२०८३ कार्तिक ४ मंगलवार
२०८३ कार्तिक ४ मंगलवार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–५ स्थित जनसुधार आधारभूत विद्यालयमा वृहत् निःशुल्क आँखा उपचार तथा परीक्षण शिविर सम्पन्न भएको छ।
ईन्द्रावती गाउँपालिका–५ को समन्वय तथा सहकार्यमा रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाको आयोजनामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा ज्येष्ठ नागरिक, बालबालिका, महिला, युवायुवती, शिक्षक–शिक्षिका तथा विद्यार्थी गरी ३ सयभन्दा बढीको आँखाको परीक्षण गरिएको आयोजकले जनाएको छ। शिविरको उद्घाटन ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गरेका थिए।
आँखा परीक्षणका क्रममा आधा दर्जनभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्था पहिचान भएको छ। पहिचान भएका बिरामीको बनेपास्थित आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने ईन्द्रावती गाउँपालिका–५ का वडाध्यक्ष शशिनाथ आचार्यले जानकारी दिए।
वडाध्यक्ष आचार्यका अनुसार प्रतिकूल मौसम र पहाडी भौगोलिक कठिनाइका बाबजुद शिविरमा स्वदेशी तथा विदेशी आँखा रोग विशेषज्ञ र चिकित्सकको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट आँखा परीक्षण तथा उपचार सेवा पाउँदा सर्वसाधारण लाभान्वित भएका थिए।
शिविर सफल बनाउन सहयोग गर्ने संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक, सूचना सम्प्रेषणमा सहयोग गर्ने सञ्चारकर्मी तथा वडा र गाउँपालिकासँग समन्वय गर्ने सबैप्रति वडाध्यक्ष आचार्यले आभार व्यक्त गरेका छन्।
समय अभाव, प्रतिकूल मौसम तथा भौगोलिक कठिनाइका कारण लौरो टेकेर सेवा लिन आएका केही ज्येष्ठ नागरिकसहित अन्य सेवाग्राहीलाई उपचार सेवा उपलब्ध गराउन नसकिएकोमा उनले दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन्।

काठमाडौँ । गोकर्णेश्वर–४, माकलबारीस्थित गोकर्णेश्वर लाइट एकेडेमीले शैक्षिक संस्थाका लागि तय गरिएको अन्तर्राष्ट्रिय मापदण्ड ISO 21001:2018 (Educational Organizations Management System–EOMS) प्रमाणीकरण प्राप्त गरेको छ।
गुणस्तरीय शिक्षण–सिकाइ प्रक्रिया, व्यवस्थित शैक्षिक प्रणाली तथा विद्यार्थीकेन्द्रित सेवाका लागि विद्यालयले उक्त अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो।
विद्यालयलाई अन्तर्राष्ट्रिय प्रमाणीकरण संस्था गार्जियन एसेसमेन्ट यूके लिमिटेड (Guardian Assessment UK Limited) ले ISO 21001:2018 प्रमाणपत्र प्रदान गरेको जनाएको छ।
प्रमाणीकरणको दायरामा प्रारम्भिक बाल विकासअन्तर्गत प्लेग्रुप तथा किन्डरगार्टेनदेखि माध्यमिक तह कक्षा १० सम्मको शैक्षिक तथा अतिरिक्त क्रियाकलाप समेटिएका छन्। त्यस्तै, विद्यार्थीको बौद्धिक, शारीरिक, सामाजिक तथा व्यक्तिगत विकास र सिकाइ सहयोग सेवासमेत प्रमाणीकरणको दायरामा रहेको विद्यालयले जनाएको छ।
ISO 21001:2018 शैक्षिक संस्थाहरूको व्यवस्थापन प्रणाली तथा शिक्षण–सिकाइको गुणस्तर सुधारमा केन्द्रित अन्तर्राष्ट्रिय मानक हो। यसले शैक्षिक संस्था सञ्चालनका प्रक्रिया, विद्यार्थी तथा अन्य सरोकारवालाको आवश्यकता सम्बोधन, शिक्षण–सिकाइ प्रणाली र निरन्तर सुधारलाई व्यवस्थित बनाउन सहयोग गर्ने मानिन्छ।
विद्यालयले ISO प्रमाणीकरण प्राप्त गर्नुले आफ्नो शैक्षिक प्रणालीलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, विद्यार्थीहरूले बालकेन्द्रित तथा सिकाइमैत्री वातावरणमा अध्ययन गर्ने अवसर पाउने विद्यालयको भनाइ छ।
विद्यालय प्रशासनले यो उपलब्धिको श्रेय शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूलाई दिँदै आगामी दिनमा पनि गुणस्तरीय, व्यावहारिक र विद्यार्थीकेन्द्रित शिक्षा प्रदान गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालन खर्च घटाउने रणनीति अघि बढाएसँगै पछिल्लो एक वर्षमा बैंकिङ तथा लघुवित्त क्षेत्रको शाखा सञ्जाल खुम्चिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असार मसान्तदेखि २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र लघुवित्तका कुल १९४ शाखा घटेका छन्।

