२०८३ कार्तिक ४ मंगलवार
२०८३ कार्तिक ४ मंगलवार

​काठमाडौँ ।
देशमा छाएको आर्थिक शिथिलताका बाबजुद नेपालका जीवन बीमा कम्पनीहरूको व्यापारमा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौ मसान्त) सम्ममा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कुल ४० अर्ब ५४ करोड १४ लाख रुपैयाँ बीमाशुल्क (Premium) सङ्कलन गरेका छन्।
​नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार यो रकम गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा १५.०१ प्रतिशतले बढी हो। गत वर्षको भदौसम्म बीमकहरूले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ मात्रै व्यापार गरेका थिए।
​व्यापारमा ‘नेपाल लाइफ’ को दबदबा, ग्रोथमा ‘आइएमई लाइफ’ अगाडि
​कुल व्यापार सङ्कलनका हिसाबले नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो शीर्ष स्थान कायम राखेको छ भने व्यापार वृद्धिदर (Growth) का आधारमा आइएमई लाइफ इन्स्योरेन्सले सबैलाई पछाडि पारेको छ। खुसीको कुरा, समीक्षा अवधिमा सबै १४ वटै जीवन बीमा कम्पनीको व्यापारमा सकारात्मक वृद्धि देखिएको छ।
​कस्तो छ शीर्ष ५ कम्पनीको प्रदर्शन?
​नेपाल लाइफ इन्स्योरेन्स:
भदौ मसान्तसम्म कम्पनीले १० अर्ब ५८ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधि (रु ९ अर्ब ६८ करोड ३२ लाख) को तुलनामा कम्पनीको व्यापार ९.२७% ले बढेको हो।
​नेसनल लाइफ इन्स्योरेन्स:
दोस्रो स्थानमा रहेको नेसनल लाइफले ४ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ संकलन गरेको छ। गत वर्षको तुलनामा कम्पनीको व्यापार २१.९९% को उच्च दरले बढेको छ।
​राष्ट्रिय जीवन बीमा कम्पनी:
सरकारी स्वामित्वको यो कम्पनी ४ अर्ब ४१ करोड ४६ लाख रुपैयाँ व्यापार गर्दै तेस्रो स्थानमा छ। यसको व्यापार वृद्धिदर ८.१९% छ।
​एलआईसी नेपाल (LIC Nepal):
चौथो स्थानमा रहेको एलआईसीले ८.३७% को वृद्धिसँगै ३ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ।
​हिमालयन लाइफ इन्स्योरेन्स:
कम्पनीले १३.२३% को वृद्धिसँगै ३ अर्ब ५९ करोड १९ लाख रुपैयाँ व्यापार गर्न सफल भएको छ।
​कुन कम्पनीको व्यापार कति? (तुलनात्मक तालिका)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्ने प्रक्रियासम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। धितोपत्र कारोबारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले बोर्डले यसअघि जारी गरेको निर्देशन परिमार्जन गरेको हो।
बोर्डको नियमन विभागले सम्पूर्ण सूचीकृत कम्पनीलाई सम्बोधन गर्दै जारी गरेको पत्रअनुसार अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि सम्बन्धित कम्पनीलाई पाँच कारोबार दिन अगावै जानकारी गराउनुपर्नेछ।
यसअघि आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा पाँच दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो। संशोधित निर्देशनले पूर्वसूचना दिनुपर्ने सेयरको सीमा ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ।
निर्देशनअनुसार सम्बन्धित कम्पनीले सेयर बिक्रीसम्बन्धी सूचना प्राप्त गरेपछि त्यसको विवरण नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ। सार्वजनिक गरिने सूचनामा बिक्री गर्न लागिएको सेयरको विवरण, मूल्य तथा परिमाणसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।बोर्डको यो संशोधनले आधारभूत सेयरधनीबाट हुने ठूलो परिमाणको सेयर बिक्रीसम्बन्धी जानकारी बजारका सहभागी तथा लगानीकर्तासमक्ष पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ। साथै, सेयर कारोबारमा पारदर्शिता कायम गर्न र लगानीकर्तालाई आवश्यक सूचना उपलब्ध गराउन यो व्यवस्था महत्त्वपूर्ण हुने देखिन्छ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका नेताहरू पार्टीको नेतृत्व तहमा प्रभावशाली रूपमा देखिएका छन्।

