
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ६० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा ६० खर्ब १७ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।
गत असार मसान्तको तुलनामा कुल कर्जा लगानी ६२ अर्ब ८४ करोड ९९ लाख रुपैयाँले बढेको हो । यो १.१ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा कर्जा लगानी ०.६ प्रतिशतले मात्रै बढेको थियो ।
चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा व्यापार, उत्पादन, विद्युत्, निर्माण र सेवा क्षेत्रमा कर्जा प्रवाह बढेको छ । तर, कृषि तथा लघुवित्त क्षेत्रमा भने कर्जा घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
कुल कर्जामध्ये सबैभन्दा धेरै लगानी उपभोग्य क्षेत्रमा केन्द्रित छ । भदौ मसान्तसम्म यस क्षेत्रमा १३ खर्ब ६० अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कुल कर्जाको २२.६१ प्रतिशत हो ।
त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रमा १० खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ र उत्पादन क्षेत्रमा नौ खर्ब ४८ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
व्यापारमा कर्जा विस्तार, कृषि क्षेत्रमा संकुचन
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा थोक तथा खुद्रा व्यापार क्षेत्रमा मात्रै २५ अर्ब २४ करोड रुपैयाँ कर्जा थपिएको छ । यो असार मसान्तको तुलनामा २.५ प्रतिशतको वृद्धि हो ।
व्यापार क्षेत्रभित्र अटोमोबाइल डिलर तथा फ्रेन्चाइज व्यवसायमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको छ । आयात व्यापारका लागि प्रवाह हुने कर्जामा पनि ६.८ प्रतिशतको वृद्धि देखिएको छ ।
यसको विपरीत कृषि क्षेत्रमा कर्जा प्रवाह नौ अर्ब २१ करोड २६ लाख रुपैयाँले घटेको छ । यो २.२ प्रतिशतको गिरावट हो । भदौ मसान्तसम्म कृषि क्षेत्रमा चार खर्ब एक अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
कृषि क्षेत्रभित्र बालीनाली तथा कृषि सेवाका लागि प्रवाह गरिएको कर्जा पनि ३.९ प्रतिशतले घटेको छ । उत्पादनशील क्षेत्रका रूपमा महत्त्वपूर्ण मानिने कृषिमा कर्जा घट्नुले यस क्षेत्रमा बैंकिङ स्रोतको परिचालन कमजोर भएको देखाउँछ ।
उत्पादन क्षेत्रमा १८ अर्बभन्दा बढी लगानी थपियो
कृषि क्षेत्रमा कर्जा घट्दा उत्पादन क्षेत्रमा भने लगानी बढेको छ । दुई महिनामा उत्पादन क्षेत्रमा १८ अर्ब सात करोड ६६ लाख रुपैयाँ कर्जा थपिएको छ ।
खाद्यान्न उत्पादनका लागि प्रवाह भएको कर्जा मात्रै आठ अर्ब ९७ करोड १० लाख रुपैयाँले बढेको छ । यो ४.५ प्रतिशतको वृद्धि हो ।
विद्युत् क्षेत्रमा नौ अर्ब ४२ करोड २५ लाख रुपैयाँ र निर्माण क्षेत्रमा १० अर्ब २१ करोड ३० लाख रुपैयाँ कर्जा थपिएको छ । विद्युत् क्षेत्रमा कर्जा प्रवाह १.९ प्रतिशत र निर्माण क्षेत्रमा ३.७ प्रतिशतले बढेको हो ।
भदौ मसान्तसम्म विद्युत् क्षेत्रमा पाँच खर्ब १४ अर्ब १० करोड रुपैयाँ तथा निर्माण क्षेत्रमा दुई खर्ब ८४ अर्ब ५३ करोड रुपैयाँ कर्जा पुगेको छ । आवासीय भवन निर्माण र ठूला पूर्वाधार आयोजनामा प्रवाहित कर्जासमेत बढेको छ ।
सुनचाँदी र क्रेडिट कार्ड कर्जामा वृद्धि
उपभोग्य क्षेत्रमा प्रवाह हुने कर्जा दुई महिनामा तीन अर्ब २४ करोड ६५ लाख रुपैयाँले बढेको छ । यद्यपि, यो वृद्धि ०.२ प्रतिशत मात्रै हो ।
सुनचाँदी धितो राखेर लिइने कर्जा चार अर्ब ४२ करोड ६३ लाख रुपैयाँले बढेर एक खर्ब ३२ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, क्रेडिट कार्डमार्फत प्रवाह हुने कर्जा ६.६ प्रतिशतले बढेर आठ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
व्यक्तिगत सवारीसाधन खरिद, शिक्षा, आवासीय घर तथा अन्य व्यक्तिगत आवश्यकताका लागि प्रवाह हुने कर्जा पनि बढेको छ ।
लघुवित्तको कर्जा २७ अर्बभन्दा बढी घट्यो
कर्जा प्रवाहमा सबैभन्दा ठूलो संकुचन लघुवित्त क्षेत्रमा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा यस क्षेत्रमा प्रवाहित कर्जा २७ अर्ब ७३ करोड तीन लाख रुपैयाँले घटेको छ । यो १३.२ प्रतिशतको गिरावट हो ।
भदौ मसान्तसम्म लघुवित्त क्षेत्रमा कुल एक खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
यता, सेवा क्षेत्रमा भने १३ अर्ब ६४ करोड आठ लाख रुपैयाँ कर्जा थपिएको छ । यो २.७ प्रतिशतको वृद्धि हो । भदौ मसान्तसम्म सेवा क्षेत्रमा पाँच खर्ब २३ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसअन्तर्गत होटल व्यवसायमा मात्रै दुई खर्ब ३४ अर्ब पाँच करोड रुपैयाँ कर्जा पुगेको छ ।
घरजग्गा क्षेत्रमा पनि कर्जा लगानी सामान्य बढेको छ । दुई महिनामा यस क्षेत्रमा दुई अर्ब ७९ करोड १९ लाख रुपैयाँ कर्जा थपिँदा कुल कर्जा एक खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
समग्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढे पनि क्षेत्रगत अवस्था फरक देखिएको छ । व्यापार, उत्पादन, निर्माण र विद्युत् क्षेत्रमा कर्जा विस्तार हुँदा कृषि तथा लघुवित्त क्षेत्रमा गिरावट आएको छ ।






