सिन्धुपाल्चोक, हेलम्बु — हेलम्बु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको छ। एक विशेष समारोहबीच गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको अध्यक्षतामा औपचारिक रूपमा घोषणा गरिएको हो।
घोषणा समारोहमा बोल्दै अध्यक्ष शेर्पाले खोप सुनिश्चितता प्राप्त गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गर्नुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले पुर्याएको योगदानको चर्चा गर्दै स्वास्थ्य पूर्वाधारको विस्तार, जनचेतना अभिवृद्धि, र नियमित खोप कार्यक्रम सञ्चालनमा पालिकाको सक्रियता उल्लेखनीय रहेको बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठले स्थानीय तहबाट जनस्वास्थ्य प्रवर्द्धनमा देखिएको प्रतिबद्धता प्रशंसनीय भएको बताउँदै यस उपलब्धिले गाउँपालिकाको समग्र स्वास्थ्य सेवा प्रणालीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाँइले हेलम्बुको यो उपलब्धि जिल्लाका अन्य पालिकाहरूका लागि प्रेरणादायी हुने धारणा राख्नुभयो। उहाँले स्वास्थ्यकर्मी, स्वयंसेवक र समुदायको निरन्तर सहकार्यले मात्र खोप कार्यक्रम प्रभावकारी बन्न सक्ने कुरामा जोड दिनुभयो।
समारोहमा वडा नं. १ का अध्यक्ष दावा ग्याल्जेन ह्योल्मो, वडा नं. ७ का अध्यक्ष निलबहादुर खड्का, सामाजिक विकास समितिका संयोजक छिरिङ ह्योल्मोलगायत वक्ताहरूले मन्तव्य राख्दै पूर्ण खोप सुनिश्चितता गाउँपालिकाको ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो। उनीहरूले यस उपलब्धिको निरन्तरता कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
घोषणा कार्यक्रममा वडा नं. २ का अध्यक्ष मिङमार ह्योल्मो, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय तहमा खोप अभियानलाई सशक्त बनाउँदै हेलम्बुले पुर्याएको योगदान अन्य पालिकाहरूका लागि समेत प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।