कांग्रेसको ‘राजनीतिक नर्सरी’का रूपमा चिनिने नेविसंघका पूर्वमहामन्त्री एवं उपाध्यक्ष गगनकुमार थापा सभापति बन्ने निश्चित भएसँगै विद्यार्थी राजनीतिबाट उदाएका नेताहरू पार्टीको पदाधिकारी तहमा समेत निर्णायक भूमिकामा पुग्ने भएका हुन्।

निर्वाचन समितिका अनुसार नेविसंघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा सर्वसम्मत चयन भएका छन्। सभापति पदका उम्मेदवार रहेका नेविसंघकै पूर्वअध्यक्ष किशोरसिंह राठौरले थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्।

उपसभापति पदमा पनि नेविसंघ पृष्ठभूमिका नेताहरूबीच प्रतिस्पर्धा देखिएको छ। पूर्वअध्यक्ष धनराज गुरुङ, गोविन्द भट्टराई र रञ्जीत कर्ण उपसभापति पदका उम्मेदवार छन्। गुरुङ र भट्टराई खुलातर्फ तथा कर्ण समावेशीतर्फ प्रतिस्पर्धामा छन्।

कर्णले नेविसंघको लामो समयदेखि हुन नसकेको महाधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गरेका थिए। उनी थापाकै समकालीन विद्यार्थी नेता हुन्।

त्यस्तै, नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर महामन्त्री पदको प्रतिस्पर्धामा छन्। पूर्वअध्यक्ष राजीव ढुंगाना सहमहामन्त्री पदका उम्मेदवार छन्।

विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्री बनेका घिमिरे र पौडेल विद्यार्थी राजनीतिदेखि नै पार्टीभित्र वैचारिक र बौद्धिक नेताका रूपमा स्थापित छन्।

विद्यार्थी तथा तरुण राजनीतिबाट पार्टीको मूलधारमा आएका नेताहरूको उल्लेख्य उपस्थितिले कांग्रेसको नयाँ नेतृत्व संरचनामा पुस्तान्तरणसँगै संगठनात्मक अनुभवको संयोजन देखिएको छ।

उपसभापति पदका उम्मेदवार रञ्जीत कर्णले विद्यार्थी र तरुण राजनीतिबाट आएका नेताहरूको सहभागिताले पार्टी रूपान्तरणलाई गति दिने दाबी गरेका छन्। उनका अनुसार राजनीतिक आन्दोलनमा सक्रिय भएर आएका नेताहरूलाई नेतृत्वमा समेट्दा कांग्रेसले नयाँ कार्यदिशा निर्माण गर्न सक्नेछ।

पूर्वसहमहामन्त्री राजीव ढुंगानाले पनि विद्यार्थी राजनीतिबाट पार्टीको मूल प्रवाहमा आएका नेताहरूले पार्टी सञ्चालनको अनुभव र क्षमता राख्ने बताएका छन्। अग्रज र समकालीन नेताबीचको समन्वयबाट कांग्रेसलाई नयाँ मार्गचित्रका साथ अघि बढाउन सकिने उनको भनाइ छ।

नेविसंघ र नेपाल तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेका अन्य नेताहरू पनि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको प्रतिस्पर्धामा छन्। यसले १५औँ महाधिवेशनमा विद्यार्थी तथा युवा राजनीतिबाट आएका नेताहरूको प्रभाव उल्लेख्य रूपमा बढेको देखाएको छ।

यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार तय गरिएको मतदान स्थगित भएको छ। निर्वाचन समितिले अब शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने नयाँ समय निर्धारण गरेको छ।

