्रियतापूर्वक काम गरिरहेका छन्।
सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप जनशक्ति तथा उद्धार सामग्री परिचालन गर्दै उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

रसुवा । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ।
बुधबार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्तीमा रहेका धेरै घर तथा संरचना बगाएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार बजारमा ५ देखि ७ वटा घर मात्रै बाँकी रहेको बताइएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीबाट भएको क्षतिको यकिन विवरण भने अझै प्राप्त भएको छैन। उद्धार तथा क्षतिको विवरण संकलनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरेमा समेत असर परेको छ। कार्यालयमा कार्यरत १५ जना प्रहरीमध्ये हालसम्म ८ जना मात्रै सम्पर्कमा आएका डीआईजी रेग्मीले जानकारी दिए।
बाँकी प्रहरीको अवस्था र बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।
बाढीको कारण टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेपछि स्थानीयवासी त्रसित बनेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

सिन्धुपाल्चोक । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले लिसंखु पाखर गाउँपालिकास्थित ककलिङ क्याम्पसका स्ववियु सभापति स्वर्गीय आयुष श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।


चाबहिलस्थित स्तुपा परिसरमा मंगलबार साँझ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनार, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष करुणा कटुवाल, नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, नेविसंघका केन्द्रीय सदस्य अनिल सापकोटा, नेविसंघ सिन्धुपाल्चोकका सचिव दिपेशराज खनाल तथा सदस्य चीनलाल तामाङलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले स्वर्गीय श्रेष्ठको तस्बिरमा श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्झनामा दीप प्रज्वलन गरेका थिए। सहभागीहरूले श्रेष्ठको विद्यार्थी राजनीतिप्रतिको सक्रियता, ग्रामीण क्षेत्रको उच्च शिक्षा विकास तथा विद्यार्थीको हकहितका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।
कार्यक्रममा वक्ताहरूले श्रेष्ठको निधनले विद्यार्थी आन्दोलन र संगठनमा अपूरणीय क्षति पुगेको बताएका थिए। साथै, उहाँले विद्यार्थी तथा समाजका लागि देखाएको बाटो र पुर्‍याएको योगदानलाई आगामी दिनमा समेत स्मरण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेविसंघ सिन्धुपाल्चोकले स्वर्गीय श्रेष्ठको योगदानलाई संगठन तथा विद्यार्थी आन्दोलनमा सधैँ सम्मानपूर्वक स्मरण गरिरहने जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।