
२८ चैत्र २०८१, शुक्रबार ०४:५५
मेलम्ची, सिन्धुपाल्चोक — मेलम्ची नगर प्रमुख आइतमान तामाङले खेलकुदलाई मेलम्चीको पहिचानको माध्यम बनाउने उद्देश्यका साथ विद्यार्थीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेका नगरका खेलाडीहरूलाई नगरपालिकाले एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरेको हो। सो अवसरमा प्रमुख तामाङले विजयी खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न हौसला प्रदान गर्नुभयो। साथै, विजयी हुन नसकेका खेलाडीहरूलाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा उत्कृष्ट प्रदर्शनको तयारी गर्न शुभकामना दिनुभएको थियो।
कार्यक्रममा विजयी खेलाडीहरूले जितेको शिल्ड नगर प्रमुख तामाङज्यू तथा उपप्रमुख उमा प्रधानज्यूलाई हस्तान्तरण गरेका थिए। शिल्ड हस्तान्तरण कार्यक्रममा नगर कार्यपालिका सदस्यहरू, विद्यालय प्रतिनिधिहरू, खेल प्रशिक्षक तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
नगर प्रमुख तामाङले मेलम्चीका युवाहरूको प्रतिभा उजागर गर्न खेलकुदलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।


