x

हेलम्बुमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’को सिलान्यास, स्वास्थ्य सेवामा नयाँ आयाम थपिँदै

३ मंसिर २०८२, मंगलवार १०:२१

हेलम्बु, २०८२ मंसिर २ ।
हेलम्बु गाउँपालिका, हेलम्बु स्वास्थ्य प्रतिष्ठान र धुलिखेल अस्पतालको संयुक्त आयोजनामा तथा छिरिङ्स फण्ड अमेरिका (Chhirings Fund, USA) को आर्थिक सहयोगमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’को सिलान्यास कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपालका लागि अमेरिकन राजदूत श्री Dean R. Thompson, गुरू मिङ्ग्यूर रिन्पोछे, तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोज्यूको विशेष उपस्थिति रह्यो। विशिष्ट अतिथिहरूको संयुक्त हातबाट गरिएको सिलान्याससँगै हेलम्बुमा आधुनिक स्वास्थ्य सेवा विस्तारको नयाँ अध्याय प्रारम्भ भएको छ।

निर्माण सम्पन्न भएपछि यस चिकित्सा केन्द्रमार्फत दन्त तथा आँखा सम्बन्धी सेवा सम्पूर्ण हेलम्बुवासीका लागि निःशुल्क उपलब्ध गराइनेछ। साथै आगामी चरणमा क्यान्सरलगायत अन्य विशेषज्ञ उपचार सेवा विस्तार गर्ने योजना रहेको आयोजक पक्षले जनाएको छ।

समुदायको दीर्घकालीन स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखी निर्माण गर्न लागिएको यो महत्वपूर्ण स्वास्थ्य पूर्वाधारले हेलम्बु क्षेत्रका बासिन्दालाई गुणस्तरीय, पहुँचयोग्य र निःशुल्क सेवा प्राप्त गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

स्थानीयवासी तथा सरोकारवालाहरूले यस्तो आधुनिक चिकित्सा केन्द्र स्थापनाले हेलम्बुको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन रूपान्तर ल्याउने अपेक्षा व्यक्त गरेका छन्।