
काठमाडौं । गैरआवासीय नेपालीद्वारा स्थापित सानिमा हाइड्रो ग्रुपले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
ग्रुपले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरिएको जनाइएको छ।
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारलाई सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग गरिएको सानिमा हाइड्रो ग्रुपले जनाएको छ।
चेक हस्तान्तरण गर्दै ग्रुपले विपद्को यस कठिन अवस्थामा सरकारसँग एक्यबद्धता जनाउँदै प्रभावित नागरिकको सहयोगमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेको छ।
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश मातहत कार्यरत अस्थायी तथा करार कर्मचारीको तलबमान र प्रोत्साहन भत्तालाई व्यवस्थित तथा न्यायोचित बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार संघीय सरकारले गरेको तलब वृद्धि प्रदेश सरकारले समेत कार्यान्वयन गर्नुपर्ने भएकाले प्रदेश मातहतका अधिकृत ११औँ तहदेखि कार्यालय सहयोगीसम्मको तलबमान संघीय व्यवस्थासँग नबाझिने गरी यकिन गर्न कार्यदल गठन गर्न लागिएको हो।
त्यस्तै, अस्थायी तथा करार कर्मचारीले पाउने प्रोत्साहन भत्ताको रकममा देखिएको अन्योल हटाउन पनि कार्यदलले अध्ययन गर्नेछ। संघ तथा अन्य प्रदेशमा रहेको व्यवस्था अध्ययन गरी सबैलाई सन्तुलित, समान र न्यायोचित हुने गरी उपयुक्त व्यवस्था सिफारिस गर्ने जिम्मेवारी कार्यदललाई दिइने जनाइएको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत अस्थायी कर्मचारीहरूको सालबसाली दरबन्दीसमेत स्वीकृत गरेको छ।
बाख्रा र मत्स्य विकास केन्द्र मर्ज गर्ने निर्णय उल्टियो
यसैबीच, प्रदेश सरकारले बाख्रा विकास केन्द्र, चित्लाङ र मत्स्य विकास केन्द्र, कुलेखानीलाई गाभ्ने यसअघिको निर्णय उल्ट्याएको छ।
माछा र बाख्रा विकासको कार्यक्षेत्र फरक रहेको भन्दै दुवै कार्यालयलाई पूर्ववत् अवस्थामा फर्काएर छुट्टाछुट्टै रूपमा सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
यस निर्णयसँगै बाख्रा विकास केन्द्र, चित्लाङ र मत्स्य विकास केन्द्र, कुलेखानी पुनः अलग–अलग कार्यालयका रूपमा कायम हुने भएका छन्।
सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अस्पतालले बिहीबार विज्ञप्ति जारी गर्दै भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि ३० वर्षीया बबिता कुमारी पासवान अस्पताल आएको जनाएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको अस्पतालको भनाइ छ।
अस्पतालका अनुसार आवश्यक जाँचको रिपोर्ट उपलब्ध नभएकाले थप परीक्षण गराउन सुझाव दिइएको थियो। त्यसपछि बिरामी शय्यामा नरहेको अवस्थामा बिहान करिब पौने बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
प्रसूति भएपछि आमा र नवजात शिशुलाई पुनः प्रसूति वार्डमा ल्याइएको थियो। स्वास्थ्यकर्मीले नाल काट्नुका साथै आवश्यक उपचार तथा स्याहारका लागि अस्पतालमै बस्न आग्रह गरे पनि उनीहरू अस्पतालबाट बाहिरिएको प्रशासनले जनाएको छ।
हाल भने आमा बबिता कुमारी पासवान र नवजात शिशु दुवैलाई अस्पतालको बेड नम्बर २२ मा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ।
अस्पतालका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरूलाई आवश्यक उपचार, औषधि तथा स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने निर्णयसमेत अस्पतालले गरेको छ।
अस्पतालको मूल गेटबाहिरै प्रसूति हुनुपर्ने अवस्था सिर्जना भएको विषयलाई प्रशासनले ‘अत्यन्त संवेदनशील र गम्भीर’ रूपमा लिएको जनाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ।
