२०८३ आश्विन ११ आईतवार
२०८३ आश्विन ११ आईतवार

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किनुभएको छ।

​गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो।

​भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहिबेर अघि अवतरण गर्नुभएको हो।
भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दैछ।

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट ईश्वरी प्रसाद न्यौपानेले केन्द्रीय महाधिवेशन प्रतिनिधि (श्रमिक कोटा) तर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ।
न्यौपानेले ‘श्रमको सम्मान गरौँ, श्रमशक्ति नै राष्ट्र शक्ति हो’ भन्ने नारासहित उम्मेदवारी घोषणा गर्नुभएको हो। उहाँले आफ्नो उम्मेदवारीमार्फत श्रमिक वर्गको प्रतिनिधित्व गर्ने बताउनुभएको छ।
उम्मेदवारी घोषणा गर्दै न्यौपानेले नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याउनुभएको छ। पार्टीको संगठनात्मक प्रक्रियामा श्रमिक समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने उहाँको भनाइ छ।
महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई निर्वाचित गराउन न्यौपानेले क्षेत्र नं. २ अन्तर्गतका पार्टी प्रतिनिधि, कार्यकर्ता तथा मतदातासँग मत माग्नुभएको छ।
उहाँले आफ्नो उम्मेदवारीलाई श्रमिक कोटाबाट पार्टीको महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रयासका रूपमा अघि सार्दै समर्थन र मतका लागि अपिल गर्नुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै सिन्धुपाल्चोकमा पनि महाधिवेशन प्रतिनिधि चयनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम अघि बढेको छ। क्षेत्र नं. २ बाट न्यौपानेको उम्मेदवारीसँगै श्रमिक कोटातर्फको प्रतिस्पर्धा पनि चर्चामा आएको छ।

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को खस–आर्य कोटातर्फ मणिलोचन न्यौपानेले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आदर्श मान्दै न्यौपानेले नेपाली कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो र सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
‘सबल नेपाली कांग्रेस, समृद्ध नेपाल’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका न्यौपानेले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने, संगठनमा न्याय र समानता कायम गर्ने तथा नयाँ पुस्ताको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेका छन्।
उनले सिन्धुपाल्चोक क्षेत्र नं. २ का कार्यकर्ताको भावना र आवाजलाई पार्टीको जिल्ला, प्रदेश हुँदै केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
न्यौपानेका प्रमुख एजेन्डामा पार्टी संगठनको सुदृढीकरण, आन्तरिक लोकतन्त्रको संरक्षण, निष्पक्षता, युवा सहभागिता र समावेशी प्रतिनिधित्व रहेका छन्।
महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्दै न्यौपानेले सिन्धुपाल्चोक क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन मतदातासमक्ष आफूलाई मत दिएर विजयी गराउन अपिल गरेका छन्।

