
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगको नै भएको स्पष्ट पारेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस समारोहलाईसम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना तथा कानुनी र नीतिगत व्यवस्था हुँदाहुँदै पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिन्।
‘जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र चाहेको सुधार गर्न सक्दैनौँ,’ उनले भनिन् ।
उनले प्रत्येक निकाय र कार्यालयका प्रमुखले आफ्नो संस्था भित्र हुने भ्रष्टाचार र घुसखोरीको जिम्मेवारी लिनुपर्ने धारणा राखिन् । भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवारी बोध, चेतना र प्रतिबद्धता राष्ट्रसेवक कर्मचारी, राजनीतिक नेतृत्व तथा सबै सरोकारवालामा आवश्यक रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले जेनजी युवाको अगुवाइमा भदौ २३ र २४ गते भएको आन्दोलनलाई सुशासन र भ्रष्टाचार नियन्त्रणको मूलभूत मागका रूपमा उल्लेख गर्दै त्यसैको जगमा वर्तमान सरकारले नागरिकमैत्री प्रशासन र शासकीय सुधारलाई प्राथमिकतामा राखेको बताइन् ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसमा ४ जना पत्रकार पुरस्कृत भएका छन् । अख्तियारको ३५औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पत्रकारहरूलाई कदर पत्र प्रदान गरेका हुन् ।
अनलाइन सञ्चारमाध्यमबाट सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्ने उकालो डटकमका वरिष्ठ संवाददाता दिपा दाहाल र नेपाल न्युजका विशेष संवाददाता खिलानाथ ढकाल पुरस्कृत भएका छन् ।
त्यस्तै छापा माध्यमतर्फ नेपाल समाचार पत्रका सहायक सम्पादक सुनिल महर्जन र गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडी पुरस्कृत भएका छन् । लेख रचनामार्फत सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेलेका डा.दिपेश घिमिरेलाई पुरस्कृत गरिएको छ ।
काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ।
पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ विदेशी पर्यटक भित्रिएको यस क्षेत्रमा सन् २०२५ मा दुई लाख ९९ हजार ८३१ पर्यटकले भ्रमण गरेका छन्। यो संख्या हालसम्मकै उच्च हो। सबैभन्दा कम पर्यटक सन् २०२१ मा मात्र १६ हजार १०५ जना पुगेका थिए, जुन कोभिड–१९ महामारीको प्रत्यक्ष प्रभाव थियो।
एक्यापका अनुसार सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम पर्यटक आगमन हुँदै आएकोमा सन् २०११ को नेपाल भ्रमण वर्षमा पहिलो पटक पर्यटक संख्या एक लाख नाघेको थियो। त्यसपछि सन् २०१५ को गोरखा भूकम्पले पर्यटक आगमनमा असर पारे पनि पछिल्ला वर्षहरूमा अन्नपूर्ण क्षेत्र फेरि विश्वका पदयात्रीको रोजाइमा फर्किएको देखिन्छ।
सन् २०२२ पछि पर्यटक आगमनमा निरन्तर वृद्धि भएको छ । सन् २०२२ मा एक लाख २९ हजार ७२३, सन् २०२३ मा एक लाख ९१ हजार ५५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र सन् २०२५ मा झण्डै तीन लाख विदेशी पर्यटक अन्नपूर्ण पुगेका छन्।
एक्यापका प्रमुख डा. रबिन कडरियाका अनुसार सन् २०२५ मा आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका एक लाख ७७ हजार ६२८ र अन्य मुलुकका एक लाख २२ हजार २०३ जना रहेका छन्। उनका अनुसार पर्यटक आगमन बर्सेनि बढ्दो छ । पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म अन्नपूर्ण क्षेत्र आकर्षणको केन्द्र बनेको उनले बताए ।
अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, घोडेपानीलगायतका गन्तव्यमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति र जीवनशैलीका कारण विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ।






