x

मेलम्चीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न

१० मंसिर २०८२, मंगलवार १४:१५

मेलम्ची, मंसिर ९ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ अन्तर्गत मेलम्ची नगरपालिकामा आज एक विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। नगर प्रमुख आइतमान तामाङको अध्यक्षता तथा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, साइबर ब्यूराेका प्रहरी निरीक्षक सतेन्द्र कुमार मिश्र, सुरक्षा निकायका प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित सरोकारवालाहरूको सक्रिय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

मेलम्ची नगरपालिकाको आयोजनामा र महिला आत्मनिर्भरता केन्द्र तथा फेयरमेडको समन्वय तथा सहयोगमा आयोजित उक्त कार्यक्रममा लैङ्गिक संवेदनशीलता सम्बन्धी अभिमुखिकरण दिइएको थियो। सहभागी सबैलाई ‘म हिंसा गर्दिनँ, हिंसा सहदिन्न’ भन्ने सन्देशसहित सेतो रिबन वितरण गरिएको थियो।

यस वर्षको अभियान “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर ९ देखि मंसिर २५) सम्म विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने छ।

कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबै क्षेत्र र निकायहरू समान रूपले जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले नगरका माध्यमिक विद्यालयहरूमा समेत लैङ्गिक हिंसा तथा अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। त्यस्तै, साइबर ब्यूरााका प्रहरी निरीक्षक सतेन्द्र कुमार मिश्रले बढ्दो साइबर अपराध, यसको पहिचान र सुरक्षित डिजिटल प्रयोगबारे महत्वपूर्ण जानकारी साझेदारी गर्नुभयो।

१६ दिनसम्म विविध सचेतना, अन्तरक्रिया र जनसम्पर्क कार्यक्रमहरू सञ्चालन गरी अभियान अगाडि बढाइने नगरपालिकाले जनाएको छ।