
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १८औँ कर्पोरेट विज्नेस अवार्ड २०२६ मा ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ ।
उक्त समारोहमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ले प्रतिष्ठित ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनीले जीवन बीमा क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रति समर्पित प्रतिबद्धताको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो ।
अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रमार्फत नेपालको आर्थिक विकास तथा समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । समारोहमा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा अवार्ड तथा ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मानित गरिएको थियो ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्यलगायतलाई प्रतिवादी बनाएको जनाएको छ।
आरोप अनुसार राहदानी विभागले करिब ८ अर्ब रुपैयाँभन्दा बढीको राहदानी छपाइ तथा सञ्चालनसम्बन्धी ठेक्का प्रक्रिया सार्वजनिक खरिद ऐन र निर्धारित प्राविधिक मापदण्डविपरीत अघि बढाएको थियो। प्रतिस्पर्धी कम्पनीलाई पन्छाएर जर्मन कम्पनीहरूलाई ठेक्का प्रदान गरिएको विषयमा त्यसबेला नै प्रश्न उठेको थियो।
अख्तियारले ठेक्का प्रक्रियाको प्राविधिक र आर्थिक पक्षमा अनियमितता भएको निष्कर्ष निकाल्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। मुद्दामाथिको सुनुवाइपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई सुर्खेतबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी गरिएको छ।
वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएकाले प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पुर्याएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेल आफैं होटल पुगेर पौडेललाई आफ्नै गाडीमा राखी नेपालगञ्जतर्फ लगेका थिए। सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि सम्बन्धित निकायबाट प्राप्त पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा लगायतको पनि उपस्थिति रहेको थियो।
प्रहरी स्रोतका अनुसार पौडेललाई नेपालगञ्जबाट हवाई मार्गमार्फत काठमाडौं पठाई थप अनुसन्धान अघि बढाइने तयारी भइरहेको छ।