यसअघि बिहान १० बजेका लागि तोकिएको मतदान समय तीनपटक परिवर्तन गरी दिउँसो साढे २ बजे पुर्‍याइएको थियो। तर निर्धारित समयमा समेत मतदान सुरु हुन नसकेपछि निर्वाचन शुक्रबारका लागि सारिएको हो।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुलीले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममार्फत जनताका गुनासा, सुझाव र स्थानीय आवश्यकता प्रत्यक्ष रूपमा सुन्ने भएका छन्।
सुनकोशी गाउँपालिकामा असोज २२ गते बिहीबार कार्यक्रम आयोजना गरिएको प्रचार सामग्रीमा उल्लेख छ। “बजेटसँगै टोल–टोलमा सुन्दै र सुनाउँदै” भन्ने नारासहित आयोजना हुने कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्ने जनाइएको छ।
कार्यक्रमअन्तर्गत स्याले, यमुना डाँडा, सुनखानी हुँदै पार्टीडाँडासम्मका टोल–बस्तीमा पुग्ने सांसद पराजुलीको तयारी छ। स्थानीय नागरिकका समस्या, विकासका आवश्यकता तथा आगामी योजनाबारे प्रत्यक्ष छलफल गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
सांसद पराजुलीले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै बजेट तथा विकास निर्माणका विषयमा जनताको धारणा सुन्ने र आफ्ना योजना तथा प्रतिबद्धता सुनाउने कार्यक्रमका रूपमा यसलाई अघि बढाएका छन्।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दलित कोटा खुलातर्फ केन्द्रीय सदस्य पदमा शिवबहादुर सुनारले उम्मेदवारी दिएका छन्। पार्टी रूपान्तरण, सामाजिक न्याय र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सुनारले पाँचबुँदे एजेन्डासहित महाधिवेशन प्रतिनिधिसँग मत मागेका छन्।
दलित कोटा खुलातर्फ ८ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहे पनि ३१ जनाको उम्मेदवारी परेको छ। प्रतिस्पर्धा उच्च रहेको उक्त समूहमा सुनारले आफ्नो उम्मेदवारीलाई दलित समुदायको सशक्त प्रतिनिधित्वसँगै समग्र पार्टीको रूपान्तरणसँग जोडेर अघि सारेका छन्।
सुनारले बीपी कोइरालाको राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई २१औँ शताब्दीअनुकूल पुनर्व्याख्या गर्दै उत्पादनमुखी समाजवादको अवधारणा अघि बढाउने एजेन्डा प्रस्तुत गरेका छन्। त्यससँगै ‘डिजिटल बीपी ई–लाइब्रेरी’ अभियानमार्फत पार्टीको वैचारिक सामग्रीलाई नयाँ पुस्तासम्म पुर्‍याउने उनको योजना छ।
उनको अर्को प्रमुख एजेन्डा सामाजिक न्याय र दलित सशक्तीकरण हो। संविधानको समावेशी लोकतन्त्रलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै दलित समुदायको आर्थिक, शैक्षिक र राजनीतिक सशक्तीकरणलाई पार्टीको प्राथमिकतामा राख्नुपर्ने सुनारको धारणा छ।
शिक्षा र स्वास्थ्यमा क्रान्ति ल्याउने प्रस्ताव अघि सार्दै उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा तथा टेलिमेडिसिनमार्फत घरमै चिकित्सकीय सेवा पुर्‍याउने एजेन्डा अघि सारेका छन्। साथै वडादेखि केन्द्रसम्म QR सहितको डिजिटल कार्यालय स्थापना गर्दै गुटमुक्त, विधि र पद्धतिमा आधारित कांग्रेस निर्माण गर्ने उनको प्रतिबद्धता छ।
सुनारले ‘पुरानो र नयाँ पुस्ताको सेतु’ बन्ने अवधारणालाई पनि आफ्नो पाँचौँ एजेन्डाका रूपमा अघि सारेका छन्। अग्रजको अनुभवलाई ‘मेन्टरिङ’मार्फत नयाँ पुस्तामा हस्तान्तरण गर्ने र युवालाई नीति निर्माण तथा नेतृत्वमा अघि बढाउने उनको प्रस्ताव छ।
‘समृद्ध पूर्वाधार, सक्षम कांग्रेस, समुन्नत नेपाल’ भन्ने नारासहित चुनावी मैदानमा रहेका सुनारले आफ्ना एजेन्डालाई कार्यान्वयन गर्ने अवसरका लागि महाधिवेशन प्रतिनिधिहरूसँग अधिकतम मत दिएर विजयी गराउन अपिल गरेका छन्।

