२६ असार २०८१, मंगलवार १६:१२
काठमाडौं । कागेश्वरीमनोहरा नगरपालिका–६ मूलपानीस्थित विद्या आर्जन माध्यमिक विद्यालय नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न पटक पटक सफल भएको छ ।
२०८० सालको एसईई परीक्षामा ३.७२ औषत उपलब्धि स्तर (जीपीए) नतिजा ल्याएर नगरकै सर्वोत्कृष्ट विद्यालय बनेको हो ।
२६ जना सम्मिलित परीक्षामा सन्दिप थापाले ४ जिपिए प्राप्त गरेका छन् । यसैगरी ८ जनाले ३.९ भन्दामाथि जिपिए ल्याएका छन्। ३.६ जिपिए भन्दामाथि अर्थात् (A+) जम्मा १९ जना र ३.२ भन्दामाथि अर्थात् (ए) ७ जना विद्यार्थीले ल्याएका हुन् ।
यसअघि नै २०७४ र २०७८ सालमा नगरपालिकाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल विद्या आर्जन माध्यमिक विद्यालयलाई नगरपालिकाले नगद पुरस्कारसहित सम्मान प्रदान गरेको थियो। अनुशासित विद्यार्थी, योग्य एवं अनुभवी शिक्षक, लगनशील कर्मचारी, दक्ष व्यवस्थापक साथै सहयोगी अभिभावकको संयुक्त प्रयासले नै उपलब्धि हासिल गरेको विद्यालयका प्रधानाध्यापक घनेन्द्र भट्टराईले बताउनुभयो ।
फेरि पनि नगरकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,’विद्यालयलाई हरेक वर्ष उत्कृष्ट बनाउने हाम्रो लक्ष्य रहनेछ।’
उहाँले ‘उत्कृष्टताको निरन्तरता’ भन्ने नारालाई विद्यालयले कायम गर्न सफल भएको बताउनुभयो । प्राप्त उपलब्धिको निरन्तरतामा आफूहरु कटिबद्ध भएर लागेको उहाँको भनाइ छ । वर्षौदेखिको अथक प्रयास परिणाममुखी बन्दै गएकोमा थप हौसला मिलेको उहाँले बताउनुभयो ।
२०४८ सालमा स्थापित यो विद्यालयले दिनानुदिन प्रगति गर्दै गरेको र आगामी दिनहरूमा पनि विद्यालयको गरिमालाई जोगाई राख्न साथै यस क्षेत्रकै शैक्षिक केन्द्रका रुपमा स्थापित गर्न कटिबद्ध भएर लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री गणेश दाहालले बताउनुभयो ।