मेलम्ची ब्याडमिन्टन एकेडेमीले स्थापनाको १४ वर्षपछि नयाँ नेतृत्व पाएको छ । तेस्रो अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपराज तामाङ, सचिवमा सुरेन श्रेष्ठ, सहसचिवमा लक्ष्मण बिष्ट, कोषाध्यक्षमा सिताराम दुलाल र सहकोषाध्यक्षमा सैलेश खड्का चयन हुनुभएको छ । सदस्यहरूमा क्रान्ती तामाङ, नारायण सापकोटा, राममणी गौतम, किसन दुलाल र रुद्रशरण श्रेष्ठ निर्वाचित हुनुभएको ऋषि नेपालले जानकारी दिनुभयो ।
त्यस्तै, लेखा समितिको संयोजकमा दिपेन्द्र दुलाल तथा सदस्यमा राजु सापकोटा र सुदर्शन दुलाल चयन हुनुभएको छ । कार्यक्रम कुमार सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नवनिर्वाचित अध्यक्ष नारायणलाल श्रेष्ठले मेलम्ची ब्याडमिन्टन एकेडेमीको संस्थागत विकास, खेलाडी उत्पादन र खेल क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले एकेडेमीले हालसम्म बनाएको पहिचान र प्रतिष्ठालाई अझ उचाइमा पुर्‍याउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
एकेडेमीका निवर्तमान अध्यक्ष कुमार सापकोटाले १४ वर्षको यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण खेलाडी, सदस्य तथा प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मेलम्ची ब्याडमिन्टनको इज्जत र प्रतिष्ठा जोगाउँदै नयाँ नेतृत्वले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै आफू आगामी दिनमा पनि एकेडेमीको साथमा रहने बताउनुभयो ।
त्यस्तै, सचिव ऋषि नेपालले दोस्रो अधिवेशनमै आफू जिम्मेवारीबाट मुक्त हुन चाहेको भए पनि कभर्डहल निर्माण सम्पन्न गरेर मात्र जिम्मेवारी हस्तान्तरण गर्न प्रतिनिधिहरूले आग्रह गरेको स्मरण गर्नुभयो । लामो समयको प्रयासपछि कभर्डहल निर्माण सम्पन्न भएसँगै जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा आफू खुसी भएको उहाँले बताउनुभयो ।
मेलम्ची ब्याडमिन्टन एकेडेमीले २०७८ सालमा औपचारिक रूपमा दर्ता हुनुअघि नै ‘मेलम्ची ब्याडमिन्टन टिम’ का रूपमा गतिविधि सञ्चालन गर्दै आएको थियो । अध्यक्ष कुमार सापकोटा र सचिव ऋषि नेपालको नेतृत्वमा १४ वर्षदेखि निरन्तर गतिविधि सञ्चालन हुँदै आएको एकेडेमीले कभर्डहल निर्माणसँगै विभिन्न प्रतियोगिता आयोजना तथा खेलाडी उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ ।
खेलकुदको क्षेत्रमा मात्र नभई एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत पीडित तथा असहायलाई सहयोग गर्नुका साथै बाढीपहिरो तथा विपद्का समयमा प्रभावितलाई समेत सहयोग गर्दै आएको जनाइएको छ ।
यसैबीच, दशैँ र तिहारको बीचमा जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ । उक्त प्रतियोगिताको अवसरमा निवर्तमान कार्यसमितिको औपचारिक बिदाइ तथा नवनिर्वाचित कार्यसमितिको पदस्थापन गर्ने तयारीसमेत गरिएको छ ।

सिन्धुपाल्चोक — नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनका लागि सुप्रिया चालिसेले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले ‘युवा महिला’ कोटा तर्फबाट आफ्नो सशक्त दावेदारी प्रस्तुत गर्नुभएको हो।

नेपाली कांग्रेसको आधारभूत सिद्धान्त ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ प्रति पूर्ण प्रतिबद्धता जनाउँदै चालिसेले राष्ट्रिय राजनीतिमा युवा तथा महिलाहरूको सशक्त र अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न आफू चुनावी मैदानमा होमिएको उहाँले बताउनुभएको छ।

पारिवारिक तथा राजनीतिक विरासतलाई आत्मसाथ गर्दै अघि बढ्नुभएकी चालिसेको उम्मेदवारीलाई पार्टीका पुराना, अनुभवी नेताका साथै युवा कार्यकर्ताहरूले निकै उत्साहजनक रूपमा लिएका छन्। वर्तमान राजनीतिमा युवा नेतृत्वको खाँचो महसुस भइरहेको अवस्थामा उहाँको उपस्थितिले पार्टी संगठनलाई थप ऊर्जा र गति प्रदान गर्ने विश्वास लिइएको छ।