२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्था र लघुवित्तका कुल ११ हजार ५२६ शाखा सञ्चालनमा थिए। २०८३ असार मसान्तसम्म आइपुग्दा यो संख्या घटेर ११ हजार ३३२ मा सीमित भएको छ।

शाखा कटौतीको सबैभन्दा ठूलो प्रभाव वाणिज्य बैंकहरूमा परेको छ। एक वर्षको अवधिमा वाणिज्य बैंकका मात्रै १५८ शाखा घटेका छन्। २०८२ असारमा ५ हजार ९९ शाखा रहेकोमा २०८३ असारसम्म यो संख्या ४ हजार ९४१ मा झरेको हो।

कम कारोबार भएका शाखा बन्द गर्दै बैंक

कर्जा विस्तारमा देखिएको सुस्तता, आम्दानीमा दबाब र सञ्चालन लागत बढ्दै गएपछि बैंकहरूले कम कारोबार भएका शाखाको पुनरावलोकन गर्न थालेका छन्। कतिपय शाखा बन्द गरिएका छन् भने केहीलाई नजिकका शाखासँग समायोजन तथा गाभेर सञ्चालन गर्न थालिएको छ।

पछिल्लो समय ग्लोबल आइएमई बैंकले धोबीघाट रिङरोड शाखालाई तीनकुने–कोटेश्वर शाखामा समायोजन गरेको छ। एनआईसी एशिया बैंकले डिल्लीबजार, लाजिम्पाट र क्षेत्रपाटी शाखा बन्द गर्ने प्रक्रिया अघि बढाउँदै त्यहाँ रहेका फर्निचर तथा अन्य सामग्री व्यवस्थापनका लागि लिलामी प्रक्रिया अघि बढाएको छ।

त्यस्तै, सिद्धार्थ बैंकले कुलेश्वर शाखालाई कालिमाटी शाखामा समायोजन गर्नुका साथै विभिन्न शाखा तथा विस्तारित काउन्टर बन्द गरेको छ। माछापुच्छ्रे बैंकले ठमेल, कलंकी, कोटेश्वर, खुसीबु, बालाजुलगायतका स्थानमा रहेका आठ शाखा बन्द गरेको छ।

ग्लोबल आइएमई, कुमारी, हिमालयन र प्रभुलगायतका बैंकहरूले पनि कारोबार, ग्राहक संख्या र व्यावसायिक सम्भावनाका आधारमा शाखा सञ्जाल पुनर्संरचना गरिरहेका छन्।

घरभाडा घटाउन घरधनीसँग पुनःसम्झौताको प्रयास

बैंकहरूको लागत कटौती शाखा बन्द वा समायोजनमा मात्रै सीमित छैन। शाखा सञ्चालन भइरहेका भवनको घरभाडा घटाउनसमेत बैंकहरूले घरधनीसँग पुनःसम्झौताको पहल थालेका छन्।

