
काठमाडौँ । नेपाली उपभोक्ता चैत महिनामा अस्वाभाविक महँगीको चापमा परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रतिवेदनले देखाएको छ। पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि र अमेरिकी डलरको मजबुत विनिमय दरका कारण ढुवानी तथा आयात खर्च बढ्दा बजारमा दैनिक उपभोग्य वस्तु महँगिएको हो।
कालीमाटी बजारको तथ्याङ्कअनुसार तरकारीको मूल्यमा अत्यधिक वृद्धि देखिएको छ। स्थानीय काउली ३०४.७६ प्रतिशत, हाइब्रिड घिउ सिमी ३०० प्रतिशत र स्थानीय घिउ सिमी २६६.६७ प्रतिशतसम्म महँगिएका छन्। फर्सी र ब्रोकाउलीको मूल्य पनि क्रमशः २०० र १८७ प्रतिशतले बढेको छ।
इन्धन मूल्यमा भएको लगातार समायोजनले महँगी थप चर्काएको प्रतिवेदनले जनाएको छ। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य चैतमा २०० रुपैयाँभन्दा माथि पुगेको छ भने एलपी ग्यास प्रतिसिलिन्डर १९१० रुपैयाँसम्म पुगेको छ। हवाई इन्धनको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ।
अमेरिकी डलरको दर १५२ रुपैयाँसम्म पुगेपछि आयातित वस्तु थप महँगिएको र “इम्पोर्टेड इन्फ्लेसन” बढेको प्रतिवेदनको निष्कर्ष छ।
खाद्यान्नतर्फ पनि चामल, दाल, चिनी र तेलको मूल्य बढेको देखिएको छ। विभागले मूल्यवृद्धिको कारण माग–आपूर्ति असन्तुलन, इन्धन लागत वृद्धि र बिचौलियाको प्रभाव रहेको जनाएको छ।
बजार नियन्त्रणका लागि एमआरपी अनिवार्य कार्यान्वयन, सघन अनुगमन र स्थानीय उत्पादन प्रवर्द्धन गरिने विभागले जनाएको छ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा प्रक्रियामा नयाँ मापदण्ड लागू गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटलाई टुक्रे र वितरणमुखी योजनाबाट हटाएर ठूला र प्रभावकारी आयोजनामा केन्द्रित गर्ने उद्देश्यसहित निर्देशिका जारी गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब २० लाख रुपैयाँभन्दा कम लागतका खानेपानी तथा सिँचाइ योजना र ५० लाखभन्दा कम लागतका सडक, पुल, भवन, पार्क र तटबन्धजस्ता पूर्वाधार आयोजना प्रदेश बजेटमा समेटिने छैनन्। साना योजना स्थानीय तहले नै कार्यान्वयन गर्नुपर्नेछ।
प्रदेश सरकारले आयोजना छनोटका लागि जिल्लास्तरीय समिति गठन गर्ने व्यवस्था गरेको छ, जसले सम्भाव्य र दोहोरोपन नभएका योजना छनोट गरी मन्त्रालयमा सिफारिस गर्नेछ। साथै, व्यक्तिगत नाम, कुलदेवता वा धार्मिक संस्थासँग जोडिएका योजनामा बजेट नदिने नीति पनि लागू गरिएको छ।
काठमाडौं । आगामी लालीबजार को तेस्रो गीत ‘मै राम्री छु त नी’ को छोटो अंश सार्वजनिक गरिएको छ। फिल्म १८ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा छ।
निर्माता कम्पनी **षट्कोण आट्र्स**को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा **दीपिका बयम्बू मगर**ले स्वर दिएकी छिन्। कोरसमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेक रहेका छन्। गीतमा **प्रकाश सपुत**को शब्द तथा सङ्गीत छ।
गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र जानकी कडायत लगायत कलाकार फिचर्ड छन्। गीतको नृत्य निर्देशन **प्रदीप लामा**ले गरेका हुन्।
गीतमा नारी सुन्दरताको बयान गरिएको छ। सार्वजनिक अंशलाई टिकटक, रिल्स र युट्युब शट्समा प्रयोग गर्न थालिएको बताइएको छ भने गीतको पूर्ण संस्करण भने फिल्म हलमै हेर्न पाइने जनाइएको छ।