सिन्धुपाल्चोक क्षेत्र नं. २ का कांग्रेस कार्यकर्ताहरूमाझ लोकप्रिय चालिसेले आफ्नो उम्मेदवारीले स्थानीय तहका युवा र महिलाहरूको आवाजलाई केन्द्रीय नीति निर्माण तहसम्म पुर्‍याउन पुलको काम गर्ने स्पष्ट पार्नुभएको छ। महाधिवेशनको माहोल तात्दै गर्दा उहाँले क्षेत्रभित्र आफ्नो प्रचारप्रसार, भेटघाट र कार्यकर्ता माझको सम्वादलाई थप तीव्र बनाउनुभएको छ।

सिन्धुपाल्चोक, असोज १० — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा वंशलाल तामाङले उम्मेदवारी दिने भएका छन्
चार दशकभन्दा लामो राजनीतिक यात्रा बोकेका तामाङले २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। नेपाल विद्यार्थी संघको इकाइ सभापतिदेखि जिल्ला अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनले २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलनलगायत लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। आन्दोलनका क्रममा उनले पटक–पटक गिरफ्तारी र नजरबन्दसमेत व्यहोरेका थिए।
कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सदस्य, जिल्ला सचिव, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हालिसकेका तामाङ २०७४ सालमा इन्द्रावती गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। उनले गाउँपालिका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारीसमेत सम्हालेका थिए।
तामाङ १४औँ महाधिवेशनबाट महासमिति सदस्य बनेका थिए। यसअघि उनी नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत बनेका थिए।
पार्टी संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र जनप्रतिनिधिका रूपमा प्राप्त अनुभवलाई आधार बनाउँदै तामाङले १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा उम्मेदवारी दिएका छन्।

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट अनुप न्यौपानेले खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका छन्
पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै न्यौपानेले महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्। उनले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र चलायमान बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।
न्यौपानेले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग सहकार्य गर्दै संगठनको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्रको आपसी एकता, कार्यकर्ताको सम्मान र सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताएका छन्।
त्यस्तै, स्थानीय तहदेखि जिल्ला र केन्द्रसम्म पार्टी संगठनलाई थप मजबुत बनाउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्दै न्यौपानेले आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
महाधिवेशन प्रतिनिधिको निर्वाचनमा क्षेत्र नं. २ का कांग्रेस प्रतिनिधिहरूको मत महत्वपूर्ण हुने भएकाले न्यौपानेले आफ्नो उम्मेदवारीलाई सहयोग गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।
उनले आफूलाई प्राप्त हुने जिम्मेवारीबाट निराश नबनाउने र पार्टी तथा संगठनको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी महाधिवेशनसँगै कांग्रेसको संगठनात्मक गतिविधि तीव्र भइरहेका बेला क्षेत्र नं. २ बाट न्यौपानेको उम्मेदवारी पनि चर्चामा आएको छ।

