x

मेलम्चीका आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

११ कार्तिक २०८२, सोमबार ०९:२२


मेलम्ची

कात्तिक ५ गते मेलम्ची बजारमा भएको भीषण आगलागीबाट पूर्णरूपमा क्षति पुगेका व्यवसायीहरूलाई सहयोग रकम हस्तान्तरण गरिएको छ।

मेलम्ची नगर उद्योग वाणिज्य संघको आव्हानमा संकलन गरिएको सहयोग रकम सोमबार एक कार्यक्रमका बीच पीडित व्यवसायीहरूलाई हस्तान्तरण गरिएको हो। संघका अनुसार आज दिउँसोसम्म कुल रु ८ लाख ३४ हजार १५१ संकलन भएको थियो।

उक्त रकममध्ये रु ५० हजार धनलक्ष्मी ज्वेलर्सका प्रोप्राइटर रोशन सुनारलाई र बाँकी रु ७ लाख ८४ हजार १५१ अधिकारी फेन्सी स्टोरका प्रोप्राइटर दिनेश अधिकारीलाई हस्तान्तरण गरिएको मेलम्ची नगर उद्योग वाणिज्य संघका महासचिव तारा बानियाँले जानकारी दिनुभयो।

कार्यक्रममा संघका अध्यक्ष पुष्करप्रसाद धिताल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश दाहाल, संघका पदाधिकारी तथा स्थानीय व्यापारीहरूको उपस्थिति रहेको थियो।

संघले आगलागीबाट क्षति पुगेका व्यवसायीहरूलाई थप सहयोगका लागि स्थानीय समुदाय, संघ–संस्था र व्यक्तिहरूलाई निरन्तर साथ र सहयोग गर्न आग्रह गरेको छ ।