६ मंसिर २०८२, शुक्रबार १३:०२
मेलम्ची
इन्द्रेश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ का नयाँ विद्यार्थी स्वागत कार्यक्रमका क्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीलाई उल्लेख गर्दै “आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षा बाट बञ्चित हुन नपर्ने” दृढता व्यक्त गर्नुभएको छ।
नगर प्रमुख तामाङले विद्यार्थीलाई शिक्षा जीवनको महत्वपूर्ण आधार भएको स्मरण गराउँदै शिक्षकले देखाएको बाटो अनुसरण गर्दै मिहिनेतपूर्वक अघि बढ्न आग्रह गर्नुभयो। “भविष्यको रेखा कोर्ने समय अहिले नै हो, त्यसैले मेहनती बन्नुपर्छ,” उहाँको भनाइ थियो। नगरपालिकाले शिक्षा, खेलकुद, संगीत लगायत विभिन्न क्षेत्रमा आवश्यक सहयोग गर्न सँधै तयार रहेको पनि उहाँले बताउनुभयो।
उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले विद्यार्थीको मुख्य गहना अनुशासन भएको उल्लेख गर्दै अनुशासित भएर अध्ययन र भविष्य निर्माणमा लाग्न सुझाउनुभयो। उहाँले यसै विद्यालयका विद्यार्थी अहिले उच्च पदमा पुगेको उदाहरण प्रस्तुत गर्दै मेहनत नै सफलताको आधार भएको बताइन्।
वडा नम्बर ११ का पूर्व वडा अध्यक्ष रुद्रप्रसाद दुलालले कक्षा ११ मा भर्ना भएका सबै विद्यार्थीलाई शुभकामना दिंदै उज्ज्वल भविष्यको कामना गर्नुभयो।
विद्यालयका पूर्व प्रधानाध्यापक तथा इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठले विद्यालयमा विज्ञान तथा प्राविधिक धारमा राम्रो पढाइ भइरहेको उल्लेख गर्दै आगामी दिनमा कानुन विषय थप गर्ने आवश्यकता रहेको जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका सदस्य छेसाङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत गरेका थिए।


