१२ मंसिर २०८२, बिहीबार १३:५३
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आँखा शिविर संचालन गरिएको छ । नेपाल नेत्रज्योती संघ कीर्तिपूर आँखा अस्पतालको प्राविधिक सहयोग र हेलम्बु गाउँपालिकाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म पालिकाका विभिन्न भागमा आँखा शिविर संचालन गरिएको हो ।
जस अन्तर्गत मंसिर ५ गते वडानम्बर ७ को पार्तिङमा, मंसिर ६ गते वडानम्बर ५ को पिप्से र बोल्दे सचिबेमा, मंसिर ७ गते वडानम्बर ६ को इचोक स्थित आधारभूत स्वास्थ्य केन्द्रमा शिविर संचालन गरिएको थियो ।
यस्तै मंसिर ८ गते, वडा नम्बर १ को खर्चुङ र हेलम्बु स्वास्थ्य केन्द्रमा, मंसिर ९ गते वडानम्बर ३ को पाल्चोक स्वास्थ्य चौकी र चिलाउनेघारी आधारभूत स्वास्थ्य केन्द्रमा तथा मंसिर १० गते हेलम्बु प्राथमिक अस्पताल किउलमा शिविर संचालन गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले जानकारी दिनुभयो ।
जसमा पालिकाका एक हजार ११६ जनाको आँखा चेकजाँच गरिएको थियो भने १५४ जनालाई चस्मा वितरण गरिएको थियो । शिविरमा विशेष गरि मोतियाविन्दुको स्क्रिनिङ गरिएको थियो । जसमा १५० वटा केसहरु पत्ता लागेकोमा पहिलो दिन ३३ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो । यस्तै आज ४३ जनाको शल्यक्रिया सफल भएको छ । उनीहरुको शुक्रबार भिजन टेस्ट गरेपछि डिस्चार्ज गरिने पनि शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
हेलम्बु गाउँपालिकाले बेलाबेलामा यस्ता स्वास्थ्य शिविरहरु संचालन गर्दै नागरिकको स्वास्थ्यमा विशेष कार्यक्रमहरु संचालन गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।