शाखाको कारोबार, नाफा, स्थान तथा ग्राहक आवागमनका आधारमा हाल कायम भाडामा १५ देखि ४० प्रतिशतसम्म कटौती गरी सम्झौता नवीकरण गर्न प्रस्ताव गरिएको बताइएको छ।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार डिजिटल बैंकिङको प्रयोग बढ्दै जाँदा ग्राहकको भौतिक शाखामाथिको निर्भरता क्रमशः घटिरहेको छ। यस्तो अवस्थामा कम कारोबार भएका शाखा सञ्चालनमा राख्दा बैंकको लागत बढ्ने भएकाले शाखाको व्यावसायिक क्षमताका आधारमा पुनर्संरचना गर्ने प्रवृत्ति बढेको हो।

शाखा विस्तारभन्दा लागत र उत्पादकत्वमा जोड

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म २० वाणिज्य बैंकसहित कुल १०५ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्।

पछिल्लो तथ्यांकले बैंकिङ क्षेत्र अब शाखा सञ्जाल विस्तारमा मात्र केन्द्रित नभई लागत नियन्त्रण, सञ्चालन दक्षता र शाखाको उत्पादकत्व बढाउने दिशामा अघि बढिरहेको देखाउँछ।

विशेषगरी कर्जा विस्तारमा अपेक्षित गति नआएको अवस्थामा बैंकहरूले आम्दानी र खर्चबीच सन्तुलन कायम गर्न शाखा सञ्जाललाई पुनर्संरचना गर्न थालेका हुन्। आगामी दिनमा पनि कम कारोबार भएका शाखा बन्द गर्ने, एकआपसमा समायोजन गर्ने तथा डिजिटल माध्यमबाट बैंकिङ सेवा विस्तार गर्ने क्रम अझ बढ्न सक्ने देखिन्छ।

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्‍याम्पवाका प्रस्तुत भएका छन् ।

मंगलबार साँझ सोल्टी होटलमा आयोजित र्‍याम्प वाकमा उनीहरूले नेपाली कला, संस्कृति, मौलिकता र फेसनको प्रतिनिधित्व गर्दै आकर्षक पहिरनमा र्‍याम्प वाक प्रस्तुत गरे ।

नेपालको कला, संस्कृति, भाषा, मौलिक पहिचान तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा प्रतियोगीहरूले नेपाली डिजाइनरहरूले तयार पारेका विशेष पहिरन लगाएर आफ्नो प्रस्तुति दिएका थिए ।

चार वटा विभिन्न रनमार्फत प्रस्तुत गरिएको उक्त रनवे शो लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी खेतान, युमी कुमारी चौधरी, आकृति पुन मगर, बिनिता मगर, दिव्या, रफिशा रोक्का, मोनिका, सृष्टि कुमारी थापा, विमल कुमार पुन, सृष्टिका शाक्य, दीप गौतम थापा, सोलमेट बुटिक, मसुली कुमारी चदार र हेमा जैगडी लगायतका डिजाइनरहरूले आकर्षक पहिरन तयार गरेका थिए ।

नेपाली सिर्जना, प्रतिभा र मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको ‘मिस युनिभर्स नेपाल २०२६’को विजेताले विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स २०२६’को अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

कार्यक्रम आयोजक संगीता पुरीले प्रतियोगिताको फाइनल छिट्टै आयोजना हुने जानकारी दिइन् ।

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्नुअघि विद्यार्थीलाई अनिवार्य रूपमा मनोसामाजिक परामर्श दिन सरकारले निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले सम्बन्धित स्थानीय तहलाई पत्र पठाउँदै बाढीका कारण विद्यार्थीमा परेको भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पहिचान गरेर आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै कक्षा सञ्चालन गर्न आग्रह गरेको हो।

