
२६ फाल्गुन २०८१, सोमबार १५:३८
सिन्धुपाल्चोक, चैत २७ – सिन्धुपाल्चोक जिल्लामा लामो छलफल र बहसपछि अखिल (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच जिल्लाका १२ वटै क्याम्पसमा चुनावी तालमेल गर्ने लिखित सहमति भएको छ। सत्ता साझेदार दलका भातृसंगठनहरू उम्मेदवारी दर्ताको अघिल्लो दिन मात्रै सहकार्यमा पुगेका हुन्।
जिल्लाका मुख्य क्याम्पसहरूमा तालमेलका आधारमा नेतृत्व बाँडफाँट गरिएको छ। चौतारा सदरमुकामको क्याम्पस, लामोसाँघु, र क्षेत्रीय महत्वको मेलम्ची क्याम्पसमा अनेरास्ववियुले नेतृत्व पाउनेछ भने बाह्रबिसे, ग्याल्थुम, र जलबीर क्याम्पसमा नेविसंघले नेतृत्व लिनेछ।
माओवादी विद्यार्थी संगठनलाई पराजित गर्ने रणनीति
विद्यार्थी नेताहरूका अनुसार माओवादी निकट अखिल क्रान्तिकारीले अघिल्लो चुनावमा सहमति तोडेको घटनाले दुई संगठनलाई सहकार्य गर्न प्रेरित गरेको हो। अखिल क्रान्तिकारीले आफू बलियो भएको ठाउँमा एकल रूपमा लड्ने तर कमजोर स्थानमा अरूसँग सहकार्य गर्न खोज्ने प्रवृत्तिले समस्या उत्पन्न गराएको अनेरास्ववियु र नेविसंघका नेताहरू बताउँछन्।
पछिल्लो समय एमाले र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गालीगलौज तथा विभिन्न शक्तिहरूसँग गरिएको अघोषित साँठगाँठका कारण अनेरास्ववियुले माओवादी विद्यार्थी संगठनसँग सहकार्य नगर्ने निष्कर्ष निकालेको हो। यसअघि कुबिण्डे क्याम्पसमा अध्यक्ष बनेका रुद्र सापकोटालाई माओवादीले जबरजस्ती पदत्याग गराएको घटनाले पनि सम्बन्ध बिग्रिएको विद्यार्थी नेताहरू बताउँछन्।
नेविसंघका नेताहरूका अनुसार तालमेलको मुख्य उद्देश्य माओवादी विद्यार्थी संगठनलाई सबै क्याम्पसबाट पराजित गर्नु हो। विद्यार्थी राजनीतिमा मिनी संसदीय अभ्यास गर्दै सत्तारुढ गठबन्धनका दुई घटकहरू मिल्नु जिल्लाको राजनीतिक समीकरणमा नयाँ मोडको संकेत मानिएको छ।