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकमा प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन मेलम्चीमा हुँदैछ। अधिवेशनको मिति नजिकिँदै जाँदा विभिन्न तहको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ।
यसैक्रममा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘क’को सभापति पदका लागि देव कोइरालाले उम्मेदवारी घोषणा गरेका छन्।
कोइरालाले सुशासन, विकास, समावेशी समृद्धि, प्रविधिमैत्री कांग्रेस र चुनौतीपूर्ण परिस्थितिमा सशक्त संगठन निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
कुनै समय बाडेगाउँ क्षेत्रमा नेपाली कांग्रेसको संगठन कमजोर रहेको स्मरण गर्दै कोइरालाले आफूले कठिन परिस्थितिबाट कांग्रेसको राजनीति अघि बढाएको बताएका छन्। उनका अनुसार २०५१ सालको निर्वाचनमा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार विनोद मोक्तानको चुनावी प्रचारमा सक्रिय हुँदा आफूले राजनीतिक दबाब र अवरोधसमेत सामना गर्नुपरेको थियो।
उनले त्यसबेला कांग्रेसको पक्षमा खुलेर लाग्दा आफ्नो घरमाथि ढुंगामुढा तथा धम्की आउने गरेको स्मरण गरेका छन्।
कोइरालाका अनुसार आफ्नो क्षेत्रमा कांग्रेसको संगठन कमजोर भए पनि उनले पार्टीको राजनीति छाडेनन्। २०५३ सालमा उनी ऐसेलुखर्क माध्यमिक विद्यालयको इकाई सभापति बनेका थिए।
‘त्यतिबेला हाम्रो भेगमा कांग्रेसको संगठन थिएन। आफू एक्लै भए पनि कांग्रेसमा लागिरहेँ। अहिले धेरै जना कांग्रेसमा जोडिनुभएको छ,’ उनले भने, ‘सबैको सहयोग पाउनेमा विश्वस्त छु।’
लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय कोइराला २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट इन्द्रावती गाउँपालिका–६ को वडाध्यक्ष पदका प्रत्यासीसमेत थिए।
हाल उनी नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य छन्। उनी सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘क’को महाधिवेशनमा लोकप्रिय मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित भएका थिए।
प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्दै कोइरालाले बदलिँदो राजनीतिक परिवेशअनुसार कांग्रेसको संगठनलाई थप व्यवस्थित, सशक्त र जनमुखी बनाउनुपर्ने बताएका छन्। उनले पार्टी संगठनलाई डिजिटल माध्यम र प्रविधिसँग जोड्दै नयाँ पुस्ताको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।
‘सुशासन र विकाससँगै सबै समुदायको समान सहभागिताबाट समावेशी समृद्धि हासिल गर्नुपर्छ। बदलिँदो समयसँगै कांग्रेसलाई प्रविधिमैत्री बनाउन आवश्यक छ,’ कोइरालाले भने, ‘चुनौतीपूर्ण अवस्थामा संगठनलाई थप सशक्त र एकताबद्ध बनाएर जनताको विश्वास जित्ने मेरो लक्ष्य हो।’
बाडेगाउँमा कांग्रेसको संगठन कमजोर रहेको समयदेखि नै पार्टीमा सक्रिय रहँदै आएका कोइरालाले आफ्नो लामो राजनीतिक यात्रा, संगठन निर्माणको अनुभव र नयाँ पुस्ताको अपेक्षालाई प्रदेश नेतृत्वसँग जोड्न उम्मेदवारी दिएको बताएका छन्।

