x

Dream to Play’ क्रिकेट प्रतियोगिता घोषणा, उदयीमान खेलाडीका लागि विराटनगर किंग्सको नयाँ प्लेटफर्म

२३ आश्विन २०८२, बिहीबार १४:४९

विराटनगर । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “Dream to Play Tournament” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ।

कोशी प्रदेशका पाँच जिल्लाहरू — झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता आगामी असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुने भएको छ। प्रतियोगिता टि–ट्वेन्टी फर्म्याटमा खेलाइनेछ र प्रत्येक दिन दुईवटा खेल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

विराटनगर किंग्सका निर्देशक दिपेन्द्र चौधरीका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर उपलब्ध गराउनु र उनीहरूको व्यावसायिक खेल जीवनतर्फको यात्रा सुरु गराउन मञ्च तयार गर्नु हो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा चयन गरिनेछ। डेभलपमेन्ट स्क्वाडमा रहेका खेलाडीहरूले किंग्स टिमसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षणका अवसर पाउनेछन्। साथै, तीमध्ये एक उत्कृष्ट खेलाडीलाई आगामी नेपाल प्रिमियर लिग (NPL) मा विराटनगर किंग्सको मुख्य स्क्वाडमा खेल्ने विशेष मौका प्रदान गरिनेछ।

नेपालको राष्ट्रिय टिमले पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) का विभिन्न प्रतियोगिताहरूमा हासिल गरेको सफलतासँगै देशभर क्रिकेटप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।

विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडी सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्सले युवा प्रतिभाको विकास र खेल भावनाको प्रवर्द्धनमा सधैं अग्रसर रहने प्रतिबद्धता जनाएको छ।