शिक्षा विभागका निर्देशक नीलकण्ठ ढकालद्वारा जारी पत्रमा विपद्का कारण बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न सक्ने भन्दै उनीहरूको अवस्था बुझ्नु र आवश्यक परामर्श उपलब्ध गराउनु अपरिहार्य रहेको उल्लेख गरिएको छ।

विभागका अनुसार प्रभावित विद्यार्थीलाई मानसिक रूपमा सामान्य अवस्थामा फर्काउन सहयोग नगरी तत्कालै पठनपाठन सुरु गर्दा उनीहरूको सिकाइ क्षमता र मानसिक स्वास्थ्यमा थप नकारात्मक असर पर्न सक्ने जोखिम छ।

यसका लागि सम्बन्धित विद्यालय तथा स्थानीय तहले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गर्नुपर्नेछ। स्वास्थ्यकर्मीको सहयोगमा विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गरी आवश्यकताअनुसार परामर्श तथा अन्य सहयोग उपलब्ध गराउन विभागले निर्देशन दिएको छ।

विद्यार्थीहरू परामर्शपछि नियमित कक्षामा सहभागी हुन मानसिक रूपमा तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ। साथै, पठनपाठन सञ्चालन गर्दा सुरक्षित र बालमैत्री वातावरण सुनिश्चित गर्न पनि स्थानीय तह तथा विद्यालयलाई आग्रह गरिएको छ।

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच लामो समयपछि भारतमा उच्चस्तरीय भेटवार्ता हुने सम्भावना बढेको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी भारत जाने सम्भावना रहे पनि उनको भ्रमणबारे औपचारिक घोषणा भने भइसकेको छैन।

यदि भ्रमण भएमा सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंसात्मक झडपपछि सीको यो पहिलो भारत भ्रमण हुनेछ। उक्त घटनापछि दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्धमा ठूलो चिसोपन आएको थियो। संवाद र कूटनीतिक सम्पर्क घट्नुका साथै व्यापार तथा लगानीमा समेत असर परेको थियो।

पछिल्ला वर्षहरूमा भने दुवै देशले सम्बन्ध सुधारका लागि क्रमशः पहल गर्दै आएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा विदेशमन्त्री एस जयशंकरको तहबाट निरन्तर संवाद भइरहेको छ। लामो समयपछि उच्चस्तरीय व्यापार वार्ता हुनु तथा चीनबाट केही अत्यावश्यक उपकरण खरिदमा भारतले अनुमति दिनुले पनि सम्बन्ध सुधारको संकेत दिएको छ।

व्यापारतर्फ पनि भारत–चीन सम्बन्ध थप विस्तार भइरहेको छ। चिनियाँ भन्सार तथ्याङ्कअनुसार गत वर्ष दुई देशबीचको द्विपक्षीय व्यापार १२.४ प्रतिशतले बढेर १५५ अर्ब डलर पुगेको थियो। चालु वर्षको सुरुवाती सात महिनामै व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढेको बताइएको छ।

सीमा क्षेत्रमा समेत तनाव कम गर्ने प्रयास भइरहेको छ। सन् २०२४ मा दुवै देशले करिब ३ हजार ५०० किलोमिटर लामो विवादित सीमामा गस्ती पुनः सुरु गर्ने सहमति गरेका थिए। गलवान घटनापछि रोकिएको प्रत्यक्ष हवाई सम्पर्क पुनः सुरु हुनुका साथै कैलाश मानसरोवर यात्रा र हिमाली नाकाबाट हुने व्यापारसमेत पुनः सञ्चालनमा आएको छ।

भारत–चीन सम्बन्ध सुधारमा अमेरिकाको बदलिँदो विदेशनीतिको प्रभावसमेत देखिन थालेको विश्लेषण भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा भारत–अमेरिका सम्बन्धमा देखिएको उतारचढावलाई चीनले आफ्नो प्रभाव विस्तार गर्ने अवसरका रूपमा हेरेको विश्लेषकहरूको भनाइ छ। बेइजिङ भारतलाई अमेरिकाको प्रभावबाट केही टाढा राख्दै आर्थिक तथा रणनीतिक सम्बन्ध विस्तार गर्न चाहन्छ।

