२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार

सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विशेष महाधिवेशन र त्यसबाट गगन थापालाई सभापतिको मान्यता दिने निर्णयविरुद्ध सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा प्राप्त भइसकेकाले आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

नेपाली कांग्रेस भक्तपुरले १३३औँ बीपी जयन्तीका अवसरमा बुधबार आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले पछिल्लो विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाएका हुन्। उनले विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको उचित सनाखत नगरिएको दाबी गरे।

देउवाका अनुसार कांग्रेसको विधानले विशेष महाधिवेशनको व्यवस्था गरे पनि त्यसका लागि सहभागी प्रतिनिधिहरूको पहिचान र वैधानिकता सुनिश्चित हुनुपर्ने हुन्छ। उनले विगतमा विशेष महाधिवेशन आयोजना गर्दा प्रतिनिधिहरूको पूर्ण सनाखत गरेर मात्रै सहभागी गराइएको उदाहरणसमेत प्रस्तुत गरे।

पछिल्लो विशेष महाधिवेशनमा भने आफूले प्रतिनिधिहरूको सनाखत गर्नुपर्ने विषय उठाउँदा बेवास्ता गरिएको देउवाको आरोप छ। आफू पार्टी सभापति रहेकै अवस्थामा जानकारी नदिई विशेष महाधिवेशन बोलाइएको उनको दाबी छ।

उनले विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरू वास्तविक पार्टी सदस्य तथा सम्बन्धित जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहबाट आएका हुन् कि होइनन् भन्ने यकिन गर्नुपर्नेमा त्यसो नगरिएको बताए।

देउवाले विशेष महाधिवेशनको निर्णयविरुद्ध आफूहरू निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुगेको जानकारी दिए। सर्वोच्च अदालतले निर्वाचन सम्पन्न भइसकेको अवस्थामा तत्काल हस्तक्षेप नगरे पनि आफूहरूले पुनरावलोकनका लागि निवेदन दिएको उनले बताए।

गगन थापालाई कांग्रेस सभापतिको मान्यता दिने निर्णयविरुद्ध पुनरावलोकनमा जान सर्वोच्च अदालतले निस्सा दिएको उल्लेख गर्दै देउवाले यसलाई आफ्नो पक्षको महत्वपूर्ण उपलब्धि भएको बताए।

‘निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसकेको छ,’ देउवाले भने।

उनले कांग्रेसको आधिकारिकता आफूहरूले प्राप्त गर्ने प्रक्रियालाई रोक्ने प्रयास भइरहेको आरोप पनि लगाए। तर आफूहरू कुनै पनि अवस्थामा पछि नहट्ने उनको भनाइ छ।

देउवाले सर्वोच्च अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको बताए। विगतमा पञ्चायतकालदेखि विभिन्न राजनीतिक परिस्थितिमा अदालतले आफूहरूलाई न्याय दिएको स्मरण गर्दै उनले अहिले पनि सर्वोच्चबाट न्याय पाउने विश्वास व्यक्त गरे।

अन्ततः नेपाली कांग्रेसको आधिकारिक रुख चिन्ह र चारतारे झण्डा आफूहरूले नै पाउने दाबी पनि देउवाले गरे।

‘सर्वोच्च अदालतप्रति मलाई विश्वास छ। जसरी निष्पक्ष रूपमा हामीलाई निस्सा दिएको छ, त्यसैगरी रुख चिन्ह र चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउनेछौँ,’ देउवाले भने।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।