२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा विकास बैंकहरूले कुल ६५ करोड ७९ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १७ विकास बैंकले साउन मसान्तसम्म उक्त नाफा कमाएका हुन्। यद्यपि, यो रकम गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ५.२० प्रतिशत कम हो। गत वर्षको साउनमा विकास बैंकहरूले कुल ६९ करोड ४० लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएका थिए।

समीक्षा अवधिमा ९ वटा विकास बैंकको नाफा बढेको छ भने ८ वटा बैंकको नाफा घटेको छ। आर्थिक गतिविधिमा देखिएको सुस्तता र खराब कर्जाको दबाबबीच पनि विकास बैंकहरूको समग्र नाफा ६५ करोड रुपैयाँभन्दा माथि कायम भएको हो।

मुक्तिनाथको नाफा सबैभन्दा धेरै

साउनमा सबैभन्दा धेरै खुद नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक अगाडि रहेको छ। बैंकले १३ करोड ३३ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर, गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १५.२० प्रतिशतले घटेको छ।

त्यस्तै, गरिमा विकास बैंकले १२ करोड ७८ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष साउनमा १३ करोड ३९ लाख ७० हजार रुपैयाँ नाफा गरेको बैंकको नाफा यस वर्ष ४.५४ प्रतिशतले घटेको हो।

यता महालक्ष्मी विकास बैंकले भने नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकले साउन मसान्तसम्म १० करोड ८२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ६ करोड ६ लाख ३० हजार रुपैयाँ नाफा गरेको बैंकको नाफा यस वर्ष ७८.५९ प्रतिशतले बढेको हो।

कुन बैंकले कति नाफा कमाए?

साउन मसान्तसम्म कामना सेवा विकास बैंकले ९ करोड ९९ लाख ५० हजार, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ९ करोड ५० लाख ७० हजार र ज्योति विकास बैंकले ८ करोड ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले ४ करोड ७४ लाख ९० हजार, मितेरी डेभलपमेन्ट बैंकले ९४ लाख ६० हजार, लुम्बिनी विकास बैंकले ९१ लाख ४० हजार, कर्णाली डेभलपमेन्ट बैंकले ८३ लाख ६० हजार, ग्रिन विकास बैंकले ५५ लाख १० हजार, सिन्धु विकास बैंकले ३८ लाख ३० हजार, सप्तकोशी डेभलपमेन्ट बैंकले १७ लाख ७० हजार र नारायणी विकास बैंकले ११ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

नारायणी विकास बैंकले भने गत वर्षको साउनमा २८ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेकोमा यस वर्ष नाफामा फर्किएको हो।

लुम्बिनीको नाफा ९१ प्रतिशतभन्दा बढी घट्यो

समीक्षा अवधिमा लुम्बिनी विकास बैंकको नाफामा सबैभन्दा ठूलो गिरावटमध्ये एक देखिएको छ। बैंकले यस वर्ष ९१ लाख ४० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ११ करोड ८ लाख रुपैयाँ नाफा गरेको बैंकको नाफा यस वर्ष ९१.७५ प्रतिशतले घटेको हो।

यस्तै, सालपा विकास बैंक ५ लाख ७० हजार रुपैयाँ घाटामा गएको छ।

त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक १५ लाख ४० हजार रुपैयाँ, सिन्धु विकास बैंक ३८ लाख ३० हजार रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंक ८३ लाख ६० हजार रुपैयाँ र एक्सेल डेभलपमेन्ट बैंक ५ करोड २४ लाख ८० हजार रुपैयाँ ऋणात्मक रहेको तथ्याङ्कमा उल्लेख छ।

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको शेयर बजारप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले सूचीकृत कम्पनीका साधारण शेयरमा ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार यो लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९.७४ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले शेयर बजारमा ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ लगानी गरेका थिए ।

बजारमा लगानी विस्तार गर्ने कम्पनीमध्ये सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडि देखिएका छन् । राष्ट्रिय बीमा कम्पनीले सूचीकृत कम्पनीहरूको साधारण शेयरमा ७९ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा यसको शेयर लगानीमा उल्लेख्य वृद्धि देखिएको छैन ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७७ करोड ३६ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । कम्पनीको यस्तो लगानी गत वर्षको तुलनामा ५४.३० प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।

