२०८३ कार्तिक ४ मंगलवार
२०८३ कार्तिक ४ मंगलवार

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीबाट क्षति पुगेका क्षेत्रमा बीमा दाबी भुक्तानी प्रक्रियालाई अत्यन्त सरल, सहज र द्रुत बनाउन निर्देशन दिएका छन्। रसुवालगायत क्षेत्रका भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र दाबी भुक्तानीको अवस्थाबारे सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा उनले उक्त निर्देशन दिएका हुन्।
​नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको बैठकमा अर्थमन्त्री वाग्लेले प्राकृतिक विपद्का कारण देश शोकमा रहेकाले बीमा कम्पनीहरूले पीडितलाई राहतको अनुभूति हुने गरी भुक्तानीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। दाबी भुक्तानीमा कुनै कानुनी वा व्यावहारिक जटिलता आएमा सरकारले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए।
​प्राधिकरणको प्रारम्भिक तथ्यांक अनुसार भदौ १५ गतेसम्म बाढीका कारण कुल ५८३ वटा बीमा दाबी दर्ता भएका छन्, जसको अनुमानित रकम रु. २५ अर्ब ८७ करोड रहेको छ।
​बैठकका मुख्य निर्णयहरू:
​कागजी प्रक्रियामा छुट र द्रुत भुक्तानी: झन्झटिलो कागजी प्रक्रियाका कारण भुक्तानीमा ढिलाइ हुन नदिन कार्यविधि सच्याइने र साना दाबीहरूका लागि ‘फास्ट-ट्रयाक’ (द्रुत) प्रणाली लागू गरिने।
​पूर्वाधार र जलविद्युत्का लागि अग्रिम भुक्तानी (Advance Payment): जलविद्युत् र ठूला पूर्वाधारको पूर्ण क्षति मूल्याङ्कनमा समय लाग्ने भएकाले बीमितको नगद प्रवाह (Cash Flow) सुचारु राख्न मूल्याङ्कन सकिनुअघि नै पेस्की रकम दिइने।
​स्वचालित सर्भेयर खटाउने व्यवस्था: सर्भेयर परिचालनलाई चुस्त र पारदर्शी बनाउन प्राधिकरणले ‘ब्ल्याङ्केट सहमति’ दिई प्रणालीमार्फत स्वचालित रूपमा सर्भेयर खटाउने।
​विशेष कार्यदल गठन: दाबी भुक्तानीको दैनिक अनुगमन तथा सहजीकरणका लागि नेपाल बीमा प्राधिकरणभित्रै एउटा विशेष कार्यदल (Task Force) गठन गरिने।
​उक्त उच्चस्तरीय बैठकमा बीमा प्राधिकरणका अध्यक्ष, सञ्चालक, कार्यकारी निर्देशकका साथै विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीका सीईओहरू र सर्भेयर संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले बीमितलाई कुल ९४ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ पोलिसी लोन प्रवाह गरेका छन्।

नेपाल बीमा क्षेत्रको विवरणअनुसार यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ०.७७ प्रतिशतले कम हो। अघिल्लो वर्षको असार मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल ९५ अर्ब ५२ करोड १ लाख रुपैयाँ पोलिसी लोन प्रवाह गरेका थिए।

बीमालेख कर्जा अर्थात् पोलिसी लोन बीमितले आफ्नो बीमालेखको सरेण्डर भ्यालुलाई आधार बनाएर सम्बन्धित बीमा कम्पनीबाट लिने ऋण हो। यस्तो कर्जामा बीमा कम्पनीले तोकेको दरअनुसार ब्याज लाग्ने गर्छ।

नेपाल लाइफको हिस्सा ३६ प्रतिशतभन्दा बढी

पोलिसी लोन प्रवाहमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले असार मसान्तसम्म ३४ अर्ब ३२ करोड ४० लाख रुपैयाँ पोलिसी लोन प्रवाह गरेको छ।

यद्यपि, नेपाल लाइफको यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा ०.६३ प्रतिशतले घटेको हो। समग्र जीवन बीमा क्षेत्रमा प्रवाह भएको पोलिसी लोनमध्ये नेपाल लाइफको मात्रै हिस्सा ३६ प्रतिशतभन्दा बढी रहेको छ।

पोलिसी लोन प्रवाहमा एलआईसी नेपाल दोस्रो स्थानमा रहेको छ। कम्पनीले २० अर्ब ६ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ५.८० प्रतिशतले कम हो।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले १२ अर्ब ३३ करोड २५ लाख रुपैयाँ पोलिसी लोन प्रवाह गरेको छ। कम्पनीको कर्जा लगानी अघिल्लो वर्षको तुलनामा १२.८२ प्रतिशतले घटेको छ।