बनेपा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट ई. विजय गौतमले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘राजनीति र प्रविधि—It’s time for a TechnoPolitics’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका गौतमले प्रविधि, नीति र नयाँ पुस्ताको सोचलाई पार्टी संगठनसँग जोड्ने आफ्नो उद्देश्य रहेको बताएका छन्।
प्रविधि क्षेत्रमा लामो अनुभव हासिल गरेका गौतम विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलमा इन्फर्मेशन सेक्युरिटी आर्किटेक्टका रूपमा कार्यरत रहिसकेका छन्। त्यसअघि उनले क्वालकममा समेत काम गरेका थिए। नेपाल फर्किएपछि शिक्षा, गृह, सञ्चार तथा भौतिक पूर्वाधारलगायत विभिन्न मन्त्रालयअन्तर्गतका सरकारी सल्लाहकार तथा अध्ययन समितिमा समेत संलग्न भएको उनले बताएका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारीसँगै गौतमले पार्टीको विधान र संगठनात्मक संरचनामा समयसापेक्ष सुधारलाई मुख्य एजेन्डा बनाएका छन्। नेपाली कांग्रेसको मूल सिद्धान्तलाई आत्मसात् गर्दै वर्तमान विधानलाई थप व्यावहारिक, लचिलो र बदलिँदो परिस्थितिअनुकूल बनाउन महाधिवेशनको सर्वोच्च मञ्चमा स्पष्ट र निर्भीक आवाज उठाउने उनको प्रतिबद्धता छ।
पार्टीका हरेक तहमा निर्णय प्रक्रिया पारदर्शी र समावेशी बनाउँदै तल्लो तहका कार्यकर्ताको भावना प्रतिबिम्बित हुने गरी आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
गौतमले व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठेर नीति, सिद्धान्त र कार्यकर्ताको मूल्याङ्कनका आधारमा पार्टी सञ्चालन गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन्। त्यसका लागि आवश्यक व्यवस्था पार्टी विधानमै स्पष्ट गर्न पहल गर्ने उनको भनाइ छ।
कठोर र जटिल संगठनात्मक संरचनाका कारण नयाँ पुस्ता तथा योग्य व्यक्तिहरू नेतृत्वमा पुग्न कठिन हुने अवस्थाको अन्त्य गर्दै युवा र नयाँ विचारलाई नेतृत्वमा ल्याउने वैधानिक बाटो खोल्नुपर्ने उनको धारणा छ।
प्रविधि र आधुनिक शासन व्यवस्थाबीचको सम्बन्धलाई जोड दिँदै गौतमले प्रविधिको प्रयोगबिना आधुनिक शासन प्रणालीको परिकल्पना अधुरो हुने बताएका छन्।
“प्रविधिबिनाको आधुनिक शासन प्रणाली निर्देशनतन्त्र हो, जहाँ ट्याक्टरको इन्जिनले प्लेन उडाउने सपना बेचिन्छ,” गौतमले भनेका छन्।
उनले कांग्रेसको महाधिवेशनलाई केवल सभा, समारोह, सहमति र निर्वाचनमा सीमित नराखी नीति, सिद्धान्त र पार्टीको दीर्घकालीन दृष्टिकोणमाथि खुला तथा जीवन्त बहस हुने मञ्चका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएमा प्रविधि, नीति र नयाँ पुस्ताको सोचलाई पार्टीको संगठनात्मक अभ्याससँग जोड्दै कांग्रेसलाई समयअनुकूल बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने गौतमको भनाइ छ।

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी दिएका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा पार्टीका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका तामाङले पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हालिसकेका छन्। उनी हाल मेलम्ची नगरपालिकाका नगर प्रमुख छन्। नेपाली कांग्रेसको आधिकारिक विवरणमा तामाङलाई सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिका रूपमा समेत उल्लेख गरिएको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मेलम्ची नगरपालिकाको प्रमुखमा निर्वाचित तामाङले स्थानीय सरकारको नेतृत्वसँगै पार्टी संगठनका गतिविधिमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। निर्वाचन विवरणअनुसार उनले उक्त निर्वाचनमा ११ हजार २५८ मत प्राप्त गरी मेलम्ची नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।
महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिनुको मुख्य उद्देश्य पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै कार्यकर्तासँगको संवाद तथा समन्वयलाई प्रभावकारी बनाउनु रहेको तामाङले बताएका छन्।
उनले अग्रज नेताको अनुभव, कार्यकर्ताको भावना र नयाँ पुस्ताको ऊर्जालाई समेटेर कांग्रेस संगठनलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको लोकतान्त्रिक मूल्य, विधि र विधानलाई आत्मसात् गर्दै संगठन निर्माणमा आफ्नो अनुभवलाई थप प्रभावकारी रूपमा उपयोग गर्ने उनको भनाइ छ।
“संगठनमा गरेको निरन्तर काम, कार्यकर्तासँगको सहकार्य र पार्टीका विभिन्न जिम्मेवारीबाट प्राप्त अनुभवलाई अब अझ प्रभावकारी रूपमा संगठन निर्माणमा लगाउने मेरो प्रतिबद्धता हो,” तामाङले भने, “सबै कांग्रेसजनको सुझाव, साथ, सहकार्य र अमूल्य मतको अपेक्षा गरेको छु।”
नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया पनि कार्यतालिकामा समेटिएको छ।
तामाङले महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टी संगठन सुदृढीकरण, आपसी एकता र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। उनले महाधिवेशन सफल बनाउन कांग्रेसका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूसँग साथ, सहकार्य र समर्थनका लागि आग्रह गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।