महिला तथा बालबालिकाको अधिकार संरक्षण, मानव अधिकार प्रवर्द्धन तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील संस्था महिला आत्मनिर्भरता केन्द्रको ३४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सञ्चमाया तामाङको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशा तथा कार्यक्रमका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको सुरुवातमा संस्थाका आजीवन तथा साधारण सदस्यहरूका लागि लैङ्गिक हिंसासम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको थियो । समावेशी तथा स्वास्थ्य प्रबन्धक उषा थापाले सहजीकरण गर्नुभएको अभिमुखीकरणमा लैङ्गिक हिंसाका स्वरूप, कारण तथा प्रभाव, हिंसा न्यूनीकरणका उपाय, महिला तथा बालबालिकाका अधिकार र हिंसामा परेका व्यक्तिले प्राप्त गर्न सक्ने सहयोगका विषयमा जानकारी गराउनु

भयो ।
साधारण सभामा मेलम्ची नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, संस्थाका पूर्व अध्यक्षहरू इन्द्रमाया गुरुङ, डोल्मा तामाङ, भगवती नेपाल र देवी गुरुङ, इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख, राधाकृष्ण श्रेष्ठ तथा इन्द्रेश्वरी विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ,संस्थाका कार्यक्रम संयाेजक कृष्ण गुरूङ, इन्द्रावती महिला विकास तथा ऋण सहकारि संस्थाका अध्यक्ष कल्पना चालिसे लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष शोभा आचार्यले स्वागत मन्तव्य राख्दै संस्थाले महिला तथा बालबालिकाको अधिकार, सामाजिक न्याय र सशक्तीकरणका क्षेत्रमा गर्दै आएको कार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
साधारण सभामा संस्थाको वार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन सहसचिव सुनिता परियारले र लेखा प्रतिवेदन कोषाध्यक्ष सरिता दुलालले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि संस्थाका पूर्व अध्यक्ष भगवती नेपाल तथा साधारण सदस्य अम्बिका डोटेलले धारणा राख्नुभएको थियो । उहाँहरूले संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चन्द्रबहादुर तामाङले महिला तथा बालबालिकाको अधिकार संरक्षण, सशक्तीकरण र आत्मनिर्भरताका लागि संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरूमा स्थानीय तहबाट आवश्यक सहयोग र समन्वय गर्न आफूहरू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समुदायको आवश्यकता र स्थानीय तहको प्राथमिकतासँग जोडेर संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आफूहरू सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी, इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठले आफू यस संस्थाको सल्लाहकारको भूमिकामा रहन पाउँदा खुसी लागेको बताउनुभयो । महिला तथा बालबालिकाको अधिकार, शिक्षा, सामाजिक जागरण र सशक्तीकरणका क्षेत्रमा संस्थाले पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा संस्थालाई आवश्यक सुझाव तथा सहकार्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साधारण सभामा आगामी दिनमा महिला तथा बालबालिकाको अधिकार संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, मानव अधिकार प्रवर्द्धन, महिला नेतृत्व विकास तथा आर्थिक सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल गरिएको थियो । साथै महिलालाई सीप, रोजगारी, उद्यमशीलता र आर्थिक अवसरसँग जोड्दै ‘महिला आत्मनिर्भरता केन्द्रलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको छ ।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव कालिमाया वाइबाले गर्नुभएको थियो ।उहाँले कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै साधारण सभाका विभिन्न कार्यसूची प्रस्तुत गर्नुभएको थियो ।
सभाको समापन गर्दै संस्थाका अध्यक्ष सञ्चमाया तामाङले महिला तथा बालबालिकाको अधिकार र सम्मानलाई केन्द्रमा राखेर संस्थालाई अझ व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले “अधिकारदेखि आत्मनिर्भरतासम्म”भन्ने उद्देश्यका साथ संस्थाको आगामी यात्रा समुदायसँगको सहकार्यमा अघि बढ्ने बताउनुभयो ।
महिला तथा बालबालिकाको अधिकारलाई आवाजमा मात्र सीमित नराखी अवसर, आत्मविश्वास र आत्मनिर्भरतासँग जोड्ने संस्थाको आगामी लक्ष्यले साधारण सभालाई थप अर्थपूर्ण बनाएको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोककी नेत्री एवम् महाधिवेशन प्रतिनिधि यस्मिन ढुंगानाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
ढुंगाना सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट खुला महिला कोटातर्फ ६५२ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्। क्षेत्रीय अधिवेशनबाट उल्लेख्य मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै ढुंगानाले पार्टी संगठनलाई थप सुदृढ बनाउने, महिलाको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई प्रभावकारी बनाउने तथा पार्टीलाई जनतासँग अझ नजिक बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएकी छन्।
१५औँ महाधिवेशनले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशा तय गर्ने भएकाले आफूले केन्द्रीय सदस्यका रूपमा भूमिका निर्वाह गर्न उम्मेदवारी दिन लागेको उनको भनाइ छ।