हिमालयन लाइफको कर्जा बढ्यो

हिमालयन लाइफ इन्स्योरेन्सले भने पोलिसी लोन प्रवाहमा सुधार गरेको छ। कम्पनीले ८ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.७२ प्रतिशत बढी हो।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब २४ करोड ९९ लाख रुपैयाँ पोलिसी लोन प्रवाह गरेको छ। सूर्यज्योति लाइफले भने १०.५२ प्रतिशत वृद्धि गर्दै ५ अर्ब १७ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सानिमा रिलायन्स लाइफले पोलिसी लोनमा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीको कर्जा प्रवाह २३.३३ प्रतिशतले बढेर १ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

यता मेट लाइफको पोलिसी लोन १ अर्ब ७५ करोड ५९ लाख रुपैयाँ कायम भएको छ।

नयाँ कम्पनीमा पनि कर्जा विस्तार

नयाँ पुस्ताका जीवन बीमा कम्पनीमध्ये प्रभु महालक्ष्मी लाइफ र आईएमई लाइफले पोलिसी लोन विस्तार गरेका छन्।

प्रभु महालक्ष्मी लाइफले १ अर्ब ५० करोड ७ लाख रुपैयाँ पोलिसी लोन प्रवाह गरेको छ। कम्पनीको कर्जा अघिल्लो वर्षको तुलनामा २३.३३ प्रतिशतले बढेको छ।

त्यस्तै, आईएमई लाइफले ३०.४४ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब २५ करोड ९२ लाख रुपैयाँ पोलिसी लोन प्रवाह गरेको छ।

सिटिजन लाइफको बीमित कर्जा पनि २१.६८ प्रतिशतले बढेर १ अर्ब २२ करोड ८० लाख रुपैयाँ पुगेको छ।

साना कम्पनीतर्फ सन नेपाल लाइफले ७७ करोड ९ लाख रुपैयाँ पोलिसी लोन प्रवाह गरेको छ भने रिलायबल नेपाल लाइफले २५.६४ प्रतिशत वृद्धि गर्दै ६६ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समग्रमा जीवन बीमा कम्पनीहरूको पोलिसी लोन प्रवाहमा सामान्य गिरावट देखिए पनि केही नयाँ तथा मध्यम आकारका कम्पनीहरूले भने बीमितलाई प्रवाह गर्ने कर्जा बढाएका छन्।

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ।

मन्त्रालयका अनुसार २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको हो।

कार्यदलले बाढी प्रभावित क्षेत्रमा सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ।

त्यस्तै, सम्बन्धित सरोकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी पुनःस्थापनाका कामको नियमित अनुगमन तथा रिपोर्टिङ गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ।

मन्त्रालयका अनुसार कार्यदलले संघ, प्रदेश र स्थानीय तहसँगै सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय गर्दै प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना, अत्यावश्यक पूर्वाधारको पुनःसञ्चालन र नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अघि बढाउनेछ।

कार्यदलका प्रमुख जिम्मेवारी
विपद्बाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्याङ्कन गर्ने।
तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनःस्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकाय परिचालन गर्ने।
प्रभावित क्षेत्र, संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गर्ने।
तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्ने।
आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गर्ने।
संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय र सहजीकरण गर्ने।
पुनर्निर्माणमा भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढी, पहिरो लगायतका जोखिमलाई समेट्दै ‘Build Back Better’ को सिद्धान्त लागू गर्ने।
दोहोरो लगानी र स्रोतको दुरुपयोग रोक्न एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गर्ने।
आवश्यक नीतिगत, कानुनी, प्रशासनिक तथा बजेटसम्बन्धी निर्णयका लागि सम्बन्धित निकाय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष सिफारिस गर्ने।
कार्यप्रगति, समस्या तथा समाधानका उपायसहित नियमित प्रतिवेदन पेश गर्ने।
कार्यदलको कार्यक्षेत्रभित्रका कामको अनुगमन, मूल्याङ्कन तथा गुणस्तर सुनिश्चित गर्ने।
विपद् पुनःस्थापनाबाट प्राप्त अनुभव र तथ्यका आधारमा भविष्यमा हुने विपद् न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव दिने।

काठमाडौं । पछिल्लो समय जीवन बीमा अभिकर्ताको परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुने क्रम बढेको पाइएको छ। परीक्षाको मर्यादा र अभिकर्ताको व्यावसायिक साखमै प्रश्न उठ्ने गरी अनियमितता हुन थालेपछि नेपाल बीमा प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाएको हो।