तर सम्बन्ध सुधार भए पनि भारत र चीनबीचको अविश्वास पूर्ण रूपमा हटिसकेको छैन। भारतले चीनलाई दीर्घकालीन रणनीतिक प्रतिस्पर्धीका रूपमा हेर्दै घरेलु उत्पादन र प्रविधिमा आत्मनिर्भर बन्न जोड दिइरहेको छ। त्यसैले सम्भावित मोदी–सी भेटले सम्बन्धमा नयाँ सुरुवातको वातावरण बनाए पनि सीमा विवाद, व्यापार असन्तुलन, प्रविधि र रणनीतिक प्रतिस्पर्धा जस्ता मुद्दा तत्काल समाधान हुने अवस्था भने देखिँदैन।

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरण सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउनका लागि परिवारका सबै सदस्यको ग्राहक पहिचान अद्यावधिक अनिवार्य गरेको छ।

बोर्डले आज बुधबार सूचना जारी गर्दै विगतमा प्रयोग हुँदै आएका कनेक्ट आइपीएस, इसेवा, खल्ती लगायतका विद्युतीय माध्यमबाट सोझै स्वास्थ्य बीमा नवीकरण गर्ने व्यवस्था बन्द गरिएको छ।

अब सम्पूर्ण बीमितहरूले अनिवार्य रूपमा बोर्डको आधिकारिक एचआइबी इपोर्टलमार्फत आफ्नो पुरानो बीमा विवरण सिङ्क गरी परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक गर्नुपर्नेछ।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले आफ्नै मन्त्रालयका कर्मचारीमाथि गम्भीर आरोप लगाएकी छन्। उनले कर्मचारीहरूले उद्योगी–व्यवसायीसँग मिलेमतो गरेर काम गर्ने र आफूले सुधारका लागि दिएको निर्देशनसमेत बेवास्ता गर्ने गरेको बताएकी हुन्।

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगीको स्वार्थअनुकूल विधेयक र कानुन बनाउने गरेको आरोप कर्मचारीमाथि लगाइन्। आफूले त्यस्ता प्रावधान परिवर्तन गर्न निर्देशन दिँदा कर्मचारीले पटक–पटक ‘मिल्दैन’ भन्दै असहयोग गर्ने गरेको उनको गुनासो थियो।

‘तपाईं १० चोटि भन्नुस्, मिल्दैन भनेर भन्छ। जे उद्योगीहरूले भन्छ, त्यही राख्न भन्छ,’ मन्त्री यादवले भनिन्। कर्मचारीतन्त्रकै असहयोगका कारण बलियो सरकार हुँदासमेत आफूले चाहेजस्तो सुधार गर्न नसकेको उनको दाबी छ।

मन्त्री यादवले नेपालमा ग्यास उद्योगको संख्या आवश्यकताभन्दा निकै बढी रहेको भन्दै ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको बताइन्। उनका अनुसार दुई वटासम्म ग्यास उद्योग भए पर्याप्त हुने र उद्योगको संख्या घटाएर आपूर्ति प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ।

ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूमाथि कडाइ गर्नुपर्ने धारणा राख्दै उनले भनिन्, ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।’ उनले आयल निगमको मातहतमा ग्यास उद्योग राख्नुपर्ने प्रस्तावसमेत अघि सारेकी छन्।

मन्त्री यादवले नेपाललाई ग्यास, तेल, कपडा, चिनी र खाद्यान्नजस्ता आधारभूत वस्तुमा आत्मनिर्भर बनाउनुपर्ने बताइन्। साथै, तयारी वस्तु आयात सस्तो हुने तर स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ महँगो पर्ने भन्सार नीतिका कारण नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसकेको भन्दै नीतिगत सुधार आवश्यक रहेको बताइन्।