छानबिनका क्रममा कुनै कर्मचारी वा सम्बन्धित पक्ष दोषी देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने अस्पतालले स्पष्ट पारेको छ। साथै, बाह्य छानबिन समिति गठन भएमा त्यसलाई आवश्यक सहयोग गर्ने पनि प्रशासनले जनाएको छ।
अस्पतालले वास्तविक तथ्य बाहिर नआएसम्म घटनाबारे संयमित हुन तथा सत्यतथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न सरोकारवाला र सर्वसाधारणलाई आग्रह गरेको छ।
धरान । इटहरी–१ निवासी ८ वर्षीया बालिका अश्वाना चौहानको सर्पदंशबाट भएको मृत्युको विषयमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्पष्टीकरण सार्वजनिक गरेको छ।
प्रतिष्ठानका अनुसार भदौ २४ गते साँझ ६ः४७ बजे देब्रे हातमा सर्पले टोकेपछि बालिकालाई उपचारका लागि बच्चा आकस्मिक कक्षमा ल्याइएको थियो।
आकस्मिक कक्षमा परीक्षण गर्दा बालिकाको अवस्था गम्भीर रहेको प्रतिष्ठानले जनाएको छ। उनको मुटुको धड्कन चलिरहेको र आफैँ श्वासप्रश्वास गरिरहेकी भए पनि उनी अर्धचेत अवस्थामा थिइन्। बोलाउँदा प्रतिक्रिया नदिने तथा आँखाले नहेर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ।
बालिकाको गम्भीर अवस्थालाई ध्यानमा राख्दै चिकित्सक टोलीले तत्काल आपत्कालीन उपचार सुरु गरेको प्रतिष्ठानले जनाएको छ।
उपचारका क्रममा चिकित्सकहरूले श्वासप्रश्वास सहज बनाउन इन्टुबेसन गर्नुपर्ने आवश्यकता रहेको विषयमा अभिभावकसँग परामर्श गरेका थिए। त्यसपछि एन्टी स्नेक भेनम (एएसभी) र नर्मल सलाइन सुरु गरिएको तथा अभिभावकको अनुमतिपछि बालिकालाई इन्टुबेट गरिएको प्रतिष्ठानको भनाइ छ।
उपचारकै क्रममा बालिकाको मुटुको धड्कन अचानक कम भएपछि चिकित्सक टोलीले तत्काल सिपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरेको थियो। त्यसपछि मुटुको धड्कन पुनः सामान्य अवस्थामा फर्किएको प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शमशेर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिष्ठानका अनुसार त्यसबेला बाल सघन उपचार कक्ष (पीसीआईयू) मा बेड उपलब्ध थिएन। बालिकाको ज्यान जोगाउन थप उच्चस्तरीय सघन उपचार आवश्यक रहेको भन्दै उक्त अवस्थाबारे आफन्तलाई जानकारी गराइएको थियो।
त्यसपछि सोही दिन साँझ ७ः१५ बजे अक्सिजनसहितको एम्बुलेन्समा ब्याग एन्ड मास्कमार्फत अक्सिजन दिँदै बालिकालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको प्रतिष्ठानले स्पष्ट पारेको छ।
प्रतिष्ठानले बालिकालाई अस्पताल ल्याउँदादेखि रिफर गर्दासम्म गरिएको उपचार तथा अपनाइएको प्रक्रियाबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिएको हो।
काठमाडौँ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने जानकारी दिए।
त्यस्तै, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुन नेपाली वार्ताटोली गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक ल्याउने तयारी
मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।
मिटरब्याजका कारण पीडित नागरिकलाई न्याय दिलाउन आवश्यक कानुनी व्यवस्था गर्न विधेयक निर्माणको बाटो खुलेको हो।
पाँच जिल्लाका १७ हजारभन्दा बढी गरिब परिवारको सूची स्वीकृत
भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा सरकारले पाँच जिल्लाका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ।
मन्त्री पोखरेलका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहमा रहेका गरिब घरपरिवारको सूची मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।
शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त
सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीसमेत नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार भक्तपुरका डा. हरिप्रसाद लम्साल आयोगको अध्यक्ष नियुक्त भएका छन्। त्यस्तै, मकवानपुरका रामशरण सापकोटा सदस्य तथा काठमाडौँकी विष्णु घिमिरे (रिमाल) महिला सदस्य नियुक्त भएका छन्।
दुई सहसचिव सचिवमा बढुवा, प्रदेश प्रमुख सचिवको जिम्मेवारी
मन्त्रिपरिषद्ले दुई सहसचिवलाई विशिष्ट श्रेणी अर्थात् सचिव पदमा बढुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ।
सहसचिव विनोदबहादुर कुँवरलाई सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ। अर्का सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।
यससँगै बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय भ्रमण, मिटरब्याज नियन्त्रण, गरिब घरपरिवारको सूची स्वीकृति, शिक्षक सेवा आयोगमा नियुक्ति तथा प्रशासनिक बढुवासहित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका छन्।
उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले साहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहले नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १६ हजार ५ सय ८७ मतको फराकिलो अन्तरले पराजित गरेका थिए। निर्वाचनमा साहले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दा कार्कीले २६ हजार १ सय ८४ मत पाएका थिए।
४९ वर्षीय साह पेसाले इन्जिनियर तथा ऊर्जा क्षेत्रका विज्ञ हुन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ मा जन्मिएका उनी हाल भक्तपुरको नयाँ थिमिमा बस्दै आएका छन्।
साहको राजनीतिक यात्रा जनमत पार्टीबाट सुरु भएको थियो। उनी उक्त पार्टीको उपाध्यक्षसम्म बनेका थिए। पार्टीभित्र गुटगत गतिविधि सञ्चालन गरेको तथा विधानविपरीत व्यवहार गरेको आरोपमा निलम्बनमा परेका साह पछि पार्टीबाट निष्कासित भएका थिए।
जनमत पार्टीबाट बाहिरिएपछि उनले नयाँ राजनीतिक पहिचान निर्माणका लागि जनस्वराज पार्टी गठनको प्रयास गरेका थिए। उक्त प्रयास सफल नभएपछि विषय अदालतसम्म पुगेको थियो। त्यसपछि नाम परिवर्तन गरी गत मंसिरमा सर्वोदय पार्टी दर्ता गराएर उनी अध्यक्ष बनेका थिए।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा रास्वपासँग सहकार्य गर्दै साह घण्टी चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका थिए। त्यसक्रममा उनले सुनसरी–४ बाट प्रभावशाली कांग्रेस नेता कार्कीलाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्।
शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिका हिसाबले साह पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक तथा प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका छन्।
उनले लामो समय जलविद्युत् परियोजनामा इन्जिनियर, ऊर्जा विशेषज्ञ तथा व्यवस्थापकका रूपमा काम गरेका छन्। जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण तथा नीति व्यवस्थापनमा समेत उनको अनुभव रहेको छ।
यसअघि उनले राष्ट्रिय सतर्कता केन्द्रमा टेक्निकल अडिटरका रूपमा काम गर्दै ऊर्जा परियोजनाको प्राविधिक मूल्यांकन, दक्षता परीक्षण तथा संस्थागत सुधारका क्षेत्रमा समेत योगदान दिएका थिए।
ग्रामीण विद्युतीकरण, सडक तथा आधारभूत पूर्वाधार विकास, सामुदायिक सशक्तीकरण र युवालाई प्राविधिक तालिम तथा स्वरोजगारतर्फ प्रेरित गर्ने काममा समेत साह सक्रिय रहँदै आएका छन्।