प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा अनियमितता गरेको भन्दै ४७ जना परीक्षार्थीलाई कारबाही गरेको जनाएको छ। उनीहरूलाई तीन महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बीमा अभिकर्ताको परीक्षा सञ्चालनका क्रममा आईआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटो र परीक्षामा उपस्थित व्यक्तिबीच फरक भेटिएपछि उनीहरूमाथि कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा विभिन्न जीवन बीमा कम्पनीबाट परीक्षामा सहभागी भएका व्यक्ति रहेका छन्। नेपाल लाइफ इन्स्योरेन्सबाट १0 जना, सन नेपाल लाइफबाट ६ जना र सूर्यज्योति लाइफबाट ६ जना कारबाहीमा परेका छन्।

त्यस्तै, रिलायबल नेपाल लाइफका ३ जना, सिटिजन लाइफका ४ जना, हिमालयन लाइफका ३ जना तथा आईएमई लाइफका ४ जना कारबाहीमा परेका छन्।

एसियन लाइफ, प्रभु महालक्ष्मी लाइफ र मेट लाइफबाट २–२ जना कारबाहीमा परेका छन्। क्रेस्ट माइक्रो लाइफ, नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र सानिमा रिलायन्स लाइफबाट १–१ जना कारबाहीमा परेका छन्।

यी हुन् कारबाहीमा परेका परीक्षार्थी

नेपाल लाइफ इन्स्योरेन्स: खम्सुम लामा, मुना रेग्मी, चिरञ्जन यादव, मुकेश आग्री, विष्णुकुमार उपाध्याय, शुष्मा छत्याल, मानबहादुर चौधरी, सुमी यादव, दुर्गाप्रसाद काफ्ले र धिरज निरौला।

सन नेपाल लाइफ: सन्ध्या परियार, दीपकराज चौधरी, देवका गोतामे भट्ट, डम्बरी बोहरा, सन्दीप दवाडी र सुनिता थापा।

सूर्यज्योति लाइफ: निरा बस्नेत केसी, पार्वती केसी, सब्नम इवारम थेबे, लादिकी शेर्पा, शुभेच्छा श्रेष्ठ र अजिताकुमारी यादव।

रिलायबल नेपाल लाइफ: सन्ध्या सापकोटा, लोकेन्द्र पुन र गोमा सुवेदी।

एसियन लाइफ: प्रतिभा पोख्रेल र प्रमोदकुमार साह।

प्रभु महालक्ष्मी लाइफ: सुस्मिता सिग्देल र सनम राजवंशी।

मेट लाइफ: जेसिका गुरुङ र निर्मला क्षत्री गोदार।

सिटिजन लाइफ: करुणा वली, तिलकबहादुर गिरी, दीपक बिष्ट र रमेश कार्की।

हिमालयन लाइफ: सुनिलकुमार साह, नामसाङ आङदेम्बे र भुवन चन्द वालान।

आईएमई लाइफ: सुरज बिल्टाउ, लक्ष्मी तिमल्सेना, रवि थापामगर र प्रकाश दर्लामी।

क्रेस्ट माइक्रो लाइफ: नन्दन बडाल।

नेसनल लाइफ: रोजिना राई।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल): जितेन्द्रप्रसाद तिवारी।

सानिमा रिलायन्स लाइफ: पदमाकुमारी विक।

बीमा अभिकर्ताको परीक्षा निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन प्राधिकरणले परीक्षा प्रणालीमा कडाइ गर्दै आएको छ। आईआरएमआईएस प्रणालीमा रहेको विवरणसँग परीक्षार्थीको पहिचान नमिलेमा अनियमितता भएको ठहर गरी कारबाही गर्ने व्यवस्था अपनाइएको प्राधिकरणले जनाएको छ।

काठमाडाैँ । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेका छन्। सामाजिक सञ्जालमा एक भावुक सन्देश जारी गर्दै उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्गिएको जानकारी दिएका हुन्।

काठमाडौं । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चालित १२ वटा वाणिज्य बैंकका शाखा कार्यालयहरूमा प्रत्यक्ष रूपमा ६० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ।

नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका कुल १६ वटा शाखा कार्यालयमध्ये १५ वटा पूर्ण रूपमा नष्ट भएका छन् भने एउटा शाखामा गम्भीर क्षति पुगेको छ।

