x

सिन्धुपाल्चोकमा दोहोरी प्रतिष्ठानको कार्यसमिति अल्पमतमा, विवाद चर्कियो

२४ कार्तिक २०८२, आईतवार १४:४४

सिन्धुपाल्चोक ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले देशभर एकैदिन सञ्चालन गरेको जिल्ला अधिवेशन अन्तर्गत सिन्धुपाल्चोकमा पनि कात्तिक २२ गते अधिवेशन सम्पन्न गरिएको छ। तर अन्य जिल्लाहरूमा शान्तिपूर्णरूपमा सम्पन्न अधिवेशन यो जिल्लामा भने विवादका साथ टुंगिएको छ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मा. युवराज दुलाल, विशेष अतिथि प्रदेश सभा सदस्य अमृता नेपाल, साथै गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, शिक्षक, समाजसेवी र स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

तर अधिवेशनको क्रममा ३० जना सदस्यले असहमति जनाएपछि विवाद उत्पन्न भएको हो। असन्तुष्ट पक्षको दाबी अनुसार केन्द्रीय र प्रदेश प्रतिनिधिहरूमाथि दबाब दिएर सुरेन्द्र गिरीले अध्यक्ष पद “हत्या” गरेका छन्।

घोषित पदाधिकारीहरू

अध्यक्ष : सुरेन्द्र गिरी

उपाध्यक्ष : बलबहादुर वाइबा

महिला उपाध्यक्ष : सपना गुरुङ

सचिव : रुद्र केसी
लगायत अन्य सदस्यहरू

तर असन्तुष्ट पक्षले तत्कालीन प्रवक्ता सुवास गतराजलाई नै वैधानिक अध्यक्ष मान्ने अडान लिएको छ। उनीहरूले भोटिङ गर्नुपर्ने माग गरे पनि, गिरी पक्षले “चुनाव हुन नदिने सामन्ती सोच” देखाएको आरोप लगाएका छन्।

केन्द्रीय प्रतिनिधिहरूले विवादकै बीच अल्पमतमा रहेका गिरी नेतृत्वको समिति घोषणा गरेर कार्यक्रम समापन गरेका थिए।

असन्तुष्ट पक्षको भनाइ

असन्तुष्ट समूहमा आजीवन सदस्य केदार गजुरेल, सीता दुलाल, पुराना कार्यसमिति सदस्यहरू कुमार चौलागाईं, भरत गजुरेल, रेणुका खतिवडा, सरु बजगाईं, हिरा सुनुवार, सरिता खड्का, लिला आचार्य लगायत ३० जना सदस्य रहेका छन्।

उनीहरूले अब केन्द्रीय समितिमा वैधानिकताको माग दर्ता गर्न तयारी गरिरहेका छन्।

विवाद बढाउन सल्लाहकार भीमसेन खतिवडा, अध्यक्ष मण्डलका अध्यक्ष कृष्ण गोपाल तामाङ, र अघिल्लो कार्यकालकी अध्यक्ष राधिका ढकाल लगायतको भूमिका रहेको बताइएको छ।

स्थानीयको अस्वीकार

जानकारी अनुसार हाल बनेको अल्पमतको कार्यसमिति स्थानीय जनप्रतिनिधि र कलाकारहरूले समेत अस्वीकार गरेका छन्।
सूत्रका अनुसार पछिल्ला समयमा असन्तुष्ट समूहका कलाकारहरू जनस्तरमा लोकप्रिय बन्दै गएकाले, केही व्यक्तिहरूले आफ्नो प्रभाव घट्ने डरले यस्तो विवाद सिर्जना गरेको हुनसक्ने अनुमान गरिएको छ।