काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आजदेखि देशभरका गाउँपालिका र नगरपालिका निमित्त विहिन बनेको घोषणा गर्नुभएको छ ।

मन्त्री न्यौपानेले आफ्नै सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सुशासनको प्रमुख औजार कर्मचारी प्रशासन भएको र यसलाई निरन्तर सुधार तथा परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यभार सम्हाल्दा ७५३ स्थानीय तहमध्ये करिब २०० पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेको उल्लेख गर्दै अबदेखि सबै पालिकामा पूर्ण जिम्मेवारीसहितका प्रमुख प्रशासकीय अधिकृत खटाइएका जानकारी दिनुभयो ।

उहाँले जिम्मेवारी पाएका कर्मचारीहरुलाई दक्षता र इमानदारीसहित काम गर्न आग्रह गर्दै पालिकाका प्रमुख तथा जनप्रतिनिधिलाई खटाइएका अधिकृतलाई स्वागत गर्न र उनीहरुको क्षमताको सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री न्यौपानेले यस अभियानमा सहयोग गरेका मन्त्रालयका सचिवदेखि सचिवालयका सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दै अर्को चरणमा उपमहानगर र महानगरपालिकाहरुमा पनि निमित्त विहिन व्यवस्था कार्यान्वयन गरिने बताउनुभयो ।

उहाँका अनुसार जनताको हितलाई केन्द्रमा राखेर गरिएको यो निर्णयलाई सफल बनाउन सबैको साथ, सहयोग र सुझाव आवश्यक रहनेछ ।