६० करोड भौतिक नोक्सानी, कर्जा लगानीमा उच्च जोखिम

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार नगद बाहेकका भौतिक संरचना, प्रविधि र उपकरणमा मात्रै करिब ६० करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ।

बैंकको भल्ट, काउन्टर र एटीएममा रहेको नगद बीमा हुने भएकाले त्यसलाई प्रत्यक्ष क्षतिमा गणना गरिएको छैन। प्रभावित क्षेत्रका बैंकहरूमा:

नगद भल्ट: १७ करोड २४ लाख रुपैयाँ

काउन्टर नगद: १ करोड १७ लाख रुपैयाँ

एटीएम नगद (९ वटा): १ करोड १६ लाख ६३ हजार रुपैयाँ रहेको थियो।

संघका अनुसार बाढी प्रभावित क्षेत्रमा बैंकहरूको जलविद्युत् बाहेक २ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी रहेको छ। बाढीले धितो राखिएका जग्गाजमिन र भौतिक संरचना नै बगाएपछि बैंकहरूको लगानीमा ठूलो जोखिम सिर्जना भएको शर्माले बताए।

कृषि विकास बैंकमा ठूलो क्षति, लकरका सामान नष्ट

बाढीबाट सबैभन्दा ठूलो नोक्सानी कृषि विकास बैंकको त्रिशूली शाखामा भएको छ। उक्त शाखा पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै प्रयोगमा रहेका ६४ वटा ग्राहक लकर बक्सहरूमा समेत क्षति पुगेको छ।

लकरमा राखिएका सामानको बीमा नहुने र त्यहाँ के राखिएको थियो भन्ने विवरण बैंकसँग नहुने भएकाले ग्राहकहरूले व्यक्तिगत रूपमा ठूलो नोक्सानी ब्यहोर्नुपर्ने देखिएको छ। तर, सुन धितो राखेर लिइएको कर्जाको भने बीमा हुने भएकाले त्यसलाई क्षतिमा समावेश गरिएको छैन।

२६ बैंक कर्मचारी अझै सम्पर्कविहीन

बाढीका कारण बैंकका भौतिक संरचना ध्वस्त हुनुका साथै मानवीय क्षतिसमेत भएको आशंका गरिएको छ। प्रभावित क्षेत्रमा कार्यरत १२ विभिन्न बैंकका २६ जना कर्मचारी अझै सम्पर्कमा आएका छैनन्।

क्षतिग्रस्त बैंक र शाखाहरूको विवरण:

कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, एनएमबी र सानिमा बैंक: १-१ शाखा

प्रभु बैंक: २ शाखा

एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेघा बैंक: ३-३ शाखा

प्रतिकूल अवस्थाका बाबजुद उद्धार र कर्मचारीहरूको खोजी कार्य जारी राखिएको तथा प्रभावित क्षेत्रमा वैकल्पिक बैंकिङ सेवा सञ्चालनका लागि प्रयास भइरहेको संघले जनाएको छ। बाढी प्रभावित शाखाहरूमा कुल ७८ हजार २ सय ४ जना निक्षेपकर्ता र ४ अर्ब ५० करोड रुपैयाँ निक्षेप रहेको छ।

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारीसाधनलाई काठमाडौँ-बाइरोड-नौबिसे-पालुङ-भैँसे तथा फर्पिङ-कुलेखानी हुँदै सञ्चालन गरिएको छ । मालवाहक सवारीसाधनलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रसुवा जाने सवारीसाधनले टोखा-छहरे-नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रसुवाको धुन्चेसम्म राहत सामग्री पुर्‍याउन अहिले चारपाङ्ग्रे सवारीसाधन मात्र प्रयोग गर्न सकिने अवस्था छ । कच्ची सडक भएकाले राहत सामग्री बोकेका सवारीसाधनले ट्राफिक प्रहरीसँग समन्वय गरी आवागमन गर्नुपर्ने उहाँले बताउनुभयो ।

वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेकाले सवारी जाम तथा दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले चालकलाई धैर्यपूर्वक आफ्नो पालोमा मात्र सवारी चलाउन र ओभरटेक नगर्न आग्रह गरेको छ । यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको वैकल्पिक मार्गको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

भेटमा सरकारले खोज, उद्धार, राहत वितरण, नागरिक व्यवस्थापनलगायतका प्रभावित नागरिकहरुको पुनःस्थापनाका विषयमा छलफल भएको बताइएको छ ।

