
काठमाडौं । काठमाडौंको थलीमा ‘दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३’ आयोजना हुने भएको छ। स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ९ गतेदेखि १८ गतेसम्म महोत्सव सञ्चालन गर्न लागिएको हो।
श्री सांस्कृतिक मेला महोत्सव तथा बाल उद्यान सञ्चालन केन्द्र प्रालिको आयोजनामा हुने महोत्सव थली चौरमा सञ्चालन हुनेछ। महोत्सवको तयारी भइरहेको आयोजकले जनाएको छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिनेछ। बालबालिका तथा परिवारलाई लक्षित गर्दै रोटेपिङ, ट्रेन गेम्स, एनिमल राइड्स, टिकटक सेल्फी जोन, बेलुन बाउन्स हाउस तथा विभिन्न कार्टुन क्यारेक्टरसमेत आकर्षणका रूपमा रहनेछन्।
त्यसैगरी, महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, खानाका परिकार तथा विभिन्न व्यापारिक वस्तुका स्टलहरू राखिनेछन्। यसले स्थानीय व्यवसायीलाई आफ्ना उत्पादन तथा सामग्रीको प्रचारप्रसार र बिक्री गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
स्टल बुकिङ खुला
महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको आयोजकले जनाएको छ। स्टल बुकिङ तथा थप जानकारीका लागि अरविन्द जैसवाललाई ९८१०२४२५१३ वा ९८६८०५५३६४ मा सम्पर्क गर्न सकिनेछ। आयोजकका अनुसार स्टल बुकिङ गर्दा कुल रकमको ५० प्रतिशत अग्रिम बुझाउनुपर्नेछ।
स्थानीय व्यापार, कला, संस्कृति र पर्यटनलाई प्रवर्द्धन गर्दै मनोरञ्जनको अवसर प्रदान गर्ने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवमा सहभागी भई सफल बनाउन आयोजकले सबैमा आग्रह गरेको छ।
देविस्थान युवा क्लबको आयोजनामा विजया दशमी, दीपावली तथा छठ पर्व २०८३ को अवसरमा आयोजित हेलम्बु गाउँपालिकास्तरीय खुला फुटबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि आयोजक टिम ‘बी’ ले जितेको छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको फाइनल खेल हेलम्बु–५ र आयोजक टिम ‘बी’ बीच भएको थियो । फाइनलमा हेलम्बु–५ लाई पछि पार्दै आयोजक टिम ‘बी’ ले उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो भने आयोजक भूमेस्थान युवा क्लब ‘ए’ तेस्रो भएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ८० हजार, ४० हजार र २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
समापन कार्यक्रममा बोल्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले खेलकुद र खेलाडीको विकासका लागि हरेक वर्ष विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । हेलम्बुमा हालसम्म सुविधासम्पन्न खेलमैदानको अभाव रहेको उल्लेख गर्दै उहाँले खेलमैदान निर्माणका लागि सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।
अध्यक्ष शेर्पाले हेलम्बुको इतिहास, गौरव, नाम र सम्मान कायम राख्दै अझ उच्च बनाउन खेलकुद क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । खेलकुदले स्थानीय युवाको प्रतिभा प्रस्फुटन गर्न, अनुशासन विकास गर्न र गाउँपालिकाको पहिचान स्थापित गर्न सहयोग पुर्याउने उहाँको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक क्षिरिङ लामाले फुटबल, भलिबल, कराते, उस्सु लगायतका खेललाई हेलम्बुले प्राथमिकतामा राख्दै आएको बताउनुभयो। खेलकुद क्षेत्रको थप विकासका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।
समापन समारोहमा हेलम्बु गाउँपालिका वडा नं. ७ का अध्यक्ष निलबहादुर तामाङ, वडा नं. ५ का अध्यक्ष दीपकुमार तामाङ र वडा नं. २ का अध्यक्ष पेम्बा ह्योल्मो लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगिताको समापनलाई थप मनोरञ्जनात्मक बनाउन लोकगायक प्रदीप रोक्का, स्मृति गौतम र जितु लोप्चनलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिनुभएको थियो। कार्यक्रमको सहजीकरण सुनिता लुम्बा र श्याम शर्मा लामिछानेले गर्नुभएको थियो ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजित प्रतियोगिताले हेलम्बुको खेलकुद गतिविधिलाई थप प्रोत्साहन गरेको आयोजकले जनाएको छ ।






