

काठमाडौँ । चन्द्रागिरि नगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगर पालिकाबिच न्यायिक समितिका असल अभ्यासहरू आदान–प्रदान गर्ने उद्देश्यले अन्तरपालिका अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका कानुन शाखा प्रमुख चिरञ्जीवी खड्काले चन्द्रागिरि नगरपालिकाले न्यायिक समितिमार्फत अवलम्बन गरेका असल अभ्यासहरू प्रस्तुत गर्नुभयो। उहाँले न्यायिक समितिको कार्यसम्पादनलाई व्यवस्थित बनाउन स्पष्ट कार्यविधि निर्माण, नियमित इजलास सञ्चालन, प्रशिक्षित मेलमिलापकर्ताको परिचालन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको जानकारी दिनुभयो। चन्द्रागिरि नगरपालिकाले न्यायिक समिति सम्बन्धी कार्यविधि ऐन, २०७५ लागू गरी स्थानीय विवाद समाधानलाई संस्थागत बनाएको बताउनुभयो ।
उहाँका अनुसार चन्द्रागिरि नगरपालिकाले घर-जग्गा, बाटो, सिमाना विवाद, घरेलु हिंसा लगायतका उजुरीहरूलाई मेलमिलाप र संवादमार्फत छिटो तथा प्रभावकारी रूपमा समाधान गर्दै आएको छ।
त्यसै गरी, मेलम्ची नगरपालिकाका तर्फबाट न्यायिक सहजकर्ता अस्मिता ढकाल अर्यालले मेलम्ची नगरपालिकाको न्यायिक अभ्यास प्रस्तुत गर्दै स्थानीय स्तरमै सहज, सुलभ र छरितो न्याय सेवा उपलब्ध गराउन मेलम्चीले गरेको प्रयासबारे जानकारी दिनुभयो। उहाँले न्यायिक समितिको पहुँच वडा तहसम्म विस्तार गर्दै समुदायमै मेलमिलापको संस्कार विकास गर्न नगरपालिकाले काम गरिरहेको बताउनुभयो। मेलम्ची नगरपालिकाले सेवा प्रवाहमा पारदर्शिता र नागरिक पहुँचलाई प्राथमिकतामा राख्दै न्यायिक संयन्त्रलाई सुदृढ बनाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक बसन्ती श्रेष्ठले स्थानीय सरकारको सबैभन्दा संवेदनशील जिम्मेवारीमध्ये न्याय सम्पादन एक भएको उल्लेख गर्दै न्यायिक समितिलाई जनविश्वासको केन्द्र बनाउन अनुभव, क्षमता र सहकार्य आवश्यक रहेको बताउनुभयो।
त्यस्तै मेलम्ची नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक उमा प्रधानले यस्ता अन्तरपालिका अनुभव आदान–प्रदान कार्यक्रमले न्यायिक समितिका कामलाई अझ प्रभावकारी बनाउन प्रेरणा दिने बताउँदै स्थानीय तहहरूबिच सहकार्य र सिकाइको संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने लक्ष्यसहित आयोजित कार्यक्रममा दुवै नगरपालिकाका जनप्रतिनिधि तथा न्यायिक शाखाका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
यस कार्यक्रमले चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक क्षेत्रमा सहकार्य, सिकाइ र अनुभव आदान–प्रदानलाई थप मजबुत बनाउँदै स्थानीय न्याय प्रणालीलाई प्रभावकारी र नागरिकमुखी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।











