मेलम्ची नगरपालिकाले डेङ्गु लगायतका किटजन्य रोग नियन्त्रणका लागि विशेष अभियानको थालनी गरेको छ ।
आज मेलम्ची नगरपालिकाको सभा हलमा आयोजना गरिएको सरोकारवाला अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले सम्बोधन गर्दै समुदायस्तरमै लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।
प्रमुख तामाङले नगरवासीको स्वास्थ्य सुरक्षा प्राथमिकतामा रहेको बताउँदै, रोग लागेपछि उपचार भन्दा पनि समयमै नियन्त्रणमा ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रमुख तामाङले विगत वर्षमा देखिएको डेङ्गु संक्रमणको जोखिम बारे जानकारी दिदै समयमै रोगको स्रोत नियन्त्रण गर्न सबै निकाय मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
उपप्रमुख प्रधानले डेङ्गुजस्ता रोगहरू रोकथाम गर्न सचेतना, सफाइ र समन्वय अपरिहार्य रहेको बताउनुभयो ।अहिले दिनदिनै विभिन्न रोगहरु देखापरेको भन्दै हामीले गर्ने खानपान,आनिबानी बाट रोग लाग्ने गरेको बताउनुभयो । उहाँले विपदको पुर्वतयारी गरेको जस्तै यस्ता रोगहरुको पनि पुर्वतयारी गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले लाम्खुट्टेका कारण थुप्रै लाग्ने भएकाले लाम्खुट्टे नियन्त्रण गर्दै रोग लाग्नै नदिने गरि समुदाय स्तर सम्म पुग्नपर्ने बताउनुभयो । डेङ्गु बाट बच्न र लाम्खुट्टे बाट जोगिन अब समुदाय सम्म र घर घरमा पुगेर सचेतना फैलाउन पर्ने बताउनुभयो ।
कार्यक्रममा सरोकारवालाहरु, विद्यालय, महिला स्वयंसेविका,सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले लार्भा बस्न सक्ने स्थानहरू पहिचान गर्ने व्यवहारिक अभ्याससमेत गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र,स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
मेलम्ची नगरपालिकाले यस अभियानलाई निरन्तरता दिने जनाएको छ । जसअन्तर्गत नगरका सबै वडामा जनचेतनामूलक कार्यक्रम, सरसफाइ र लार्भा नष्ट गर्ने कार्यलाई प्राथमिकता दिइने स्वास्थ्य शाखाका ज्ञानेन्द्र सिग्देलले जानकारी दिनुभयो ।मेलम्ची नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रम फेयरमेड र मांकले सहयोग गरेको हो ।