
३० फाल्गुन २०८१, शुक्रबार १५:५३
विदुर आचार्य, चौतारा
आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चौतारा बहुमुखी क्याम्पसमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुने भएको छ। दुबै दलको संयुक्त सहमतिमा अनेरास्ववियुका तर्फबाट सुशील तामाङलाई स्ववियु सभापतिको साझा उमेदवार बनाइएको छ।
त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको सदरमुकामस्थित कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) निर्वाचनमा पनि एमाले र कांग्रेसले गठबन्धन गरेका छन्। विव्यस सभापतिका लागि निमेष श्रेष्ठ साझा उमेदवार तय भएका छन् भने चार सदस्यीय समितिका लागि बिन्दा पुरी, निमा ग्याल्जेन लामा, र लजिता श्रेष्ठलाई एमाले-कांग्रेस गठबन्धनले समर्थन गरेको छ।
नेकपा एमाले नगर कमिटी अध्यक्ष दीपक नेपाल र नेपाली कांग्रेस नगर सभापति ईन्द्रलोचन धितालले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु र विव्यसमा आधिकारिक उम्मेदवारलाई निर्वाचित गराउन अपिल गरेका छन्। विज्ञप्तिमा स्ववियु सभापतिमा सुशील तामाङ, सचिव चिनलाल तामाङसहितको प्यानललाई जिताउन आग्रह गरिएको छ।
नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार शिक्षा क्षेत्रको सर्वपक्षीय हित र समग्र विकासलाई केन्द्रित गरी गरिएको यो सहकार्यले सकारात्मक परिणाम दिनेमा दुबै पार्टी विश्वस्त छन्।