कर्मचारीतन्त्र सुधार्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले लोक सेवाबाट आएका कर्मचारीको क्षमता सही दिशामा प्रयोग हुन नसकेको टिप्पणी गरिन्। ‘एक्लै तपाईं केही पनि गर्न सक्नुहुन्न। यो कर्मचारीतन्त्रलाई सुधार्नुपर्ने बेला आएको छ,’ उनले भनिन्।

अमेरिकी क्लब इन्टर मायमीका अर्जेन्टाइन स्टार फुटबलर लिओनल मेसीले स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब सिडी एल्डेन्सेको १०० प्रतिशत सेयर खरिद गर्ने सैद्धान्तिक सहमति गरेका छन्।

भविष्यमा स्पेनको क्याटालोनियामा बस्ने योजना बनाएका मेसीको यो कदमले स्पेनिस फुटबलमा उनको व्यापारिक उपस्थिति अझ मजबुत बनाउनेछ।

प्राविधिक तथा वित्तीय जाँच प्रक्रिया सकिएपछि कुनै तेस्रो पक्षको संलग्नताबिना नै मेसीले क्लबको शतप्रतिशत सेयर आफ्नो नाममा गर्नेछन्।

यो खरिद प्रक्रिया अहिले स्पेनको उच्च खेलकुद परिषद्बाट औपचारिक अनुमोदनको पर्खाइमा रहेको छ।

अलिकान्तेमा अवस्थित यस क्लबलाई अक्टोबर २०२५ मा पास्कुआल पेरेजबाट खरिद गरी व्यापारी जुआन कार्लोस ट्रुहियोको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय लगानी समूहले चलाइरहेको थियो।

अर्जेन्टिनी लगानीकर्ता रिकार्डो पिनीले १२ मिलियन युरोको प्रस्ताव राखे तापनि मेसीको अचानक आगमनले वार्तालाई अर्कै मोड दियो र उनी क्लबको स्वामित्व लिने होडमा अगाडि आए।

यसअघि मेसी परिवारले स्पेनको पाँचौँ डिभिजनको क्लब युई कोर्नेला खरिद गरिसकेको छ। यसबाहेक मेसीले आफ्ना निकट मित्र लुइस सुआरेजसँग मिलेर उरुग्वेको क्लब डेपोर्टिभो एलएसएम खरिद गरेका छन् भने उनका भाइ माटियास मेसी लायन्सएफसी को अध्यक्षका रूपमा कार्यरत छन्।

अहिले एल्डेन्से क्लब मैदानभित्र कठिन परिस्थितिबाट गुजरिरहेको छ]। सुरुआती चार खेलबाट मात्र २ अंक जोडेपछि क्लबले मुख्य प्रशिक्षक क्लाउडियो बारगानलाई बर्खास्त गरेको छ। नयाँ प्रशिक्षकको खोजी भइरहेका बेला मेसीको मुख्य सेयरधनीका रूपमा आगमनले क्लबलाई वित्तीय स्थायित्व र स्पष्ट रणनीतिक दिशा दिने अपेक्षा गरिएको छ।

नेपाल भलिबल फ्रेञ्चाइज लिगमा अन्नपूर्ण स्पाइकर किंग्सले तेस्रो जित हात पारेको छ।

आफ्नो चौथो खेलमा तेस्रो जित हात पार्ने क्रममा अन्नपूर्णले खप्तड फाल्कोन्समाथि ३-० को सोझो सेटमा जित निकालेको हो।

खप्तड भने लगातार चार खेलमा पराजित भएको छ। खप्तड लिगमा अझै जितविहीन छ।

अन्नपूर्णले खप्तडमाथि पहिलो सेट २५-१५ ले सजिलै जित्यो।

दोस्रो खेलमा पहिलो २५-१५ कै नतिजाका साथ अन्नपूर्ण सहज रुपले अघि बढ्यो।

तेस्रो सेट रोमाञ्चक हुँदा अन्नपूर्णले २९-२७ ले जित्दै खेल आफ्नो पक्षमा पार्‍यो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।