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

समितिको मूल्यसूचीअनुसार कालीमाटीमा अधिकांश तरकारीको मूल्य हिजोको तुलनामा सामान्य रहेको छ। केही तरकारी तथा फलफूलको मूल्य भने घटबढ भएको छ।

आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँ र ठूलो भारतीय गोलभेँडा ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सानो लोकल गोलभेँडा ५० रुपैयाँ, रातो लाम्चो आलु ५७ रुपैयाँ, भारतीय सुकेको प्याज ८७.५० रुपैयाँ र लोकल गाजर १२० रुपैयाँ प्रतिकिलो छ।

त्यस्तै लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, हाइब्रिड सेतो मूला ५५ रुपैयाँ, लाम्चो भन्टा ५५ रुपैयाँ र डल्लो भन्टा ७५ रुपैयाँ प्रतिकिलो रहेको छ।

हरियो तरकारीतर्फ तने बोडी १३३.३३ रुपैयाँ, मकै बोडी ११३.३३ रुपैयाँ, घिउ सिमी लोकल तथा हाइब्रिड ९५.७१ रुपैयाँ, तितो करेला १३० रुपैयाँ, लौका ९५ रुपैयाँ, लोकल परवर ९५ रुपैयाँ र घिरौँला ९५ रुपैयाँ प्रतिकिलो छ।

हरियो डल्लो फर्सी ५५ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, भिन्डी ८५ रुपैयाँ, स्कुस २५ रुपैयाँ र रायो, पालुंगो तथा चमसूरको साग १७५ रुपैयाँ प्रतिकिलो छ।

च्याउतर्फ कन्य च्याउ २५७.५० रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँ प्रतिकिलो रहेको छ। कुरिलोको मूल्य ७५० रुपैयाँ प्रतिकिलो छ।

फलफूलतर्फ फुजी स्याउ ३२५ रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ, मुस्ताङको स्याउ २२५ रुपैयाँ, नेपाली केरा १७५ रुपैयाँ दर्जन, मालभोग केरा १२५ रुपैयाँ दर्जन, कागती २५० रुपैयाँ, अनार ३२५ रुपैयाँ र भारतीय सुन्तला १७५ रुपैयाँ प्रतिकिलो छ।

त्यस्तै लोकल नासपाती ९५ रुपैयाँ, चाइनिज नासपाती २२५ रुपैयाँ, नेपाली मेवा ५५ रुपैयाँ, भारतीय मेवा ९५ रुपैयाँ, अम्बा १७५ रुपैयाँ, किवी ३७५ रुपैयाँ, एभोकाडो २७५ रुपैयाँ र नेपाली ड्रागन फ्रुट ५५० रुपैयाँ प्रतिकिलो रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

ध्यान दिनुपर्ने कुरा के हो भने यी कालीमाटीको थोक बजारका औसत मूल्य हुन्। खुद्रा बजारमा उपभोक्ताले खरिद गर्दा स्थान, पसल, गुणस्तर र ढुवानी खर्चअनुसार मूल्य थप महँगो हुन सक्छ।

