
मेलम्ची नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८२/८३ मा गरेका कार्यको समीक्षा सम्पन्न भएको छ । बिहिबार र शुक्रबार आयोजित कार्यक्रममा मेलम्ची नगरपालिका तथा त्यस अन्तर्गत रहेका १३ वटै वडाका स्वास्थ्य संस्था तथा बिभिन्न गैर सरकारी संस्थाहरुले गरेका कार्य , चुनौती, समस्या,नबिनतम कार्य लगायत बिषयमा चर्चा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्सुराम श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।उहाँले समृद्ध नगर बनाउन स्वास्थ्य कर्मीको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले नसर्ने रोग, मानसिक स्वास्थ्य, पोषण लगायालाई अझ प्राथमिकता दिएर काम गर्न आग्रह गर्नुभयो । उहाँले निजि स्वास्थ्य संस्थाहरु कानुनि दायरामा रहेर काम गर्नु पर्ने बताउदै अनुगमनलाई तिब्र बनाइएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनुसा कोइराला लगायत नगरपालिकाका कर्मचारी , स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित योजना, कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा असोज २ गते सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रशासकीय अधिकृत रामप्रसाद न्यौपाने, विषयगत शाखाका प्रमुख,वडा सचीव विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा तथा मातहतका कार्यालय र संस्थाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौती प्रस्तुत गरेका थिए । संघीय तथा प्रदेश सरकारबाट विनियोजित योजना तथा कार्यक्रमको कार्यान्वयन अवस्था र गाउँपालिकाबाट प्रवाह हुँदै आएका सेवाका विषयमा समेत समीक्षा गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामाले वार्षिक समीक्षा कार्यक्रमले पालिकाले गरेका कामको वास्तविक अवस्था पहिचान गर्न तथा आगामी योजना निर्माणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विकास निर्माणसँगै नागरिकलाई प्रभावकारी र सहज सेवा प्रवाहमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
उपाध्यक्ष सुनिता अधिकारीले समीक्षा कार्यक्रमलाई उपलब्धि र कमजोरी पहिचान गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउँदै आगामी दिनमा देखिएका समस्या समाधान गर्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
शाखा तथा मातहतका निकायबाट प्रस्तुत भएका प्रगति विवरणका आधारमा आगामी कार्यक्रमलाई थप व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको थियो । प्रशासकीय अधिकृत रामप्रसाद न्यौपानेले योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि शाखा, वडा र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
विषयगत शाखाका प्रमुख तथा अन्य सरोकारवालाले समेत आ–आफ्नो क्षेत्रको प्रगति, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा धारणा राखेका थिए ।
समीक्षा कार्यक्रममा प्रस्तुत भएका समस्या तथा चुनौतीको समाधानका लागि आवश्यक पहल गर्ने र प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेट्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको छ।


सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा असोज १ र २ गते सञ्चालन भएको दुईदिने समीक्षा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, आर्थिक प्रशासन शाखा प्रमुख विक्रम पनेरु, प्रशासन शाखा प्रमुख रामप्रसाद न्यौपानेसहित सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
समीक्षा कार्यक्रममा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईका प्रमुख, प्राथमिक अस्पतालका कार्यक्रम फोकल पर्सन, विद्यालयमा कार्यरत विद्यालय नर्स, नागरिक आरोग्य केन्द्रका प्रमुख तथा सहयोगी संस्था मांक/फेयरमेड र धुलिखेल अस्पताल स्वास्थ्य केन्द्रका प्रतिनिधिहरू सहभागी थिए।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालको सञ्चालनमा भएको कार्यक्रममा पहिलो दिन स्वास्थ्य कार्यक्रमसँग सम्बन्धित समग्र तथ्यांकको प्रमाणीकरण तथा प्रस्तुतिकरणलाई अन्तिम रूप दिइएको थियो।
दोस्रो दिन गाउँपालिकाअन्तर्गतका स्वास्थ्य चौकी, प्राथमिक अस्पताल, सामुदायिक स्वास्थ्य इकाई, विद्यालय नर्स तथा सहयोगी संस्थाहरूले आ–आफ्नो कार्यक्रमको प्रगति, देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने कार्यबारे प्रस्तुति दिएका थिए।
प्रस्तुतिका क्रममा स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयन, कार्यक्रमका सूचकमा सुधार, सेवा प्रवाहमा देखिएका समस्या र त्यसको समाधानका उपायबारे समूहगत छलफलसमेत गरिएको थियो। सहभागीहरूले स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तह र वडा तहबाट आवश्यक पहल तथा समन्वय बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष टासी लामासहित उपस्थित अतिथिहरूले स्वास्थ्य कार्यक्रमका सूचकहरूमा सुधार ल्याउन स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।
