सिन्धुपाल्चोकमा मापदण्डविपरीत सञ्चालनमा रहेका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिकलाई सिल गरिएको छ। जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ ९दोस्रो संशोधन, २०८१० अनुसार कानुनी कारबाहीस्वरूप ती स्वास्थ्य संस्थामा शिलबन्दी गरिएको हो।
सिल गरिएका संस्थामा सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। तथा बलेफी गाउँपालिकास्थित पराजुली हेल्थ केयर प्रा।लि। रहेका छन्।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको नेतृत्वमा जनस्वास्थ्य कार्यालय तथा सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले जिल्लाभर सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाको अनुगमन गर्ने क्रममा ती संस्थाले कानुनअनुसार सञ्चालन अनुमति नलिएको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको र पटक–पटक निर्देशन दिँदासमेत अटेर गरेको पाइएपछि शिलबन्दी गरिएको जनाएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा २१, २२ र २७ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ ९दोस्रो संशोधन, २०८१० को दफा ६, ११ र १५ बमोजिम आवश्यक अनुमति, दर्ता तथा नवीकरणबिना स्वास्थ्य सेवा सञ्चालन गरिएको पुष्टि भएको छ।
अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेको, इजाजतबिना सञ्चालन भएको, दर्ता तथा नवीकरण नगरी सेवा प्रवाह गरेको, अनाधिकृत रूपमा ल्याब तथा एक्स–रे सेवा सञ्चालन गरेको तथा सम्बन्धित निकायबाट दिइएको निर्देशनसमेत पालना नगरेको पाइएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभर बजार तथा निजी स्वास्थ्य संस्थाको अनुगमनलाई अझ तीव्र बनाइएको जानकारी दिएको छ। कानुनविपरीत सञ्चालन भएका तथा मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थामाथि आवश्यक कानुनी कारबाही निरन्तर गरिने प्रशासनको भनाइ छ।
यसैबीच, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले निजी स्वास्थ्य संस्थाको नियमित अनुगमनलाई थप प्रभावकारी बनाइएको जनाएको छ। कार्यालयले सबै स्वास्थ्य संस्थालाई प्रचलित कानुन तथा मापदण्डअनुसार दर्ता, नवीकरण र सेवा सञ्चालन गर्न आग्रह गर्दै अटेर गर्ने संस्थामाथि कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।
बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले पनि प्रदेशका १३ वटै जिल्लामा निजी स्वास्थ्य संस्थामाथिको अनुगमन अभियानलाई तीव्र बनाइएको जनाएको छ। मन्त्रालयले जनस्वास्थ्यसँग खेलवाड गर्ने, कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन हुने तथा मापदण्ड उल्लंघन गर्ने जुनसुकै स्वास्थ्य संस्थामाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।














