शिक्षक आन्दोलनले शैक्षिक गतिविधिमा ठप्प, मेलम्ची नगरपालिकाको संघीय सरकारलाई ध्यानाकर्षण

२५ चैत्र २०८१, मंगलवार ०७:४४

मेलम्ची, सिन्धुपाल्चोक – नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि सुरु भएको काठमाडौं केन्द्रित आन्दोलनले मुलुकभरका शैक्षिक गतिविधि ठप्प भएका छन्। आन्दोलनरत शिक्षकहरूले आफ्ना मागहरूको सुनुवाइ नभएको जनाउँदै चैत २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेका छन्, जसका कारण विद्यालयहरू पूर्णरूपमा बन्द भएका छन्।

मेलम्ची नगरपालिकाले मिति २०८१ चैत २६ गते एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक हड्तालका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा ८ को उत्तरपुस्तिका परीक्षणमा समस्या उत्पन्न भएको जनाएको छ। साथै, नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान समेत प्रभावित हुने खतरा देखिएको छ।

नगर प्रमुख आइतेमान तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका कारण मुलुकले भोग्न सक्ने शैक्षिक क्षति न्यूनिकरण गर्न संघीय सरकारलाई वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ। विज्ञप्तिमा गुणस्तरीय र विद्यार्थी-शिक्षक मैत्री शिक्षा ऐन जारी गर्दै आन्दोलनरत शिक्षक-कर्मचारीलाई उच्च मनोबलका साथ पुनः कार्यमा फर्काउन पहल गर्न पनि सरकारसँग अपिल गरिएको छ।

मेलम्ची नगरपालिकाले शिक्षामा देखिएको अस्थिरता अन्त्य गरी शैक्षिक क्षेत्रलाई नियमित बनाउन सबै सरोकारवालाहरुलाई जिम्मेवार बन्न आह्वान गरेको छ।