फिल्म आमा–छोरीको कथामा आधारित रहेको छ। साथै बादी समुदायमा देखिने नाथिया जस्ता कुप्रथाविरुद्धको विषय पनि ट्रेलरमा समेटिएको छ। छोरीको सुरक्षाका लागि आमाले गर्ने सङ्घर्षलाई फिल्ममा देखाइएको छ, जसमा स्वस्तिमा खड्का आमाको भूमिकामा देखिएकी छिन्।
षट्कोण आट्र्सले यसअघि जात्रा, जात्रै जात्रा, महापुरुष र महाजात्रा जस्ता सफल फिल्म निर्माण गरिसकेको छ।
फिल्मको निर्देशन यम थापाले गरेका हुन्।
३ वैशाख, काभ्रेपलाञ्चोक । शनिबार परेको वर्षाका कारण विभिन्न स्थानका डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। शनिबार दिउँसो करिब ४ बजेदेखि बन्द भएको राजमार्ग तत्काल खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार रोशी खोलामा आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा र माम्ती क्षेत्रमा बनाइएका डाइभर्सन बगाएको छ। साथै नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा पनि डाइभर्सन क्षतिग्रस्त भएको छ।
जिल्ला प्रहरी प्रमुख कोमल शाहका अनुसार राजमार्ग अवरुद्ध भएपछि काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सयौं सवारीसाधन रोकिएका थिए। आइतबार बिहानदेखि भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेलमा रोकिएका सवारी साधनलाई सुरक्षित स्थानतर्फ पठाइसकिएको छ।
मङ्गलटार क्षेत्रमा रोकिएका यात्रुहरूलाई भने रोशी खोला पारिसम्म पैदल हिँडाएर त्यहाँबाट अर्को सवारीको व्यवस्था गरी तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेल पठाउन थालिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मौसममा सुधार आई सडक सुरक्षित भएको सुनिश्चित भएपछि मात्र पुनः सवारी सञ्चालन गरिनेछ। राजमार्गको अवस्थाबारे जानकारी लिनका लागि नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ।
बीपी राजमार्ग बन्द हुँदा काठमाडौंबाट पूर्वी पहाड र तराईतर्फ जाने तथा राजधानी भित्रिने सयौं सवारी साधन प्रभावित भएका छन्।
यसअघि २०८१ असोजको दोस्रो सातामा आएको भीषण बाढीले भकुण्डेदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडकखण्डमा ठूलो क्षति पुर्याएको थियो। क्षतिग्रस्त क्षेत्रमा पुनर्निर्माण कार्य जारी रहे पनि स्थायी संरचना नबन्दा रोशी खोला किनार हुँदै अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको छ। अहिले बाढीले ती डाइभर्सन बगाउँदा राजमार्ग पुनः अवरुद्ध भएको हो।
भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका अनधिकृत घरटहरा हटाउने काम सुरु गरिएको छ।
बस्ती हटाउन बिहानैदेखि करिब
३०० जना नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख **सूर्यबहादुर खड्का**ले जानकारी दिए।
उनका अनुसार बासिन्दालाई बिहान ९ बजेसम्म आफैं घरटहरा भत्काउने समय दिइएको थियो। त्यसपछि **काठमाडौँ महानगरपालिका**को डोजरसहितको टोलीले संरचना हटाउन सुरु गरेको हो।
प्रहरीका अनुसार अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउने काम अघि बढाइएको छ।
उक्त बस्तीमा ७७७ घरटहरा रहेको बताइएको छ। यसअघि शनिबार साँझ पनि सात वटा पक्की घर भत्काइँदा केही सुकुम्बासीले अवरोध गरेका थिए। त्यस क्रममा भएको झडपमा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।






