राप्रपाले बल्खुमा सभा सकिएपछि सडक सफा गरेपछि मेयर बालेनको धन्यवाद

२५ चैत्र २०८१, मंगलवार १४:२३

काठमाडौं, चैत्र २६ — राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभा सफलतापूर्वक सम्पन्न गरेपछि पार्टीका नेता, कार्यकर्ता र स्वयंसेवकहरूले आफैं सडकमा भएको फोहोर सफा गरेका छन्।

सभा सुरु हुनु अघि नै राप्रपाका शीर्ष नेताहरूले उपस्थितहरुलाई फोहोर नगर्न अनुरोध गरेका थिए। कार्यक्रमपछि पार्टी कार्यकर्ताहरूले स्वस्फूर्त रूपमा सडक सफा गरेपछि काठमाडौं महानगरपालिकाको ध्यान खिचिएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मञ्चबाटै काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई कार्यक्रमपछि फोहोरको विषयलाई लिएर पत्र नपठाउन आग्रह गर्दै भनेका थिए,
“हाम्रो बालेनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु। हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु। एउटा केही फोहोर रहनेवाला छैन। पत्रकार, नागरिक समाजले अनुगमन गर्नुहोला।”

यसै सन्दर्भमा मेयर बालेनले सामाजिक सञ्जालमार्फत राप्रपाको कदमको प्रशंसा गर्दै भनेका छन्,
“कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको होइन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था वा कार्यक्रमले फोहोर नगरोस् भन्ने चाहन्छ महानगर। राप्रपाले आजको कार्यक्रममा आफैं सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ।”

राजनीतिक दलले जनसभापछि सार्वजनिक स्थानको सरसफाइमा देखाएको जिम्मेवारीले अन्य दल र संस्थालाई पनि सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।