८ मंसिर २०८२, आईतवार १०:३३
सिन्धुपाल्चोक, मंसिर — भट्टराई कुलवंश प्रतिष्ठान जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको मूल पहलमा मेलम्ची–११ धुसेनीचौरस्थित बशिष्ठधाम कुल मन्दिर प्राङ्गणमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ–२०८२ आगामी मंसिर ८ गतेदेखि १६ गतेसम्म भव्य रूपमा आयोजना हुने भएको छ।
महायज्ञमा प्रसिद्ध भागवत वाचक व्यासाचार्य पण्डित नवराज भट्टराई र पण्डित अच्युतकृष्ण अधिकारीबाट कथा वाचन तथा भक्ति–सङ्गीत प्रस्तुति रहने आयोजकले जनाएको छ। कुलगुरु भगवान् वशिष्ठको स्मारक निर्माण गरी यस पवित्र स्थललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गरिएको भट्टराई कुलवंश प्रतिष्ठानका जिल्ला अध्यक्ष शिवराम भट्टराईले जानकारी दिनुभयो।
अध्यक्ष भट्टराईका अनुसार पछिल्ला वर्षमा भट्टराई समुदायको कुलपूजा, सांस्कृतिक पहिचान, धार्मिक आस्था संरक्षण तथा कुलदेवता स्थलको पुनर्निर्माण र पर्यटन प्रवद्र्धनलाई प्रोत्साहन दिने हेतुले महायज्ञ आयोजना हुँदै आएको छ।
कार्यक्रमअनुसार प्रत्येक बिहान ८:०० देखि ११:३० बजेसम्म श्रीमद्भागवत पाठ, मध्याह्न १२:०० देखि ३:४५ बजेसम्म कथा प्रवचन तथा अपरान्ह ४:०० बजे दैनिक सन्ध्या आरती सम्पन्न हुनेछ। साथै प्रत्येक दिन साँझ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको भजन–कीर्तन तथा सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ।
आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन, भट्टराई वंशज तथा स्थानीय समुदायलाई महायज्ञमा सहभागी भई धार्मिक, आध्यात्मिक र सांस्कृतिक पुण्य लाभ लिन आग्रह गरेको छ।


