काठमाडौं । माछापुच्छ्रे बैंकले जलविद्युत क्षेत्रमा आफ्नो लगानीलाई प्राथमिकतामा राख्दै हालसम्म करिब २८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रतिबद्धता जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाका अनुसार बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरेको छ। तीमध्ये १६ वटा आयोजनामा बैंकले नेतृत्वदायी बैंकका रूपमा सहवित्तीयकरणको नेतृत्व गरेको छ भने ९ वटा आयोजनामा एकल लगानी गरेको छ।
त्यस्तै, अन्य बैंकको नेतृत्वमा रहेका १५ वटा जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंक सदस्य बैंकका रूपमा सहभागी भएको छ। बैंकको जलविद्युत क्षेत्रमा हालसम्मको कर्जा प्रतिबद्धता करिब २८ अर्ब रुपैयाँ पुगेको छ भने करिब १५ अर्ब रुपैयाँ कर्जा बक्यौता रहेको सीईओ कोइरालाले जानकारी दिए।
बैंकको कुल कर्जा पोर्टफोलियोमा जलविद्युत क्षेत्रको हिस्सा करिब ९ प्रतिशत रहेको छ।
कोइरालाले जलविद्युत क्षेत्र बैंकको उच्च प्राथमिकतामा रहेको बताए। उनका अनुसार ऊर्जा क्षेत्रमा बैंकको उल्लेख्य लगानी र प्रतिबद्धताले जलविद्युत विकासमा बैंकको निरन्तर चासो र सहभागिता देखाउँछ।
यसैबीच, सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना निर्माणका लागि आवश्यक ऋण लगानी जुटाउन माछापुच्छ्रे बैंकको नेतृत्वमा सहवित्तीयकरण सम्झौता गरिएको हो।
वित्तीय व्यवस्थापन सम्झौतापछि आयोजना निर्धारित समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आफू र सहवित्तीयकरणमा सहभागी बैंकहरू प्रतिबद्ध रहेको सीईओ कोइरालाले बताए।
उनले आयोजना निर्माणमा बैंकको तर्फबाट लगानीको कमी नहुने स्पष्ट पार्दै प्रवर्द्धकले पनि सुरक्षा, गुणस्तर र समयसीमामा विशेष ध्यान दिनुपर्ने बताए।
‘यो आयोजना निर्धारित समयमै कुनै अवरोधबिना सञ्चालनमा आउनुपर्छ। बैंकको तर्फबाट लगानीमा कुनै कमी हुने छैन। प्रवर्द्धकले पनि सुरक्षा र गुणस्तरमा विशेष ध्यान दिई समयमै काम सम्पन्न गर्नुपर्छ,’ कोइरालाले भने।
जलविद्युत आयोजना निर्माणमा वित्तीय व्यवस्थापनसँगै पूर्वाधार सुरक्षा, प्राविधिक गुणस्तर र समयमै निर्माण सम्पन्न गर्ने विषयलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्ने बैंकको भनाइ छ।