आजका केही प्रमुख थोक मूल्य
कृषि उपज औसत मूल्य
ठूलो नेपाली गोलभेँडा रु. ६५
ठूलो भारतीय गोलभेँडा रु. ७५
सानो लोकल गोलभेँडा रु. ५०
रातो लाम्चो आलु रु. ५७.१७
भारतीय सुकेको प्याज रु. ८७.५०
लोकल गाजर रु. १२०
लोकल बन्दा रु. ५०
स्थानीय काउली रु. १२०
हाइब्रिड मूला रु. ५५
लाम्चो भन्टा रु. ५५
डल्लो भन्टा रु. ७५
तने बोडी रु. १३३.३३
मकै बोडी रु. ११३.३३
करेला रु. १३०
लौका रु. ९५
घिरौँला रु. ९५
भिन्डी रु. ८५
स्कुस रु. २५
पालुंगोको साग रु. १७५
कन्य च्याउ रु. २५७.५०
डल्ले च्याउ रु. ४७५
कुरिलो रु. ७५०
फुजी स्याउ रु. ३२५
नेपाली केरा रु. १७५ दर्जन
कागती रु. २५०
अनार रु. ३२५
किवी रु. ३७५
एभोकाडो रु. २७५
ड्रागन फ्रुट रु. ५५०

नोट : मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको थोक बजारको दैनिक मूल्यसूचीमा आधारित हो। खुद्रा बजारको मूल्य फरक हुन सक्छ।

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा क्यान अध्यक्ष चन्दले नेपाली खेलाडी पछिल्लो समय उच्च लयमा रहेकाले लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै टोलीलाई शुभकामना दिए।

लिग–२ अन्तर्गत नेपालले ओमानमा घरेलु टोली ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले असोज २५ गते क्यानडासँग पहिलो खेल खेल्नेछ। त्यसपछि असोज २७ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले असोज ३१ गते क्यानडासँग दोस्रो खेल तथा कात्तिक २ गते ओमानसँग पुनः खेल्ने तालिका छ।

विश्वकप क्रिकेट लिग–२ मा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने अभियानका लागि यो शृङ्खला महत्वपूर्ण मानिएको छ। त्यसैले ओमानमा हुने चार खेलमा नेपालको प्रदर्शनलाई विशेष चासोका साथ हेरिएको छ।

नारायणगढ (चितवन), १८ असोज । आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । भरतपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हिमाल गिरीले आँखाको स्वास्थ्यका लागि विशेषगरी ४० वर्ष उमेर पुगेपछि नियमित परीक्षण आवश्यक रहेको बताएका छन् ।

उनले भने, “आँखालाई सुरक्षित नियमित जाँच गरी समस्या पहिचान गर्नु प्रमुख आवश्यकता हो ।” उनका अनुसार उच्च रक्तचाप, मधुमेह र थाइराइडजस्ता रोगले आँखामा असर पार्न सक्ने भएकाले त्यस्ता समस्या भएका व्यक्तिले नियमित आँखा परीक्षण गराउनुपर्छ ।

आँखामा चोटपटक लाग्न सक्ने जोखिमयुक्त काम गर्ने व्यक्तिले सुरुदेखि सावधानी अपनाउनुपर्नेमा डा गिरीले जोड दिए । वेल्डिङलगायत काम गर्दा आँखामा चोट लागेमा घरमै बसेर उपचार गर्ने, आँखामा पानी छ्याप्ने वा मेडिकलबाट औषधि किनेर प्रयोग गर्नुभन्दा तत्काल आँखा उपचार केन्द्र वा अस्पतालमा सम्पर्क गर्न उनले सुझाव दिए ।

हाल मौसमी परिवर्तनका कारण हुने सिजनल एलर्जीबाट आँखामा चिलाउने, रातो हुने तथा आँसु आउने समस्या देखिन सक्ने उनले बताए । आँखा पाक्ने रोग सरुवा हुने भएकाले सङ्क्रमित व्यक्तिले प्रयोग गर्ने रुमाल, तौलिया, सिरानीलगायत व्यक्तिगत सामग्री अरूले प्रयोग गर्न नहुने उनको सुझाव छ ।

भरतपुर आँखा अस्पतालबाट तीन लाखभन्दा बढीलाई सेवा

नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत वर्ष आफ्ना विभिन्न सेवा केन्द्रमार्फत तीन लाखभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ ।

