काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको प्रदेशसभा पद खारेज गरिएको छ। मधेस प्रदेशसभाले शुक्रबार एक सूचना जारी गर्दै विच्छालाई पदमुक्त गरिएको जानकारी दिएको हो।

विच्छा राप्रपाबाट मधेस प्रदेश सभा सदस्यमा समानुपातिक कोटामा महिला तर्फबाट निर्वाचित भएकी थिइन्। पार्टीको नीति विपरीत गएर अनुशासन उल्लंघन गरेको आरोपमा राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले उनीमाथि कारबाही गर्दै ६ महिनाका लागि साधारण सदस्यसमेतबाट निष्कासन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा उनलाई प्रदेशसभा सदस्यबाट फिर्ता गर्न सिफारिस गरिएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम उनलाई प्रदेशसभा सदस्य पदबाट हटाइएको प्रदेशसभाले जारी गरेको सूचनामा उल्लेख छ।