२१ कार्तिक २०८२, बिहीबार १५:४९
श्याम शर्मा एलशी
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकास्थित हेलम्बु प्राथमिक अस्पतालमा सञ्चालन गरिएको चार दिने बृहत स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय र ग्रेस बप्तिस चर्च ताइवान तथा फेयरमेडको सहयोगमा शिविर सञ्चालन गरिएको हो। उक्त शिविरमा ९३७ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।
महिला आत्मनिर्भरता केन्द्रद्वारा सञ्चालित सिन्धु स्वास्थ्य परियोजनाले ४ जना विशेषज्ञ चिकित्सक उपलब्ध गराएर सहयोग गरेको थियो। शिविरमा दन्त सेवा ३८५ जना, स्त्री रोग सेवा १७४ जना, छाला रोग सेवा ६२ जना र सामान्य स्वास्थ्य जाँच सेवा ३१६ जनाले लिएका थिए।
शिविरमा मांक, बौद्ध डुनामिस चर्च र ग्याल्थुम डुनामिस चर्चले सहकार्य गरेका थिए।
गत सोमबार गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिविरको उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा उहाँले गाउँगाउँमा स्वास्थ्य सुविधा विस्तार गर्न पालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो।
चार दिनसम्म चलेको शिविरमा दाँत, बाल रोग, स्त्री रोग, छालासम्बन्धी र सामान्य रोगहरूको परीक्षण तथा उपचार, साथै निःशुल्क औषधि वितरण र परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा ताइवानका वरिष्ठ चिकित्सकहरू र नेपाली डाक्टरहरूको टोलीले उपचार गरेका थिए।
पहिलो दिन मात्र १२५ जना बिरामीले सेवा लिएका थिए।
शिविर समापनका अवसरमा गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत बेनीबहादुर मोक्तानले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न सके स्थानीय समुदायमा ठूलो फाइदा पुग्ने बताउनुभयो।
कार्यक्रम सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति स्वास्थ्य शाखाका प्रमुख मुकेश भट्टराईले गाउँपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयाे ।
?