अस्पतालका बाह्य कार्यक्रम संयोजक एवं सूचना अधिकारी रमेश घिमिरेका अनुसार नेपाल नेत्रज्योति सङ्घका देशभर ४४ शाखामार्फत २८ वटा आँखा अस्पताल सञ्चालनमा छन् । चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल विशेष सेवासहितको केन्द्रीयकृत आँखा अस्पताल हो ।

उनले भरतपुरस्थित मुख्य अस्पतालमा दैनिक ७०० देखि ८०० जनासम्म बिरामी उपचारका लागि आउने गरेका जनाउँदै दैनिक ३० देखि ४० जनासम्मको आँखाको शल्यक्रिया हुने गरेको बताए । भरतपुरको ओरालोमा रहेको सिटी क्लिनिकबाट नेत्ररोग विशेषज्ञसहितको टोलीले दैनिक १०० देखि १५० जनासम्मलाई सेवा दिँदै आएको उनले जानकारी दिए ।

अस्पतालले पर्साको ठोरी र नवलपरासीको कावासोतीमा सेकेन्डरी आँखा अस्पताल सञ्चालन गर्दै आएको छ । ती अस्पतालमा मोतिबिन्दुको नियमित शल्यक्रिया हुने गरेको छ । सर्लाहीको ईश्वरपुर र नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित चोरमारामा सर्जिकल सेन्टर सञ्चालनमा छन्, जहाँ महिनामा एकपटक शल्यक्रिया सेवा दिइने गरिएको सूचना अधिकारी घिमिरेले उल्लेख गरे ।

चितवनका सात वटै पालिका तथा नवलपरासीका आठमध्ये सात पालिकासहित बारा, धादिङ र तनहुँका विभिन्न स्थानमा गरी २० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको घिमिरेले बताए । नवलपरासीको बुलिङटारमा पनि हालै आँखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको उनले जानकारी दिए ।

गत वर्ष अस्पतालका सबै सेवा केन्द्रमार्फत तीन लाखभन्दा बढीले आँखा उपचार सेवा लिएका र १५ हजारभन्दा बढीको शल्यक्रिया गरिएको उनले बताए । अस्पतालले समुदायमा आधारित सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब, विपन्न तथा असहाय बिरामीलाई लक्षित गरी निःशुल्क उपचारसमेत गर्दै आएको छन् । अस्पतालका अनुसार गत वर्ष करिब चार हजार ५०० जनाले निःशुल्क सेवा पाएका थिए ।

डा घिमिरेले भने, “हामी वर्षमा करिब ३० वटा स्थानमा पुगेर शल्यक्रिया शिविर गर्छौं भने करिब १५० वटा स्क्रिनिङ शिविर सञ्चालन गर्छौँ । स्क्रिनिङ शिविरबाट पहिचान भएका बिरामीलाई यहाँ ल्याएर शल्यक्रिया गर्छौँ ।” उनका अनुसार मोतिबिन्दुको एक व्यक्तिको शल्यक्रियामा अस्पतालको हिसाबले करिब रु नौ हजार खर्च हुने भए पनि सामाजिक उत्तरदायित्वअन्तर्गत लक्षित बिरामीको शल्यक्रिया निःशुल्क गर्ने गरिएको छ ।

अस्पतालले उपचार सेवासँगै आँखा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सम्बन्धनमा तीन वर्षे अप्थाल्मोलोजी तथा चार वर्षे ‘ब्याचलर इन अप्टोमेट्री’ अध्ययन हुँदै आएको छ । स्कुल अफ हेल्थ साइन्सको सहकार्यमा ‘डिप्लोमा इन अप्थाल्मिक असिस्टेन्ट’को पढाइसमेत सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सामाजिक अगुवा, विद्यालयका शिक्षक तथा स्वास्थ्य संस्थाका कर्मचारीलाई आँखा स्वास्थ्यसम्बन्धी आधारभूत तालिमसमेत दिइँदै आएको छ । दातृ संस्थाको सहयोगमा ५० वर्षभन्दा माथिका नागरिकको घरघरमै पुगेर आँखा परीक्षण गर्ने तथा आवश्यक परेका बिरामीलाई अस्पताल ल्याउने वा मोबाइल भ्यानमार्फत घरमै पुगेर सेवा दिने कार्यक्रमसमेत सञ्चालन भइरहेको घिमिरेले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।