८ कार्तिक २०८२, शुक्रबार ११:३२
मेलम्ची, कार्तिक ३ । मेलम्ची युवा समूहले तिहार पर्वलाई लक्षित गर्दै मेलम्ची बजार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। समूहका सदस्य प्रदिप धितालका अनुसार, उज्यालो र खुसीको पर्वको रूपमा मनाइने तिहारमा घर–आँगन सफा र सिँगार्ने पुरानो परम्परालाई निरन्तरता दिने उद्देश्यले बजार सरसफाइ गरिएको हो।
लक्ष्मी पूजाको दिन बिहान ७ बजे सुरु भएको सरसफाइ कार्यक्रममा स्थानीय बासिन्दा, सुरक्षाकर्मी, बुद्धिजीवी तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो। सरसफाइ कार्य मेलम्ची खानेपानीको कार्यालय क्षेत्रदेखि तल्लो बजारसम्म गरिएको समूहले जनाएको छ। कार्यक्रमको उद्देश्य आपसी एकता, स्वच्छ वातावरण र सामुदायिक सहकार्यलाई सुदृढ बनाउने रहेको समूहले जनाएको छ।
यसअघि समूहले मेलम्ची नगरपालिका–११ मा देखिएका विभिन्न समस्या व्यवस्थापनका लागि मागपत्र समेत वडामा पेस गरेको थियो। धितालका अनुसार, स्थानीय बासिन्दाले दैनिक रूपमा भोग्नुपरेका समस्या समाधानका लागि पाँचवटा प्रमुख बुँदामा सुझावसहित वडालाई ध्यानाकर्षण गराइएको हो।
समूहले वडामा पेश गरेका पाँच प्रमुख मागहरू:
- सफाइ कार्यक्रम र डस्टबिन व्यवस्थापन: नियमित सरसफाइको अभाव र सार्वजनिक स्थलमा डस्टबिन नहुँदा फोहोर व्यवस्थापनमा समस्या।
- सडक बत्ती स्थापना: अधिकांश गल्ली तथा सडकहरूमा बत्ती नहुँदा राति आवागमन असुरक्षित।
- CCTV जडान र मर्मत: जडान गरिएका क्यामेरामध्ये धेरै बिग्रिएका, निगरानी प्रणाली प्रभावहीन।
- विजुली पोल र तारको व्यवस्थापन: पुराना पोल र झुन्डिएका तारहरूले दुर्घटनाको जोखिम बढाएको।
- पार्किङ क्षेत्र व्यवस्थापन: तोकिएका स्थानमा सूचना पाटी नहुँदा अनियमित पार्किङका कारण भीडभाड र असुविधा।
समूहले यस्ता समस्या दीर्घकालीन समाधानका लागि वडाले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ। स्थानीय सरोकारका विषयमा युवा समूहको सक्रियता र जनसहभागितामूलक पहलले मेलम्ची बजारको सौन्दर्य र व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।



