x

सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न

२७ कार्तिक २०८२, बुधबार १३:५५

चौतारा, सिन्धुपाल्चोक।
आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर सञ्चालन भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका सबै स्थानीय तहले आफ्ना क्षेत्रका उपलब्धि, नवीनतम पहल, समस्या र सिकाइका विषयमा प्रस्तुति दिएका थिए।

जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईका अनुसार उत्कृष्ट कार्यका आधारमा पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो, चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिका दोस्रो, तथा त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो भएका छन्।

समीक्षात्मक कार्यक्रममा विभिन्न पालिकाहरूले उल्लेखनीय स्वास्थ्य कार्यक्रम प्रस्तुत गरेका थिए।
हेलम्बु गाउँपालिकाले जिरो होम डेलिभरी तथा नसर्ने रोग रोकथाम कार्यक्रम सञ्चालन गरेको थियो भने,
सुनकोशी गाउँपालिकाले स्वस्थ बच्चा प्रतिस्पर्धास्वास्थ्य व्यवस्थापन सूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन गरेको पाईयो।
त्रिपुरा सुन्दरी गाउँपालिकाले महामारी रोग नियन्त्रण कार्यक्रम,
मेलम्ची नगरपालिकाले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन,
र बाह्रबिसे नगरपालिकाले स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा उत्कृष्ट कार्य गरेको जनाइएको छ।

त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाले सुरक्षित मातृत्व कार्यक्रमसमुदायस्तर विशेषज्ञ आँखा स्वास्थ्य सेवा,
जुगल गाउँपालिकाले क्षयरोग नियन्त्रण कार्यक्रम,
पाँचपोखरी थाङपाल गाउँपालिकाले स्वास्थ्य फोहोरमैला व्यवस्थापन,
भोटेकोशी गाउँपालिकाले पोषण कार्यक्रम,
इन्द्रावती गाउँपालिकाले सुरक्षित मातृत्व सेवा,
बलेफी गाउँपालिकाले नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन,
र लिसंखुपाखर गाउँपालिकाले परिवार योजना कार्यक्रम तर्फ उत्कृष्टता देखाएका छन्।

समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापा, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, तथा विषय विज्ञ अनिल थापा लगायतका सरोकारवालाको उपस्थिती रहेको थियो।

जनस्वास्थ्य कार्यालयका अनुसार, समीक्षा कार्यक्रममा प्रस्तुत भएका उत्कृष्ट अभ्यास र सिकाइका बुँदाहरूलाई आगामी वर्षका योजना तथा नीति निर्माणमा समेत समावेश गरिनेछ