समापनका क्रममा स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन निरन्तर खटिने सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै आगामी दिनमा देखिएका समस्या समाधानका लागि वडा तथा गाउँपालिकाबाट आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
काठमाडौँ । बीमा कम्पनीहरूले नयाँ वित्तीय प्रतिवेदन मापदण्ड एनएफआरएस १७ तत्काल कार्यान्वयन गर्न प्राविधिक तथा जनशक्तिको अभाव रहेको भन्दै थप समय मागेपछि नेपाल बीमा प्राधिकरण लचक देखिएको छ।
चालू आर्थिक वर्षदेखि एनएफआरएस १७ अनुसार वित्तीय प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी भए पनि बीमकहरूको मागपछि यसको समयसीमा सार्ने विषयमा प्राधिकरणले छलफल अघि बढाउने भएको हो।
बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रतिनिधिहरूले प्राधिकरण व्यवस्थापनसँग भेट गरी नयाँ मापदण्ड कार्यान्वयनका लागि थप समय आवश्यक रहेको बताएका छन्। उनीहरूले विशेषगरी जीवन बीमा क्षेत्रमा एनएफआरएस १७ कार्यान्वयन प्राविधिक रूपमा जटिल रहेको र आवश्यक दक्ष जनशक्ति समेत पर्याप्त नभएको गुनासो गरेका छन्।
बीमकहरूको टोलीले प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीसहितका अधिकारीसँग यस विषयमा छलफल गरेको थियो।
छलफलमा सहभागी एक बीमा कम्पनीका सीईओका अनुसार एनएफआरएस १७ कार्यान्वयनका लागि आवश्यक प्राविधिक तयारी पूरा गर्न कठिनाइ भइरहेको छ। जीवन बीमा व्यवसायको प्रकृति नै जटिल भएकाले अन्य क्षेत्रको तुलनामा नयाँ मापदण्ड लागू गर्न थप चुनौती देखिएको बीमकहरूको भनाइ छ।
प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले भने एनएफआरएस १७ लागू गर्ने निर्णय यसअघि नै सञ्चालक समितिबाट भइसकेकाले व्यवस्थापन तहबाट तत्काल निर्णय परिवर्तन गर्न नसकिने बताएका थिए। यद्यपि, बीमकहरूको मागलाई सञ्चालक समितिसम्म पुर्याउन उनी सहमत भएका छन्।
जीवन बीमक संघका निवर्तमान अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलका अनुसार प्राधिकरणले बीमकहरूबाट औपचारिक रूपमा प्रस्ताव मागेको छ।
उनका अनुसार बीमकहरूले लिखित रूपमा थप समय माग गरेपछि उक्त प्रस्ताव प्राधिकरणको सञ्चालक समितिमा लैजाने आश्वासन दिइएको छ।
हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये करिब ९–१० वटा कम्पनीका सीईओ तथा पदाधिकारी छलफलमा सहभागी भएका थिए। बीमकहरूको सामूहिक धारणा भने जीवन बीमक संघका अध्यक्ष प्रवीणरमण पराजुलीले राखेका थिए।
भारत र चीनमा फरक अभ्यास, नेपालमा किन हतार ?
एनएफआरएस १७ कार्यान्वयनको समयसीमा थप्नुपर्ने पक्षमा बीमकहरूले अन्तर्राष्ट्रिय अभ्यासलाई समेत आधार बनाएका छन्।
उनीहरूको प्रश्न छ—भारत र चीनजस्ता ठूला छिमेकी मुलुकले समेत आईएफआरएस १७ लाई नेपालमा प्रस्ताव गरिएको जस्तै हुबहु कार्यान्वयन नगरेको अवस्थामा नेपालले किन तत्काल लागू गर्नुपर्ने ?
आईएफआरएस १७ बीमा क्षेत्रको वित्तीय प्रतिवेदनलाई थप पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने उद्देश्यले तयार गरिएको व्यवस्था हो। यो सन् २०२३ जनवरी १ देखि विश्वव्यापी रूपमा लागू भएको हो।
विभिन्न अन्तर्राष्ट्रिय विवरणअनुसार करिब ६६ मुलुकमा आईएफआरएस १७ कार्यान्वयनमा आइसकेको बताइन्छ। थप केही मुलुकले स्थानीय आवश्यकता र कानुनी व्यवस्थाअनुसार परिमार्जन गरेर लागू गरेका छन् भने केही देशमा आंशिक कार्यान्वयन भएको छ।
युरोपेली संघका मुलुकसँगै बेलायत, नर्वे, स्वीजरल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, हङकङ, दक्षिण अफ्रिका, क्यानडा तथा खाडी क्षेत्रका केही मुलुकले समेत यसको अभ्यास गरिरहेका छन्।
तर अमेरिका, भारत र चीनको अभ्यास भने फरक छ। अमेरिकाले आफ्नै यूएस जीएएपी प्रणालीमार्फत वित्तीय प्रतिवेदन तयार गर्ने व्यवस्था गरेको छ।
भारत र चीनले पनि आईएफआरएसका प्रावधानलाई जस्ताको तस्तै लागू गर्नुको सट्टा आफ्नै देशको वित्तीय प्रतिवेदन प्रणालीसँग समायोजन गर्दै कार्यान्वयन गर्ने बाटो रोजेका छन्। भारतमा इन्ड–एएस लगायतका स्थानीय मापदण्डसँग समायोजन गरी आईएफआरएसका प्रावधानहरू क्रमशः कार्यान्वयन भइरहेका छन्।
त्यसैले नेपालमा एनएफआरएस १७ तत्काल लागू गर्ने विषयमा बीमा कम्पनीहरूले तयारी, दक्ष जनशक्ति र प्राविधिक क्षमताको अवस्थालाई समेत ध्यान दिनुपर्ने माग अघि सारेका छन्।
अब बीमकहरूको लिखित प्रस्तावपछि एनएफआरएस १७ कार्यान्वयनको समयसीमा परिवर्तन गर्ने वा नगर्ने अन्तिम निर्णय नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिले गर्नेछ।






