जेठ १९— सिन्धुपाल्चोक सेवा समाज युएईको पाँचौं अधिवेशनबाट सुभाष न्यौपाने नयाँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले २०२५ देखि २०२७ कार्यकालका लागि न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
सिन्धुपाल्चोक जिल्ला, इन्द्रावती गाउँपालिका–११ निवासी न्यौपाने विगत डेढ दशकभन्दा बढी समयदेखि युएईको दुबईमा व्यापारिक र सामाजिक क्षेत्रमा सक्रिय छन्। उनी यसअघि संस्थाको महासचिव समेत भइसकेका थिए। पूर्वअध्यक्ष मनोज नेपालका अनुसार न्यौपानेले संस्थामा लामो समयदेखि नेतृत्वदायी भूमिका निभाउँदै आएका छन्।
नवगठित कार्यसमितिमा कल्पना केसी उपाध्यक्ष, विश्व भुजेल महासचिव, प्रदीप दाहाल सचिव र सरोज न्यौपाने सहसचिवमा निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष सुभाष न्यौपानेले संस्थाले विगतमा नेपालमा आएको विभिन्न प्राकृतिक विपत्तिमा सहयोग पुर्याउँदै आएको र युएईमा समस्यामा परेका नेपालीहरुको हितमा निरन्तर काम गर्दै आएको जानकारी दिए।
संस्थाले आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।



