काठमाडौँ ।

बलेफी गाउँपालिका–४ फ्याफुल्ल युवा क्लब, डाँडागाउँमा बिहीबार आयोजित स्वास्थ्य शिविरबाट ६५३ जनाले सेवा लिएका छन्।
एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सञ्चालन गरिएको उक्त शिविर जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा बलेफी गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो।
शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले सामान्य चिकित्सा, बालरोग, नाक–कान–घाँटी, आँखा, दाँत तथा मुख स्वास्थ्य, क्षयरोग स्क्रिनिङ, एक्स–रे सेवा, स्त्री तथा प्रसूति, आयुर्वेद, स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो।
ग्रामीण भेगका तथा आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकेका बिरामीहरूले शिविरबाट प्रत्यक्ष लाभ लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले बताउनुभयो।
गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलरहनुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङ, प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत, वडा अध्यक्ष सुर्जे तामाङ तथा फ्याफुल्ल युवा क्लबका अध्यक्ष देबेन्द्र तामाङलगायतको उपस्थिति रहेको थियो।
यसअघि बुधबार जलविरेस्थित बलेफी गाउँपालिका–१ मा आयोजित स्वास्थ्य शिविरबाट ७६० जनाले सेवा लिएका थिए।











