मेलम्ची (सिन्धुपाल्चोक), असोज १२ । दोस्रो मेलम्ची–१० वडा स्तरिय अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधि भुमेस्थान आधारभूत विद्यालयले जितेको छ ।
आइतबार सितलादेवी माध्यमिक विद्यालयमा सम्पन्न फाइनल खेलमा भुमेस्थानले काफ्लेखोला युवा क्लबलाई ३–० को सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि जित्न सफल भएको हो ।
प्रतियोगितामा वडाका सात टिम सहभागी थिए । विजेता टोलीलाई मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष अमृत खनाललगायतले पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा कलाकार प्रतिमा अर्याल, प्रदीप रोक्का, निमेश दाहाललगायतले प्रस्तुति दिएका थिए ।
विजेता टोलीले २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेताले २० हजार र तेस्रो नबज्योतिले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक प्रल्हाद ढुंगेलले जानकारी दिनुभयो ।

