मेल्चौर, जेठ ६, २०८२ – चौतारा साँगाचोकगढी नगरपालिका–७ मेल्चौरस्थित श्री ज्ञान मन्दिर नमुना माविमा आजदेखि हस्तलेखन तथा सीप विकास कार्यक्रम सुरु गरिएको छ। कार्यक्रम मालिकादेवी सामुदायिक सिकाइ केन्द्रको वार्षिक योजना अनुरूप सञ्चालित भएको हो।
शिक्षार्थीहरूलाई राम्रो र आकर्षक अक्षर लेख्ने सीपको माध्यमबाट शैक्षिक रुपमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको केन्द्रका अध्यक्ष यज्ञप्रसाद दंगालले जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन अध्यक्ष दंगाल र विद्यालयका प्रधानाध्यापक पुण्यप्रसाद गजुरेलले संयुक्त रूपमा गर्नुभयो।
गत वर्षहरूमा जस्तै यस वर्ष पनि चौतारा साँगाचोकगढी–७ अन्तर्गतका दुईवटा माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ। राम्रा अक्षर लेखनका विशेषज्ञ तथा प्रशिक्षक देवेन्द्र आचार्यद्वारा एक विद्यालयमा एक हप्ता तालिम दिइने कार्यक्रम रहेको छ।
स्थानीय बिद्यालयमा शिक्षार्थीको लेखन सीप अभिवृद्धिका लागि प्रभावकारी हुने विश्वास आयोजकले लिएका छन् ।