प्राविधिक तथा ऊर्जा क्षेत्रको अनुभव बोकेका साहका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने नयाँ चुनौतीका रूपमा आएको छ। विशेषगरी पूर्वमन्त्री यादवले ग्यास आपूर्ति व्यवस्थापनको विषयमा आलोचना खेप्दै राजीनामा दिएपछि साहमाथि देशभर ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्ने तत्कालीन दबाब रहेको छ।
नयाँ उद्योगमन्त्रीका रूपमा साहले ग्यास आपूर्ति व्यवस्थापनसँगै उद्योग क्षेत्रको समस्या समाधान, लगानी वातावरण सुधार, व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने विषयमा समेत काम गर्नुपर्नेछ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर आफ्नो राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
यसअघि बिहीबार नै ग्यास उद्योगीहरूलाई लक्षित गर्दै यादवले ‘पाता कस्नुपर्ने’ भन्दै दिएको विवादित अभिव्यक्ति सार्वजनिक भएको थियो। उक्त अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको थियो।
विवादित अभिव्यक्तिपछि नै मन्त्री यादवले राजीनामा दिएपछि उनको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरिसकेका छन् वा छैनन् भन्ने विषयमा भने थप विवरण सार्वजनिक हुन बाँकी छ।
काठमाडौं । घर निर्माण तथा खरिदका लागि बैंकबाट कर्जा लिन चाहने ग्राहकका लागि विभिन्न बैंकले फरक–फरक ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आएका छन्। उपलब्ध विवरणअनुसार केही बैंकको स्थिर ब्याजदर तुलनात्मक रूपमा कम देखिएको छ।
सार्वजनिक विवरणमा राष्ट्रिय वाणिज्य बैंकले २० वर्षसम्मका लागि स्थिर ब्याजदर ६ प्रतिशत राखेको देखिन्छ। त्यसैगरी एनआईसी एशिया बैंकले २५ वर्षसम्मको अवधिका लागि स्थिर ब्याजदर ६.८९ प्रतिशत कायम गरेको छ।
कृषि विकास बैंकको २० देखि २५ वर्षसम्मको अवधिका लागि स्थिर ब्याजदर १२.१५ प्रतिशत रहेको विवरणमा उल्लेख छ। नबिल बैंकको १० वर्षसम्मको स्थिर ब्याजदर ८.८९ प्रतिशत छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० वर्षभन्दा बढी अवधिका लागि स्थिर ब्याजदर ८.७५ प्रतिशत रहेको छ।
यस्तै, नेपाल बैंकले ८ देखि १० वर्षसम्मका लागि स्थिर ब्याजदर ७.८९ प्रतिशत तथा सानिमा बैंकले ३ वर्षभन्दा माथिको अवधिका लागि स्थिर ब्याजदर ११ प्रतिशत तोकेको विवरणमा देखिन्छ। माछापुच्छ्रे बैंकको १० वर्षभन्दा बढी अवधिको स्थिर ब्याजदर ९.५० प्रतिशत रहेको छ।
अन्य बैंकतर्फ प्रभु बैंकको ७ वर्षभन्दा बढी अवधिको स्थिर ब्याजदर ८.५० प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७.९९ देखि १०.९९ प्रतिशतसम्म र एभरेस्ट बैंकको ७ वर्षसम्मका लागि ७.२५ प्रतिशत स्थिर ब्याजदर रहेको विवरणमा उल्लेख छ।
६० लाख कर्जा लिँदा मासिक किस्ता कति?
दिइएको विवरणमा कर्मचारी सञ्चय कोषअन्तर्गत घर कर्जाको उदाहरणसमेत प्रस्तुत गरिएको छ। ८० लाख रुपैयाँ कर्जा २० वर्षका लागि लिँदा मासिक किस्ता ६० हजार ११८ रुपैयाँ र कुल ब्याज ६४ लाख २८ हजार रुपैयाँ देखाइएको छ। ६० लाख रुपैयाँ कर्जा लिँदा मासिक किस्ता ४५ हजार ८८८ रुपैयाँ, कुल ब्याज ४८ लाख २१ हजार रुपैयाँ र कुल तिर्नुपर्ने रकम करिब १ करोड ८ लाख रुपैयाँ हुने उल्लेख छ।
त्यस्तै, एनआईसी एशिया बैंकबाट ६० लाख रुपैयाँ २० वर्षका लागि कर्जा लिँदा मासिक किस्ता ४६ हजार ४८२ रुपैयाँ, कुल ब्याज ५१ लाख ५५ हजार रुपैयाँ र कुल भुक्तानी १ करोड ११ लाख ५५ हजार रुपैयाँ हुने विवरणमा उल्लेख छ। ८० लाख रुपैयाँ कर्जा लिँदा मासिक किस्ता ६१ हजार ९०० रुपैयाँ, कुल ब्याज ६८ लाख ७४ हजार रुपैयाँ र कुल भुक्तानी १ करोड ४८ लाख रुपैयाँ देखाइएको छ।
