



सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका वडा नं. ८ को जयामिरेमानेमा नागरिक आरोग्य केन्द्रको उद्घाटनसँगै सेवा सञ्चालनमा आएको छ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले एक समारोहका बीच केन्द्रको उद्घाटन गर्दै स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले केन्द्र स्थापना गरिएको बताउनुभयो। उद्घाटनसँगै केन्द्रबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह सुरु भएको गाउँपालिकाले जनाएको छ।
स्थानीय बासिन्दालाई आवश्यकताको आधारमा उपलब्ध स्वास्थ्य सेवा उपयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ। आरोग्य केन्द्र सञ्चालनमा आएपछि वडा नं. ८ लगायत आसपासका क्षेत्रका नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
इन्द्रावती गाउँपालिकाले स्वास्थ्य क्षेत्रको सुदृढीकरण तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।





