मेलम्ची, भदौ ।
मेलम्ची नगरपालिकाकी उप–प्रमुख उमा प्रधानले सांस्कृतिक चेतना र मौलिक पहिचान जोगाउँदै सबै मिलेर समावेशी तथा समृद्ध नगर निर्माणमा जुट्न आह्वान गर्नुभएको छ।
वडा नम्बर १ द्वारा हरितालिका तीज–२०८२ को अवसरमा आयोजित स्थानीय कला–संस्कृति संरक्षण तथा लक्षित वर्गका लागि सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले समाजमा मौलिक परम्परा र सांस्कृतिक सम्पदा जोगाउनु साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
“हाम्रो समाजमा सांस्कृतिक सम्पदा मात्र गर्वको कुरा होइन, यो आर्थिक, सामाजिक र भावी पुस्ताको पहिचानसँग पनि जोडिएको हुन्छ। आ–आफ्नो मौलिक कला, भेषभूषा, नाच–गान संरक्षण नगरे हाम्रो इतिहास हराउने खतरा छ,” उप–प्रमुख प्रधानले भन्नुभयो।
कार्यक्रममा वडाले आयोजना गरेको तीज विशेष सांस्कृतिक प्रस्तुति र दिदीबहिनीहरूको सहभागिताले समाजमा सकारात्मक सन्देश फैलाएको भन्दै उहाँले यसले महिला सशक्तीकरण, समावेशी विकास र सामाजिक न्यायलाई अझ सबल बनाउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा वडास्तरदेखि नगरस्तरसम्म अझ व्यवस्थित, ठूलो र प्रभावकारी कार्यक्रम ल्याउने योजना रहेको बताउनुभयो ।