राष्ट्रिय वाणिज्य बैंकबाट ६० लाख रुपैयाँ २० वर्षका लागि कर्जा लिँदा मासिक किस्ता ५० हजार १८६ रुपैयाँ, कुल ब्याज ६० लाख ४४ हजार रुपैयाँ र कुल भुक्तानी १ करोड २० लाख ४४ हजार रुपैयाँ हुने विवरणमा उल्लेख छ। ८० लाख रुपैयाँ कर्जामा मासिक किस्ता ६६ हजार ९०० रुपैयाँ, कुल ब्याज ८० लाख ५९ हजार रुपैयाँ र कुल भुक्तानी १ करोड ६० लाख रुपैयाँ पुग्ने देखाइएको छ।
नोट: कर्जाको वास्तविक ब्याजदर, मासिक किस्ता तथा कुल भुक्तानी बैंकको पछिल्लो दर, कर्जाको प्रकार, अवधि र अन्य शुल्कअनुसार फरक पर्न सक्छ।
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्।
कम्पनीको २०८३ भदौ २४ गते बसेको सञ्चालक समितिको १९२औँ बैठकले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीले उपाध्यायको हालको कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुने भएकाले त्यसपछि लागू हुने गरी आगामी चार वर्षको दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।
निर्णयअनुसार उनको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि २०८७ कात्तिक ६ गतेसम्म रहनेछ।
कम्पनीले प्रमुख कार्यकारी अधिकृतको पुनर्नियुक्तिसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई समेत गराएको छ।
गोकर्णेश्वर नगरपालिका–८ स्थित लिबर्टी एकेडेमीको आयोजनामा प्रथम ‘लिबर्टी भोकल म्यानिया’ (Liberty Vocal Mania) सांगीतिक प्रतियोगिता सम्पन्न भएको छ।
विद्यार्थीमा रहेको सांगीतिक प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रारम्भिक चरणमा ८० जना विद्यार्थी सहभागी थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १७ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए। कडा प्रतिस्पर्धाका बीच मिङ्मा लामा प्रथम, गौरव तामाङ द्वितीय र लक्ष्मी तामाङ तृतीय हुन सफल भएका छन्।
लिबर्टी एकेडेमीका प्रिन्सिपल ओमप्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिग्मे मिडिया तथा डम्फु सेलोका निर्देशक सूर्य तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।प्रतियोगिताको निर्णायक मण्डलमा ‘द भ्वाइस अफ नेपाल सिजन–५’ का विजेता गायक दीपक लामा र संगीतकार जिग्ने दोङ रहनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सूर्य तामाङले विद्यार्थीहरूको सांगीतिक प्रतिभाको प्रशंसा गर्दै विद्यालय तहबाटै प्रतिभाको पहिचान र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। सो अवसरमा उहाँले प्रथम स्थान हासिल गर्ने मिङ्मा लामा र द्वितीय हुने गौरव तामाङलाई राष्ट्रियस्तरको डम्फु सेलो सांगीतिक प्रस्तुतिमा सहभागी गराउने विशेष घोषणा गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि एवं गोकर्णेश्वर नगरपालिका–८ का वडा सदस्य सुमन लामाले लिबर्टी एकेडेमी शिक्षा क्षेत्रमा मात्र नभई खेलकुद, संगीत र नृत्यलगायत अतिरिक्त क्रियाकलापमा समेत निरन्तर सक्रिय रहेको बताउनुभयो। यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।
विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका सभापति ओमप्रसाद ढकालले विद्यार्थीको शैक्षिक विकाससँगै सिर्जनात्मक क्षमता अभिवृद्धिलाई विद्यालयले सधैँ प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले खेलकुद, संगीत, नृत्यलगायतका अतिरिक्त क्रियाकलापलाई आगामी दिनमा अझ परिस्कृत रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।








