१० मंसिर २०८२, मंगलवार १४:११
सिन्धुपाल्चोक, मंसिर ९ । पाँचपोखरी थाङपाल गाउँपालिकामा आज नोभेम्बर २५ (मंसिर ९, २०८२) देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पावन शुभारम्भ दीप प्रज्वलनसहित गरियो। उज्यालो दीपशिखाले अन्धकार हटाएझैं, लैङ्गिक हिंसा, विभेद र असमानतामुक्त समाज निर्माण गर्ने सामूहिक संकल्पका साथ कार्यक्रम सुरु गरिएको हो।
अभियानको उद्घाटन गाउँपालिका उपाध्यक्ष श्रीमती सुनिता अधिकारीले गर्नुभयो। उहाँले आध्यात्मिक आस्था र सामाजिक दायित्वको समन्वय गर्दै हिंसामुक्त समाज निर्माणका लागि सबैले आ–आफ्नो भूमिकाबाट योगदान गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई, गाउँपालिका कार्यालयका कर्मचारी, स्वास्थ्य चौकीका प्रतिनिधि तथा महिला–बालबालिकाको क्षेत्रमा क्रियाशील संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले मानव मर्यादा, सुरक्षा र सम्मानलाई संस्थागत गर्दै हिंसाविरुद्ध एक स्वरमा प्रतिवद्धता व्यक्त गरे।
महिला तथा बालबालिका शाखा प्रमुख दीपा कुमारी धमलाले अभियानलाई जनमुखी र प्रभावकारी बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिनुभयो। तीमध्ये सडक नाटक, विद्यालयस्तरीय वृत्तचित्र प्रदर्शन, सीपमूलक तालिम, व्यक्तित्व तथा कला प्रतियोगिता प्रमुख रहनेछन्। साथै वैदेशिक श्रमबाट फर्किएका महिलासँग अन्तरक्रिया कार्यक्रम गरी उनीहरूले भोगेका अनुभवलाई प्रकाशमा ल्याउँदै सामाजिक चेतना अभिवृद्धि गरिने जनाइएको छ।
लैङ्गिक हिंसा अन्त्यका लागि यो अभियान केवल औपचारिकता नभई सामाजिक रूपान्तरण, चेतना र जिम्मेवारीको सामूहिक यात्रा भएको आयोजकले बताएको छ। दीपको उज्यालोले हिंसामुक्त, समानतामूलक र सुरक्षित समाज निर्माणतर्फ मार्ग प्रशस्त गरोस् भन्ने शुभकामनासहित कार्यक्रम सम्पन्न गरिएको छ।