तेस्रो त्रैमाससम्म नेको इन्स्योरेन्सले ६२ करोड ४९ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५८ करोड ५५ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४९ करोड ७२ लाख रुपैयाँ सूचीकृत कम्पनीको शेयरमा लगानी गरेका छन् ।

यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४७ करोड ७९ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ४७ करोड १५ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् ।

नेपाल इन्स्योरेन्सले ३३ करोड ५९ लाख रुपैयाँ तथा एनएलजी इन्स्योरेन्सले २१ करोड ३० लाख रुपैयाँ बराबरको लगानी शेयर बजारमा गरेका छन् ।

तर सबै निर्जीवन बीमा कम्पनीको शेयर लगानी भने बढेको छैन । सानिमा जीआईसी, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा शेयर बजारमा गरेको लगानी घटाएका छन् ।

समग्रमा हेर्दा निर्जीवन बीमा कम्पनीहरूले आफ्नो लगानी पोर्टफोलियो विस्तार गर्दै सूचीकृत शेयरलाई पनि लगानीको महत्वपूर्ण क्षेत्रका रूपमा प्रयोग गरिरहेका छन् । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा व्यवसायको क्षेत्रगत लगानी विवरण नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले पत्रकारहरूले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासमा पत्रकारले कुनै व्यक्तिसँग प्रश्न गर्नुअघि अनुमति लिने र अन्तर्वार्ता वा भनाइ प्रकाशित गर्नुअघि समेत सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अभ्यास रहेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले सञ्चारकर्मीहरूले अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न गर्ने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ । प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि तपाईंले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ, गरौँ ? भनेर सोध्छ । तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस् । त्यस्तो नगर्नुहोस् ।’

उहाँले सञ्चारकर्मीहरूलाई पत्रकारिताको मर्यादा र अभ्यासअनुसार प्रश्न गर्न आग्रह गर्नुभयो ।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी बाढीपछि भइरहेको खोजी, उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले विपद्पछिको खोजी, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा सरकारका प्रतिनिधिले भोटेकोशी बाढीपछि भइरहेको खोजी, उद्धार तथा राहतका कामबारे ब्रिफिङ गरेका थिए । खोजी, उद्धार र राहतको काम जारी रहेको तथा पुनर्निर्माण र पुनर्स्थापनाका कामसमेत समानान्तर रूपमा अघि बढिरहेको जानकारी बैठकमा गराइएको खरेलले बताउनुभयो ।

बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो । अझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्ने तथा कानुनी अवरोध भए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा सहजीकरण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको उहाँको भनाइ छ ।

खरेलले भन्नुभयो, ‘राहत तथा पुनर्स्थापनामा कुनै पनि कसर बाँकी नराख्न पार्टीले आग्रह गरेको छ । पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षण छिटोभन्दा छिटो हुनुपर्‍यो र पीडित परिवारलाई राहत दिनुपर्‍यो भन्ने कुरा नै मुख्य रूपमा रहेको छ ।’

उहाँले अझै ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको भन्दै उनीहरूको अवस्था तत्काल यकिन गर्नुपर्ने बताउनुभयो । कानुनी अवरोध भए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा प्रक्रिया अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

रोकिएका पार्टी गतिविधि पुनः सञ्चालन
रास्वपाले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी आएपछि स्थगित गरिएका पार्टीका सार्वजनिक गतिविधि आइतबारदेखि पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी, रास्वपाले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि औपचारिक रूपमा काम अघि बढाएको जनाएको छ । प्रवक्ता खरेलका अनुसार पार्टीले यसअघि नै उठाउँदै आएको उक्त विषयमा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कमिटी गठन गरिसकेको छ ।

उहाँका अनुसार ‘राइट टु रिकल’ व्यवस्था कार्यान्वयनका लागि पार्टीले आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।