सिन्धुपाल्चोक, जेठ २५ – सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक समुदायमा आधारित रूपमा सञ्चालन गरिएको उच्च रक्तचाप नियन्त्रणसम्बन्धी परीक्षण कार्यक्रमको समीक्षा बैठक सम्पन्न भएको छ। मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख, प्रतिनिधि तथा स्थानीय स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा अनुसन्धानको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले समुदायमा पुगेर गरिएको अनुसन्धानको विवरण प्रस्तुत गर्नुभयो। अनुसन्धान टोलीका डाक्टर अर्चना श्रेष्ठ र डाक्टर दीपक चौलागाईंले परीक्षण कार्यक्रमको उद्देश्य र प्रारम्भिक नतिजा प्रस्तुत गर्दै ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना फैलाउने प्रयास सफल भएको बताए।

बैठकका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले उच्च रक्तचापजस्ता दीर्घ रोगको पहिचान र प्रारम्भिक उपचार अनिवार्य भएको उल्लेख गर्दै यस्तो कार्यक्रमले स्थानीय स्वास्थ्य प्रणाली मजबुत बनाउन सघाउने धारणा व्यक्त गर्नुभयो।

पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले ग्रामीण स्तरबाट यस्ता कार्यक्रम सञ्चालन गर्नु जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण हुने बताउँदै कार्यक्रमको दीर्घकालीन प्रभावकारिता प्रति विश्वास व्यक्त गर्नुभयो। मेलम्ची–७ का वडा अध्यक्ष पासाङ तामाङले पनि कार्यक्रममा समर्थन जनाउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

बैठकमा सहभागी सरोकारवालाहरूले नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षा र दीर्घकालीन निगरानीलाई कार्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिएका छन्। समीक्षा बैठकमा सहभागी स्वास्थ्यकर्मी तथा प्रतिनिधिहरूले यस्तो प्रयास ग्रामीण स्वास्थ्य सेवा विस्तारमा फलदायी हुने विश्वास व्यक्त गरेका छन्।