सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिकाले मंगलबारदेखि गाउँपालिका अध्यक्ष मासिक स्वास्थ्य घुम्ती सेवा सुरु गरेको छ । गाउँपालिकाका सबै सात वडामा एकैसाथ सुरु गरिएको यस सेवामार्फत स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य परामर्श र परीक्षण उपलब्ध गराइएको छ ।
गाउँपालिका अध्यक्ष राजु लामाले सेवा उद्घाटन गर्दै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
स्वास्थ्य सेवाअन्तर्गत रक्तचाप र मधुमेह (प्रेसर र सुगर) परीक्षण, आवश्यक औषधि वितरण, युरिन परीक्षण, मुटुको धड्कन परीक्षणजस्ता सुविधा प्रदान गरिएको छ । साथै, नियमित रूपमा वितरण हुने औषधिहरूको आपूर्ति पनि गरिएको गाउँपालिकाले जनाएको छ ।
यसबाहेक, कार्यक्रममा जेष्ठ नागरिकको डाटा संकलन, दीर्घरोगी पहिचान तथा स्वास्थ्य बीमाबाट प्राप्त हुने थप सुविधा सम्बन्धी जानकारीसमेत दिइएको छ ।
स्थानीयवासीले गाउँमै स्वास्थ्य सेवा पाउने अवसर मिलेकामा खुसी व्यक्त गरेका छन् ।

