काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा नेता वर्षमान पुन ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले को अभिव्यक्तिले संसदको गरिमा र सांसदहरूको सम्मानमाथि प्रश्न उठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्रीले सांसदहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्ति अस्वीकार्य रहेको बताउनुभयो। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा धम्कीपूर्ण शैली अपनाइनु लोकतान्त्रिक अभ्यास र संसदीय मर्यादाविपरीत भएको उहाँको भनाइ थियो।
पुनले करका दर हेरफेरसम्बन्धी विवादमा अर्थमन्त्रीले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँदै सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको बताउनुभयो। उहाँले विगतमा पनि यस्ता घटना भएको भए त्यसको समेत अनुसन्धान हुनुपर्ने धारणा राख्नुभयो।
उहाँले कुनै पनि बहानामा संसदलाई कमजोर बनाउने वा सांसदहरूको भूमिकालाई अवमूल्यन गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै सम्बन्धित विषयमा संसदीय समितिमार्फत विस्तृत छानबिन गर्न सरकारसँग माग गर्नुभयो।










