
३० चैत्र २०८१, आईतवार ०७:५९
मेलम्ची, वडा नं. १२ — मेलम्ची नगरपालिका वडा नं. १२ अन्तर्गत माझी गाउँमा खानेपानी समस्या समाधानका लागि बहुप्रतीक्षित आयोजना सुरु भएको छ। वडाध्यक्ष गणेश तामाङको प्रमुख आतिथ्यमा आयोजना शिलान्यास गरिएको हो।
आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित ७० लाख रुपैयाँको बजेटबाट ठेक्का प्रक्रियामार्फत १७७ वटा खानेपानी धारा निर्माण गरिने योजना छ। यस आयोजनाबाट माझी गाउँका बासिन्दाहरूलाई स्थायी रुपमा स्वच्छ खानेपानी उपलब्ध हुने अपेक्षा गरिएको छ।
वडाध्यक्ष गणेश तामाङले शिलान्यास कार्यक्रममा बोल्दै, “यो आयोजना हाम्रो गाउँको दीर्घकालीन खानेपानी अभाव समाधान गर्ने महत्वपूर्ण पाइला हो,” भन्दै नगरप्रमुख आइतमान तामाङ, परमात्मा नेपाल तथा अन्य सहयोगी पक्षहरूलाई धन्यवाद प्रकट गर्नुभयो।
स्थानीयवासीहरू यस आयोजना प्रति आशावादी देखिएका छन् र यसले गाउँको स्वास्थ्य तथा जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।