इन्द्रावती (सिन्धुपाल्चोक) ।

इन्द्रावती गाउँपालिका-५ स्थित ऐंसेलुखर्क माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ ‘बाली विज्ञान’ (Plant Science) अध्ययनरत विद्यार्थीहरूका लागि ३ दिने बाली उपचार शिविर तथा प्रयोगात्मक अध्ययन अवलोकन भ्रमण कार्यक्रम सुरु भएको छ।

स्थानीय सुर्यकोट क्षेत्रका झन्डै एक दर्जन कृषकहरूको धान खेत र अदुवा बारीमा पुगेर विद्यार्थीहरूले बालीमा लाग्ने रोग तथा किराहरूको प्रत्यक्ष पहिचान र निराकरणका उपायहरूबारे व्यवहारिक ज्ञान हासिल गरिरहेका छन्।

विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा दक्ष बनाउने उद्देश्यले सञ्चालित यस शिविरमा विद्यालयका विषय विज्ञ शिक्षकहरू प्रविण भट्टराई र निराजन बन्जाडेले सहजीकरण गरिरहनुभएको छ।

३ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत भोलि (दोस्रो दिन) वडा कार्यालयमा स्थानीय कृषकहरूसँग बालीमा लाग्ने रोग तथा तिनको निदान सम्बन्धी बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरिनेछ भने पर्सी (तेस्रो दिन) अध्ययन शिविरको औपचारिक समापन हुनेछ।

प्रयोगात्मक अध्ययन अवलोकन भ्रमणमा विषय शिक्षकहरूसँगै स्थानीय जनप्रतिनिधि र कृषकहरूको समेत उत्साहजनक सहभागिता रहेको छ। यस किसिमको व्यावहारिक अभ्यासले एकातिर विद्यार्थीहरूको दक्षता अभिवृद्धि हुने र अर्कोतिर स्थानीय कृषकहरूले आफ्ना बालीमा देखिएका रोग-किराको समस्याबारे परामर्श पाई प्रत्यक्ष लाभ लिने विश्वास लिइएको छ।

​‘मेलम्ची सुरुङमा लेदो भरिने र काठमाडौंको पानी आपूर्ति ठप्प हुने जोखिम’
​
काठमाडौं ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम तीव्र रूपमा बढेको भन्दै विपद् आइसकेपछि उद्धार र राहतमा जुट्नुभन्दा विपद् आउनुअघि नै पूर्वतयारी, वैज्ञानिक अध्ययन र जोखिम न्यूनीकरणमा राज्यले ध्यान दिनुपर्ने माग गरिएको छ।
​हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले हालै रसुवामा भएको विपद् र विगतमा हेलम्बु-मेलम्ची क्षेत्रमा आएको बाढी-पहिरोबाट पाठ सिक्दै राज्यले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। सामान्य अवस्थामा जोखिम न्यूनीकरणलाई बेवास्ता गर्ने र घटना घटेपछि मात्र सक्रिय हुने प्रवृत्तिको अब अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन्।
​विशेषगरी भेमाथाङभन्दा माथिल्लो क्षेत्रमा रहेका ग्लेसियर तथा हिमतालमा जोखिम बढ्दै गएकाले सम्भावित हिमपहिरो, बाढी वा हिमताल विस्फोटन भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिइएको छ।
​यसका साथै, विपद्को ठूलो प्रभाव मेलम्ची खानेपानी आयोजनामा पर्न सक्ने भन्दै अध्यक्ष ह्योल्मोले गम्भीर चिन्ता व्यक्त गरे। बाढी र हिमपहिरोसँगै आउने लेदो तथा मलबा (ढेर) सुरुङभित्र प्रवेश गरेमा सुरुङ लामो दूरीसम्म पुरिने र यसले काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा दीर्घकालीन सङ्कट ल्याउन सक्ने उनले बताए।
​”विपद् आएपछि पुनर्निर्माणमा ठूलो रकम खर्चनुभन्दा अगावै सुरक्षित संरचना निर्माण गर्नु र अध्ययनमा लगानी गर्नु बुद्धिमानी हुन्छ,” अध्यक्ष ह्योल्मोले भने, “यस विषयलाई केवल बहस र भाषणमा सीमित नराखी संघीय सरकारले तत्काल भेमाथाङ र मेलम्चीको माथिल्लो मुहान क्षेत्रको विस्तृत वैज्ञानिक अध्ययन गरी ठोस कदम चालोस्।”
​उनले विपद् आउनुअघि नै गरिने आजको पूर्वतयारीले भोलिको ठूलो धनजनको क्षति रोक्न सक्ने भन्दै सबैलाई सचेत र सुरक्षित रहन अपिलसमेत गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।