कृष्ण ढुङ्गाना
एसईई २०८१ को ग्रेडबृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिद्वारा एक महिनाको निःशुल्क अनलाइन कक्षा सुरु गरिएको छ । भर्चुअल रूपमा प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेले सोमबार साँझ उक्त अनलाइन कक्षाको उद्घाटन गर्नुभयो । अनिवार्य विषयहरु गणित, विज्ञान, अंग्रेजी र सामाजिक विषयमा दैनिक एक–एक घण्टा कक्षा सञ्चालन गर्ने गरी कार्यक्रम तालिका तयार गरिएको संगठनले जानकारी दिएकोलछ । सामाजिक विषयको कक्षा बिहान हुनेछ भने अन्य विषयको कक्षा बेलुकी ६ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन कार्यक्रममा सभामुख घिमिरेले नेपाल राष्ट्रिय शिक्षक संगठनले ‘शिक्षक संगठन विद्यार्थीसँग’ भन्ने नारालाई अघि सारेर विगतमा सचालन गरेको अभियानलाई पनि स्मरण गर्दै यस अभियानलाई स्वागतयोग्य र प्रेरणादायी रहेको बताउनुभयो । उहाँले गत वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी एसईईमा उत्तीर्ण भएका थिए । गणित, अंग्रेजी, विज्ञान, सामाजिक सामाजिक जस्ता विषयमा बढी कमजोरी देखिएको सन्दर्भमा यस्तो सहजीकरण उपयोगी भएको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाहीले विद्यार्थीलाई गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्ने उद्देश्यले निःशुल्क अनलाइन कक्षा सुरु गरिएको र अनलाइनको माध्यमबाट विद्यार्थीलाई समान पहुँच सुनिश्चित गर्न सकिन्छ भन्ने हेतुले यो कार्यक्रम सुरु गरेको बताउँदै एक महिनासम्म सञ्चालन हुने कक्षाबाट विद्यार्थीले साउन २९ गतेदेखि सञ्चालन हुने ग्रेडवृद्धि परीक्षाको प्रभावकारी रुपमा तयारी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
जुममार्फत सञ्चालन हुने कक्षामा एक हजार जनासम्म विद्यार्थी जोडिन सक्ने व्यवस्था गरिएको छ भने बाँकीले विद्यार्थीले फेसबुक र युट्युब लाइभमार्फत अध्ययन गर्न सक्नेछन् ।
